ताजा अपडेट »

मंसिर-२ : स्मरणमा सम्पादक कंडेल

शनिबार, ०२ मंसिर २०८०, १० : २३
86 Shares
शनिबार, ०२ मंसिर २०८०
86 Shares

पृथ्वीले सूर्यलाई एक फन्को मारेर साँझ पारेको २०७९ मंसिर २ को स्मरण भित्ताको क्यालेन्डरमा उज्यालो देखिए पनि मनमा सधै अध्यारो ढब्बा बनी छापीएको छ । मेरा लागि निष्ठा र परिश्रमको एक पूजारी धुवाँ र खरानी भई त्रिभूवनमा बिलाएको दिन भएको छ मंसिर-२ । व्यवसायिक सहयात्रीका रुपमा, सम्पादक र सञ्चालकको रुपमा, त्योभन्दा पनि गहिरो पारिवारिक र आत्मीय मित्रका रुपमा स्वर्गीय एन.बी. कंडेलसँग मेरा अनेकन स्मरण गाँसीएका छन् । सहयात्राको छोटो अवधिमा पनि मैले फरक-फरक ढँगले उनलाई अनुभूत गर्न पाए । उनीसँग मेरा अनेकौ औपचारिक र अनौपचारिक स्मरणहरु रहेका छन् ।

एउटा मिडीया संचालक र संम्पादकको भूमिका मात्र नभएर हामी बीच भावनात्मक तथा एउटा आत्मीय सम्बन्ध थियो । हुन त हाम्रो सम्बन्ध देख्नेले कसरी देखे, बुझ्नेले कसरी बुझे त्यो आ-आफ्नै बुझाई हो । सम्बन्ध रगतको मात्र हुँदैन जँहा विश्वास र आत्मीयता हुन्छ त्यो सम्बन्ध रगतको साईनो भन्दा पनि नजिकको हुने रहेछ र जहाँ भए पनि मनमा रहीरहने रहेछ ।

मित्र एन.बि.सँगको छोटो सहयात्राबाट मैले धेरैकुरा सिकेको छु यादहरु पाएको छु । एउटा संचारकर्मीका रुपमा जहिले पनि उनले मलाई झकझकाई रहे । नयाँ कामलाई उचाईमा नपुर्याई विश्राम लिने होइन भनेर सधै हौंस्याई रहे, कुराकाट्ने, खुट्टा तान्ने कँहा हुँदैनन् र बिचलित हुनुहुँदैन भनेर सम्झाई रहे ।

संचारकर्मीका रुपमा आफूले जानेका बुझेका धेरैकुराहरु सिकाई रहे । उनका विषयमा मलाई र मेरा विषयमा उनलाई राम्रा नराम्रा कुराहरु गरेर भड्काउन खोज्नेहरुलाई मुखभरीको जवाफ दिन पनि कहील्यै पछि परेनन् उनि । आफ्नो कर्ममा निरन्तर लागिरहने उनि रुपन्देहीको संचारकर्मका उदाउँदा तारा नै थिए । भनिन्छ नि राम्रो मान्छेलाई भगवानले पनि छिटै लैजान्छन हो त्यस्तै भयो, उनलाई भगवानले अल्पआयूमै लगे । भगवानले हामीबाट खोसेर लगेको आज वर्षदिन भयो ।

२०७९ साल मंसिर २ को साँझले स्वर्गीय कंडेललाई हामीबाट टाढा गराएको आज एक वर्ष पूरा भएको छ । दुई दिनपछि प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिंगो देश केन्द्रित थियो । हामी पनि सोही अनुसार कार्यालयको कामकाजमा व्यस्त नै थियौं । दुई दिनदेखि म कार्यलय नआएकोले मेरो उनीसँग भेटघाट भएको थिएन । फोनमा मात्र कुराहरु भएका थिए, त्यस दिन पनि म कार्यालय ढिलै आएँ । करीब १ बजेपछि मात्र । दुई दिन पछि चुनाव रहेकाले चुनाव विशेष विषय वस्तु पाठकलाई कसरी पस्किने भन्ने विषयमै सम्पादक कंडेलको ध्यान थियो । चुनाबी सरगर्मी संघारमा पुगीरहेको थियो । राजनैनिक पार्टीका नेता कार्यकर्ताहररुले संचारकर्मीहरुसँगको भेटघाट पनि बाक्लो बनाईरहेका थिए ।

चुनाबी माहोलकै रिपोटीङ सिलसिलामै सम्पादक कडेल पनि बाहीरै भएकाले कार्यलयमा मेरो उनिसंग भेट हुन सकेन । कार्यलय ढिलो आएकोले त्यस दिन म बाहीर कममा नगई पुरै समय कार्यलयमै बस्ने विचार गरे । भैरहवामा एउटा डकुमेन्टमा साईन गर्न जानु पर्ने भनेर फोन आयो तर भोली आउछु आज आउन सक्दीन भनेर जाकारी गराए र कार्यलमै बसे । करीब १ घन्टा पश्चात खै किन हो भैरहवा गएर त्यो काम सकेर आउ जस्तो लाग्यो कार्यलयमा पनि कसैलाई केही नभनी भैरहवा तिर लागे । सम्वन्धित काम सकेर साथीको पसलमा केही बेर बसी बुटवल निस्कने क्रममा मित्र एन.बी. र निर्देशक सृष्टि संग भेट भयो । आफुले बिहान बाट खाना नखएको हुनाले संगै खाजा खएर मात्र जाने प्रस्ताव मैले नै राखे नजिकैको होटलमा तिनैजना खाजा खान गयौ।

भैरहवाको उक्त होटलमा बिरयानीसँगैको बसाई र कुराकानी नै हाम्रा लागि अन्तिम बन्न पुग्यो । हाम्रो भेट अन्तिम हुने कुरा पहिलेनै पक्का भएकाले हुनुपर्छ, उक्त दिन भैरहवा नजाने निर्णय गरेको म अचानक निर्णय बदलेर भैरहवा पुगे, मैले नै कर गरेर हामी त्यहाँ हामी त्यहा खाजा खान वस्यौ । करिब एक घण्टाको त्यो बसाईमा म, सम्पादक स्व. कंडेल र निर्देशक सृष्टी अधिकारी ४ वर्षसम्मको यात्राको बारेमा तिन जनाले हल्का समीक्षासँगै चुनावपछि कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थियौं । उनले गम्भिर भएर केही सर सल्लाह पनि प्रस्तुत गरेका थिए । उनमा अनलाइनले लिएको उचाई थाम्नै नसक्नेगरी अघि बढेको र सीमित स्रोत–साधनले पाठकसामू निरन्तरतासँगै अझ परिस्कृत हुन गाह्रो पर्ने हो कि भन्ने चिन्ता थियो । त्यो गम्भिरता र चिन्तासँगै कसरी अगाडि बढ्ने भन्ने उत्साहजनक योजनाहरुका बारेमा पनि छलफल भए । त्यो बसाईसँगै दिन ढल्किँदै थियो । मंसिरको महिना दिनहरु त्यसै छोटा थिए । हामीलाई घर फर्किनु पर्ने । त्यहाँबाट छुट्टिएर म बजार तिर लागे, सम्पादक कंडेल र निर्देशक अधिकारी बेथरी हुदै फर्साटिकर लागे ।

छुट्टिएपछि पनि सम्पादक कंडेल घर पुगे–नपुगेको बारे मैले एकिन गरे । उनले हाँस्दै भने ‘फर्सटिकर पसेर, केहीबेर बसेर चिया पीयीवरी ताजा साग र काचो केरा टिपीवरी कोठामा समेत पुगेर पकाउन लगाई त सके । घरमा नास्ता पनि पुर्याएर आधा घण्टाको समय मागेर बाहिर निस्केको छु ।’ त्यो सम्वाद भएको झण्डै आधा घण्टा वित्न नपाउँदै करिब साढे ७ बजेको समयमा उनी सडक दुर्घटनामा परेको दुःखद खबर सुन्नु पर्यो।

कुनै समय मनलाई यति धेरै कठोर पार्नु पर्ने रहेछ भन्ने कुरा त्यो घटनाले मलाई सिकायो । केही घण्टा अगाडी टेलिफोनमा गफिएका सम्पादक कंडेललाई यही हातले उठाएर लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राख्दै गर्दा अहँ उनी एक शब्द बोलेनन । सधै रमाईलो र हसिलो पाराले गफिने उनी त्यो दिन न त खित्का छाडेर हाँसे, न त मलिन भएर आँसु चुहाए । बस उनको शरिबाट रगतका थोपाहरु सब गृहसम्म लैजादै गर्दा चुहिनै रहे । लम्पसार बनेर उनी अब कहिलल्यै नमुस्कुराउने, नरुने गरी सदाका लागि अस्ताए ।

ग्लोबल आवाज अनलाईनको स्थापनाकालदेखि नै सम्पादक रहेर लाखौं पाठकहरुलाई सत्य र निस्पक्ष समाचार पस्किने प्रीय पात्रलाई अप्रीय घटनामा गुमाएको आज एक वर्ष पूरा भएको छ । सम्पादक कडेंल नहुँदाको अभाव हामीसंगै आम पाठकहरुले पनि महसुस गर्नुभएकोनै छ । सधै निस्पक्षता र सत्यका पक्षमा खरो रुपमा प्रस्तुत हुने सम्पादक कंडेलले विगतमा प्रस्तुत गरेका केही योजना र मार्गदर्शनहरुलाई आत्मसाथ गर्दै सम्पूर्ण पाठकहरुका सामू उही गती, उही निस्पक्षता, उही सत्यतथ्यका साथ प्रस्तुत हुनुपर्ने चुनौतीलाई पूरा गर्दै हाम्रो यात्रा निरन्तर बढेकोनै छ । उनले देखेको सपना र कोरेको बाटोमा ग्लोबल आवाज लाई अबिछिन्न रुपमा एउटा उचाईमा पुर्याउनु छ । उनले देखेको सपनालाई साकार पार्दै अनलाईनलाई निर्दिष्ट लक्ष्मा पुर्याई उनको नाम लाई कहील्यै नमर्ने बनाउन सकियो भनेनै उनिप्रतिको सहि श्रद्धाञ्जली हुनेछ ।

स्व. एन.बी. कंडेलको नाम कहील्यै नमर्ने गरि ग्लोबल आवाज परिवारले उनको स्मृतिमा स्व. एन. बी. कडेल सहासी पत्रकारीता पुरस्कारको स्थापना गर्ने निधो गरेको कुरा अवगत गराउँदै आज उनको स्वर्गारोहणको वर्ष दिन पुगेको पूण्य तिथिमा स्वर्गवासी आत्माको बैकुण्ठ बासको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । फेरी पनि अलविदा एन. बी. जी.. !!

गौतम भूसाल
लेखकको बारेमा
गौतम भूसाल

भूसाल ग्लोबल आवाज अनलाइका प्रबन्ध सम्पादक हुन् ।