ताजा अपडेट »

भैरहवामा बरामद करोड बढीको फूलमाला छुटाउने प्रपञ्च : ल्याइयो नामै नसुनेका फर्मको बिल

आइतबार, २६ कार्तिक २०८०, १२ : ३१
90 Shares
आइतबार, २६ कार्तिक २०८०
90 Shares

बुटवल । तिहारलाई लक्षित गरी भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा ब्यापारीहरुले भण्डारण गरेको करोड बढी मूल्य पर्ने फूललाई वैधानिकता दिन प्रहरीले नै सहजीकरण गरेको आरोप लागेको छ । ३ दिनअघि बरामद गरिएको फूलमालाको आवश्यक बिल तथा कागजात नभेटिएपछि प्रहरीले कोल्ट स्टोरमा बरामद फूलमालाको विवरण समेत सार्वजनिक नगरी व्यापारीलाई बिलभरपाई लगायतका काजगात ल्याउन समय दिएको थियो ।

ब्यापारीहरुले नेपालका दुरदराजमा कागजीरुपमा दर्ता भएका नर्सरी र एग्रो फर्मका बिल जुटाएर फूलमाला छुटाउने प्रयास गरेका छन् । रुपन्देहीको मायादेवी गाउपालिका वडा नं ८ बसडिलवामा रहेको सिद्धार्थ कोल्ड स्टोरबाट बरामद भएको झण्डै एकलाख पिस फूलमालाको रुपन्देही र यस आसपासमै नभएका कृषी फर्मको बिल पेश गरेर वैधानिक बनाउने तयारी गरिएको छ ।

विहिबार राती भैरहवाका ब्यवसायी लक्ष्मीदास मानन्धरको कोल्डस्टोरबाट रुपन्देही प्रहरीले करोड हाराहारीको सयपत्री फूल र माला बरामद गरेको थियो । कोल्डस्टोर संचालक लक्ष्मीदास मानन्धरले उक्त फुल आफ्नो नभई गुल्मी, पाल्पा, नवलपरासी लगायतका जिल्लाका ९ जना पुष्प व्यवसायीले कोल्डस्टोरमा राखेको बताए पनि बरामद भएको बखत कुनै बिल भरपाई फेला परेको थिएन । कोल्ड स्टोरमा भण्डारण गर्नुपूर्व भण्डारण गरिएको सामानको बिल वा बैधानिकता हुनु पर्नेमा कुनै कागजात बिना भण्डारण गरिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले प्रमाण लिएर आउन पर्याप्त समय दिएपछि मानन्धरले शुक्रवार दिउँसो विभिन्न ९ वटा एग्रो फर्मको विल पेश गरेका थिए । मानन्धरले पेश गरेका बिलका संचालकहरु रुपन्देही र यस आसपासका नभएको र नेपाली पुष्प ब्यवसायीको त्यती ठूलो परिमाणको फूल खेती नै नभएको रुपन्देहीको पुष्प किसानहरुले बताएका छन् । हामीले यस क्षेत्रमा सुन्दै नसुनेका नामहरुबाट भारतबाट ल्याएका फूललाई बिल मिलाएर छुटाउन खोजेको एक एग्रो फर्म तथा पुष्प ब्यवसायीले भने ।

कोल्डस्टोर संचालक मानन्धरले पौडेल फ्लावरको २ हजार पिस सयपत्रीको माला, बाटाखर्क एग्रो फर्मको ५९८ पिस, कुलैही कट फ्लावरको १३ हजार ५ सय पिस, केशव कुमार शाहको ५ हजार पिस, आर जे को ८ हजार पिस, आर के को ८ हजार पिस तथा हरि ओमको १५ बोरा सयपत्रीको मालाको विल पेश गरेका छन् । त्यस्तै सैनीको २ सय पिस तथा नवदुर्गा ड्रिम क्रिएसनको ४० बोरा सयपत्री, २७ बण्डल गुलाब, ४ वण्डल कार्नेसन र १७ बण्डल डेजीको विल पेश गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मानन्धरले नेपालका विभिन्न जिल्लाका एग्रो फर्मबाट ल्याई कोल्डस्टोरमा राखिएको विल समेत पेश गरेपछि विल अनुसारका फूल र माला रहे नरहेको अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक मनोहर भट्टले बताए । ब्यवसायीको बिल भेटिएपछि थप अनुसन्धानका लागि आन्तरिक राजश्व पठाइएको उनले बताए । ‘अव हाम्रो हातबाट राजश्वको पोल्टामा गयो ।’ उनले भने ।

तर वर्षौ बुटवलमा एग्रो फर्म संचालन गरि किसानहरुसँग प्रत्यक्ष सम्पर्कमा रहँदै आएका हातेमालो एग्रो बुटवलका संचालक हरी बस्यालले माथी भनिएका कुनैपनि फर्म र व्यक्तिहरु आफ्नो जानकारीमा नभएको बताए । रुपन्देही आसपासका अधिकांश फर्म र व्यवसायीहरु आफ्नो जानकारीमा रहेपनि बिल पेश गरिएको भनिएका फर्म र व्यक्तिहरु बारे जानकारी नभएको उनले भने ।

विगत चारवर्षदेखि तिलोत्तमामा सयपत्री खेतीसँगै किसानहरुलाई तरकारी र सयपत्रीका विरुवा समेत उपलब्ध गराउँदै आएका ईश्वरी भण्डारी पनि कोल्डस्टोर संचालकले प्रहरी सामु पेश गरेका विलमा उल्लेख गरिएका एग्रो फर्म र व्यक्तिहरु बारे आफूलाई जानकारी नभएको बताए ।

नेपालका पुष्प ब्यवसायीहरु आफै फूलमालाको बैधानिकता खोज्न आन्तरिक राजश्व पुगेपनि आन्तरिक राजश्वले बिल देखाउन नमानेको बताइएको छ । बरामद भएको फूलमाला भारतीय ब्यापारी दुर्गेश चौरसीया र तिलोत्तमाका एक नर्सरी संचालकको भएको स्रोतले दाबी छ । ४० हजार पीस दुर्गेशको र २० हजार ती कृषक तथा अन्य क्यारिङ गर्नेहरुले कोल्ड स्टोरमा भण्डारण गरेको स्रोतको दाबी छ । तिलोत्तमाकै पुष्प ब्यवसायीको आग्रहमा प्रदेश सरकारका एक मन्त्रीले माला छुटाउन प्रहरीलाई दवाव दिएको समेत स्रोतको भनाई छ ।

कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको फूलका माला भारतबाट भन्सार छलेर ल्याइएको आशंकामा प्रहरीले बरामद गरेको भनेपनि पर्याप्त बिल भरपाई पेश गर्ने समय दिइएपछि फूलका कारोबारेहरुले नेपाली बिल बनाएर पेश गरेको स्रोतले बतायो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।