ताजा अपडेट »

उजाड गाउँ, सुनसान बस्ती

आइतबार, १९ कार्तिक २०८०, १४ : ५१
106 Shares
आइतबार, १९ कार्तिक २०८०
106 Shares

दशै बिदामा म गाउँ गएको थिएँ । बिदा लामो थियो, सधै साथीभाइसङ्ग घुमेर समय बिताउने म अहिले परिवारिक कामले साथीहरूसङ्ग घुम्न जान नपाउने भएकाले १ महिनाको सम्पूर्ण बसाई लगभग गाउँमा नै हुने तय भयो ।

गाउँ आएको एकदुई दिनमै मलाई गाउँ शून्य लाग्न थालेको थियो । कुनै बेला कहिले गाउँ जाऔंला र साथिभाइसङ्ग रमाइलो गरौंला भन्ने मलाई अहिले कहिले गाउँबाट निस्कन पाऔंला भन्ने लाग्न थालेको थियो । यस्तो हुनुको पछाडि कारण थियो 'गाउँ मा कोहि पनि साथि नहुनु' ! सबै मेरा उमेरका साथीहरु कि त बिदेश छन कि त बुटवल, काठमाडौं, पोखराजस्ता सहरमा । देशमा भन्दा परदेशमा भएका साथिहरूले गाउँलाई शुन्य गराएका छन्, गाउँले ती साथिहरूलाई सम्झिरहेको मैले पाएं ।

गाउँमा एक्लै भएका कारण दिउसोको समय ब्यतित गर्न म अर्को गाउँमा रहेको श्री कालिका मा.वि, जहाँबाट मैले एसएलसी पास गरेको थिएँ म त्यहीँ गए । विद्यालय त पुरै फेरिएछ ! हामीले गोबरले लिपेर चिल्लो पार्ने कोठाहरु अहिले टाएल लगाएर चिल्लो पारिएको रहेछ । हामीले पारी खोलाबाट ल्याइएको पानीको पाइप नै मुखमा राखेर खाने गरेको ठाँउमा अहिले फिल्टर जडान गरेर ५ वटा धारा बनाइएको रहेछ !

चौरदेखि अलिक परको असुरोको झाडी जहाँ हामी आधा शरीर लुकाएर मात्रै पिसाब गर्थ्यौं, त्यहाँ अहिले चौरको छेउमा बाथटब सहितको शौचालय बानाइएको रहेछ । साच्चिकै मैले पढेको विद्यालय अहिले बल्ल विद्यालय भन्न मिल्नेजस्तै भएको रहेछ । विद्यालयको सम्पूर्ण स्ट्रकचर अवलोकन गरेर म अफिसतर्फ गएँ । पहिले एउटा कोठामा प्रधानाध्यापक रूम, स्टाफ रूम, लाइब्रेरी रूम, प्राक्टिकल रूम, स्टोर रूमलगायत सबै अटाएकोमा अहिले सबैलाई व्यवस्थित गरिएको रहेछ । प्रधानाध्यापक सरको लागि छुट्टै कोठा रहेछ !

उहासङ्ग भेट हुने अवसर मिल्यो, यो १० बर्षमा सर झन जवान पो हुनुभएछ जस्तो लाग्यो । सायद रूमको सजावाटले पनि होला ! दशैंको बिदा भर्खरै सकिएको र केही सरहरू टाढाबाट आउनुपर्ने भएकालेे केही कक्षाहरु खालि भएका रहेछन् । त्यहि मौका पारेर बालबालिकासङ्ग हल्का रमाइलो गरौं भनेर म कक्षामा छिरें । कक्षा छिर्नु अघिसम्म विद्यालयको परिवर्तन देखेर खुशीले उफ्रेको मन कक्षामा छिरेपछि उफ्रेको भुईंमा बजारियो । विद्यार्थीहरू उपस्थित नै नभएको जस्तो कोठाहरू खाली खाली देखिए । कोठामा भएका अधिकांश बेन्चमा एकएक जना विद्यार्थी बस्दा पनि धेरै बेन्च खाली नै थिए ।

अवस्था देखेर नमज्जा लाग्यो । एकैछिन विद्यालयमा समय बिताएर घर फर्किन लागेको थिएँ कतैबाट तातो समोसाकाे बास्ना आएजस्तो लाग्यो अनि सम्झिएं पकौडे 'बा' को होटलको समोसा । यहाँ आइसकेपछि त्यहाँको समोसा नखाई निस्किनै मन लागेन र गएं बुढाको होटलमा समोसा खान । चिसो भएको समोसा जस्तै भएछन् बुढा, गाला पनि चाउरी परेछन् । केही समय त्यहीं बसेर २ पिस तातो समोसा र चिया खाएँ । गफ गर्दै जांदा बुढाले भन्दै थिए पहिले जस्तो व्यापार अहिले छैन भनेर । त्यो त विद्यार्थी संख्या देखेरै बुझ्न सकिन्थ्यो ।

केहीबेरको गफगाफपछी त्यहाँबाट पनि निस्केर घरतिर जादै थिएँ, बाटैको छेउमा जिम्मालनी आमै आफ्नो आँगनको डिल मा बसेर खोक्दै रैछन् । "के भयो आमै, खोकि नै लागेर होकी फर्सिलाई ढुङ्गा हान्देला भनेर आफू डराएर अरूलाई तर्साएको हो ? " मैले सोधें । हुन पनि स्कूल पढ्दा आमैको बारिको फर्सि ढुङ्गा ले हानेर फोडेर खुबै दुःख दिन्थ्यौं । कति पटक त आमै ले स्कूल मै गएर प्रधानध्यापकसँग उजुर सम्म गर्देकी थिइन् । आमैले चिनिनछिन क्यारे, "हैन को बाबु हौ" भनिन् । मैले पनि पारी गाउँ को सिरानघर ठुले को कान्छो छोरो के भनेर चिनाएं ।

आमैले बल्ल चिनिछन् क्यारे " कहिले आइस्, कहाँ छस् र सन्चोबिसन्चो यस्तैयस्तै" सोधिन् । मैले सबै कुरा बताएपछि आमैले आइज यता बस चिया पिएर जालास् भनेकी थिइन्! पुराना दिनहरू सम्झिएर भावुक हाँसो लाग्यो । कुनै दिन यो बाटो हिँड्न दिन्नथिन् आमैले अनि आज यति माया देखाएकी छन् । एकैछिनमा हिड्ने तरखर गरेको मैले पर बारिको छेउमा खनियाको रुखको फर्सिको झालमा फर्सि पाकेर झर्ला जस्तै भएको देखें र आमैलाई भनें आमै फर्सि त पाकेर झर्ला जस्तै भएछ नि ! आमै भन्दै थिइन् फलेको फल कहाँ सधैं रुख मै रहन्छ र, जसरि भएनी झर्ने त रहेछ । साच्चिकै आमैले भनेको ठिकै त थियो पहिले हामीले झर्दिन्थेऊं अहिले आफै पाकेर झर्छ ।

आखिर फललाई बोटबाट झर्नु त छ नै । केटाकेटीलाई टिप्न लगाए हुने नि आमा भन्ने मेरो सुझावलाई पूरा हुन नदिइ आमाले नातिनातिना बजार छिरेको र आफू एक्लो परेको दु:ख सुनाईहालिन् । अनि भनिन् "उतै बजारतिरै छन् दसैँमा टिका लगाएर गएका हुन् । फर्सी टिपेर लैजाऊ न भनेकी थिएँ उहीं त पाइन्छ, त्यस्तो किन यहाँबाट बोक्नु भने ।" आमैले मलिन् अनुहार बनाउँदै भनेकी थिइन् । किन बजार गएको भन्ने मेरो प्रश्नमा आमैले भनिन् 'खोई यहाँको पढाई राम्रो भएन रे, छोरालाई राम्रो स्कूल पढाउन गएका हुन् । के गर्नु बाबू बिरामी छु । यस्तै दशैं तिहारमा मर्न पाए त मलामी पनि अलि हुन्थे होला नत्र त लास उठाउन पनि मान्छे छैनन् गाउँमा ।"

केही गफगाफ गरेर म त्यहाँबाट निस्किएँ । बाटोमा आउँदै गर्दा मनमा अनेकौं कुराहरू खेलिरहे । आखिर नेपालका सबैजस्तो गाउँको नियति नै यस्तै छ । कैयौं युवाहरू रोजगारीको सिलसिलामा परदेशीएका छन् भने केटाकेटीलाई पढाउने बहानामा कैयौं मान्छेहरू गाउँ सुनसान शहर पसेका छन् । गाउँ सुनसान र उजाडिएका जस्ता छन् । टुक्रुक्क बुढाबुढीले मात्र भरिएका गाउँका बुढाबुढिले दशैं तिहार जस्ता चाडमा मात्र गाउँमा मान्छेको चहलपहल देख्न पाउछन् । चाडपर्वबाहेक अरूबेला मलामी जाने मान्छे पाइन छोडेका छन् ।

आखिर ग्रामिण क्षेत्रमा लगानी नै नभएको पनि होइन । खानेपानी, शिक्षा, स्वास्थ्य तथा सडकमा त्यतिका लगानी भएको छ, त्यति सारो परिवर्तन भएको छ फेरि किन एस्तो भइरहेको छ ? गल्ति कहाँ निर भयो त ? गम्भीर समीक्षा आवश्यक छ । सोच्दै जाँदा मलाई लागेको एउटा कुरा के हो भने, लगानी अब शैक्षिक सुधारमा हैन मानसिकताको सुधारमा गर्नुपर्छ । गाउँ सुनसान पारेर अनेक बहानामा गाउँ छोड्न बाध्य भएकाहरूलाई गाउँमै रोक्न सकिएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।