ताजा अपडेट »

सञ्जयकाे सहारा शैलुन

आइतबार, २६ कार्तिक २०८०, १३ : ५४
58 Shares
आइतबार, २६ कार्तिक २०८०
58 Shares

सञ्जय ठाकुर (नाइ), उमेरले ४३ वर्ष टेके । सानै उमेरमा बिहे गरेका उनका दुई छाेरा र एक  छाेरी छन् । उनकाे जन्मघर रुपन्देहीकाे काेटहीमाई गाउँपालिका वडा नं . २ काे वसन्तपुर गुलरिया गाउँमा पर्छ । उनकी आमा बितेकाे पाँच वर्ष पुग्याे । बाबा उनकै साथमा छन् । बुटवलकाे सीमानगरमा टीनकाे टहराे हालेर बसेका छन् सञ्जयका परिवार । 

काेईलर कुखुरा पालेकी छिन् उनकी श्रीमतीले । सञ्जयकाे पुर्ख्याैली पेसा हाे कपाल काट्ने । पाँच कक्षा पास गरेर उनी बटाैली आएकाे पनि २२ वर्ष पुग्याे । चार वर्षजति अर्कैकाे सैलुनमा कामदारका रुपमा काम गरे । पछि आफ्ना बाबाले १० कठ्ठा खेतबाट आएकाे धान बेचेर सञ्जयलाई बुटवल र तिलाेत्तमाकाे साँधमा रहेकाे जाेगीकुटी शान्तिचाेकमा सञ्जय हेयर ड्रेसर( कपाल काट्ने पसल)  खाेलिदिए ।

१८ वर्षदेखि शान्तिचाेकमा दुनियाँका कपालबाट पैसा फलाएका छन् उनले । दैनिक एक हजारदेखि दुई हजार रुपैयाँ  दाह्री काटेर, कपाल काटेर,कपालमा रङ् लगाईदिएर अनि मसाज गरेर कमाउँदै आएका छन् । गर्मीमा विहान सात नबज्दै आफ्नाे शैलुन खाेल्छन् । बढारकुढार गर्छन् । ऐना पुच्छन् । कैँची,काईयाे,बेर्ने लुगा सफा गर्छन् । जाडाेमा कपाल काट्ने ग्राहक ढिला आउने भएकाेले आठ वजेतिर आफ्नाे हेयर ड्रेसर खाेल्छन् । सञ्जयका कान्छा छाेरा र छाेरीले १२ कक्षाकाे अन्तिम परीक्षा दिएर बसेका छन् ।

जेठाे छाेराेले यतिबेला जापानमा पढिरहेकाे छ राेजगारीसँगै । जेठाे छाेराेतिरबाट  सञ्जय बाजे बनिसकेका छन् । सञ्जयले आफ्नै देशमा आफ्नै ग्राहकका दाह्री र कपालबाट कमाई गरिरहेका छन् । महिनामा घर चाडा,बिजुली र पानीका खर्च कटाएर न्यूनतम ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्म बचाउँदै आएका छन् । साेही बचत रकमबाट लत्ताकपडा,ओैषधाेपचार,छाेराछाेरीलाई पढाइ खर्च र घरव्यवहार चलाउँदै आएका सञ्जयले आफ्ना बाबालाई सुर्ति र रक्सीका लागि पनि हल्का वजेट विनियाेजन गर्दा रहेछन् ।

सञ्जय, सूर्ति,पान र गुड्खा खाएर आफूलाई अस्वस्थ बनाउन र शैलुनलाइ फाेहाेर बनाउन नचाहने सभ्य नाइ( ठाकुर)  रहेछन् । उनले आफ्नाे शैलुन चिरिच्याट्ट बनाएका छन् । हेर्दै रहर लाग्दाे देखाएका छन् । हाेचाे कदका गहुँगाेराे सञ्जयले भविष्यमा पनि यही पेसा अपनाएर अघि बढ्ने सपना बुनेका छन् । विहानदेखि साँझसम्म सेवा दिईरहने सञ्जय,फरासिला छन् । आफ्ना ग्राहकलाई स्वागत गर्छन् ।

अभिवादन र हार्दिकता प्रकट गर्छन् । मिठाे बाेलीव्यवहार छ । छुट्ने बेला फेरि आउनुहाेला है भन्दै निम्ताे समेत गर्न भ्याउँछन् । उच्चस्तरकाे हार्दिकतामा कुनै कञ्जुस्याइँ नगर्ने सञ्जयकाे शैलुनमा एकपटक पुगेका ग्राहकहरु फर्किफर्की पुग्छन् । उनका धेरै साथीहरु गाउँमा कृषक छन् । पसिना बगाउँदै , परिश्रम गरिरहेका छन् । केही साथीहरु भारत लगायत तेस्राे मुलुक पुगेका छन् । दु: ख गरि पैसा कमाएका छन् तर  सञ्जय आफ्नै देशकाे गृह जिल्लामा आफ्नै स्वराेजगार सञ्चालन गरेर खान,लाउन र सन्तानलाई पढाउन समेत भ्याएका छन् ।

सरल स्वभावका सञ्जयलाई आँखामा राख्दा नि नबिझाउने छन् । पहिलाकाे तुलनामा कम आम्दानी भएकाेले आफ्नाे शैलुनमा भएकाे सहयाेगी साथीलाई बिदा दिनुपरेकाे कुरा सुनाउँदा उनकाे अनुहार मलिनाे देखिन्थ्याे ।  जे भएपनि सञ्जयकाे सहारा नै शैलुन हाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।