ताजा अपडेट »

आफ्नो दशैं भुलेर सडकआश्रित मानवको खुशीका लागि हिँडेको यात्रा

शनिबार, ११ कार्तिक २०८०, १४ : २३
38 Shares
शनिबार, ११ कार्तिक २०८०
38 Shares

बुटवल । दशैं मनाएर घर फर्किने तथा कर्मथलो फर्किनेहरुको भिडले आफ्नै व्यस्ततामा थियो बुटवलको नयाँ बसपार्क । लामो दुरीका सवारीमा मात्र होइन, छोटा दुरीका सवारीमा समेत यात्रुको भिड उस्तै थियो । दशैं पूर्णिमाको दिन भएका कारण रमझम अझै सकिएको थिएन ।

यही व्यस्तता र रमझमको बीचमा मावनताको गीत घन्काउँदै एक हूल ब्यानर बोकेर बसपार्कको फन्को लगाउन थाल्यो । त्यो हूल थियो आफ्नैं दशैं भुलेर मावन सेवामा समर्पितहरुको । ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ अभियानको । मानव सेवा आश्रम र आनिङ छोइङ फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको अभियानले शनिबार विहान बुटवल बसपार्कमा सडकाआश्रित मावनहरुको खोजी गर्न आएको थियो ।

पूर्वको मेची पूलबाट १ बालकसहित ३ जनाको उद्धारगरी सुरु भएको अभियानमा सहभागीलाई स्वागत गर्न एकाविहानै बुटवल बसपार्कमा पुगेका थिए युवा नेता तथा समाजसेवी गोपाल राना । मेची–महाकाली अभियानको टोली नआउँदै बसपार्कको पूर्वतर्फ रहेको पार्किङ स्टेशनमा लत्रिँदै गरेका एक वृद्ध पुरुषसँग गफिँदै थिए उनी । उमेर करिब ५५÷६० वर्षका ती पुरुषले आफ्नो घर पोखरा भएको बताए, एक छोरा रोजगारका लागि दुबईमा रहेको र एक छोरा भारतमा रहेको बताए । उनको देब्रे खुट्टा पैतलादेखि घुँडाभन्दा माथिसम्मै घाउ पाकेर कुहिइएको थियो । घाउलाई माखाबाट बचाउन तलदेखि माथिसम्म नै बाक्लो कपडाले बेरेर लत्रिँदै पेटभर्न बसपार्कमा ओहोरदोहोर गर्नेसँग हात फिजाउनु उनको दैनिकी रहेछ । ती पुरुषसँग गफिएर पुनः बसपार्कको फन्को लगाइसक्दा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय पनि अभियान्ताहरुलाई स्वागत गर्त आइपुगे ।

‘फूलको आँखामा फूलै संसार..’बोलको गीतबाट प्रसिद्ध भएकी गायीका आनिङ छोइङ डोल्मा र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित मेची–महाकाली अभियानको टोली विहानको करिब सभा ९ बजे बसपार्कमा आइपुग्यो । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस सडकमा’–भन्ने नारासहित ब्यानर बोकेर उनीहरु सडकआश्रितहरुको उद्धारमा जुटिहाले । सबैभन्दा पहिले अघि लत्रिँदै गरेका वृद्धलाई उठाएर उद्धार भ्यानमा पुर्याएपछि स्वास्थ्य टोलीले उनको घाउमा मलमपट्टी गर्न थाल्यो । ब्यानरसहितको टोली भने मानवताको गीत घन्काउँदै बसपार्कका हरेक कुना–कुनामा नजर डुलाउँदै अघि बढ्यो ।

बसपार्कमा बेसहारा मात्र भेटिएनन्, मदिराले लठ्ठ परेर चप्पलको सिरानी लगाएर लम्पसार परेकाहरु पनि भेटिए । तर उनीहरुलाई उद्धार गर्नु मापदण्ड भित्र भएन, सम्भव पनि थिएन । यसैगरी अघि बढ्दै गर्दा बसपार्कको दक्षितर्फ बन्दै गरेको भवनको छेउमा एक महिला किरब ४/५ वर्षकी बालिकासहित उभिएकी थिइन् । झुत्रो लुगा, मैलिएर कटकटिएको रुपमासँग उभिएकी ती युवती करिब ३०/३२ वर्षकी देखिन्थिइन् ।

ती युवतीलाई बुझ्न मानव सेवा अश्रमकी सुशिला केसीले केही प्रश्न गर्न थालिन् । तर खुलेर सबै प्रश्नको जवाफ दिन भने आनाकानी गरिरहिन् । केही समय ती युवतीलाई अपनत्वको महशुस गर्नेगरी माया दर्शाएपछि भने उनले अफ्ना केही कुरा खुलाइन् । माइति घर प्यूठान बताउने उनले आफ्नो घर अर्घाखाँची भएको उल्लेख गरिन् । आफ्नो नाम सविना आचार्य बताउने ती युवतीले श्रीमान कृष्ण सुनारले धोका दिएका कारण छोरीसँगै सडकमा आउनु परेको गुनासो गरिन् । यद्यपी उनलेका भनेका कुरा कति सत्य हुन्, उनको मानसिक अवस्था के–कति ठिक हो भन्ने बारे भने उद्धार र केही दिनको उपचारपछि मात्रै थाहा हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

यसरी शनिबार विहान बुटवल आइपुग्दासम्म मेचीदेखि १२२ जनाको उद्धार भैसकेको थियो । अभियानमा सहभागीहरुलाई स्वागत गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले खुलेर प्रसङ्सा गरे । सडकआश्रित मानवमुक्त समाज निर्माणका लागि बुटवल उपमहानगरले पूरा गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गर्न तयार रहेको समेत उनले प्रतिवद्धा गरे । बुटवलको उद्धारअभिनपछि पश्चितर्फ लाग्ने क्रममा गायिका आनि छोइङ डोल्माले सबैलाई करुणा भाव राख्न आह्वान गरिन् ।
उनको विचारमा सहमति जनाउँदै तालि पिट्दै थिए मानव सेवा आश्रमका अभिभावक लोकनाथ भुसाल, शेरबहादुर गौतम लगायतका सहभागीहरु । अभियानमा मानव सेवा आश्रमका लुम्बिनी संयोजक सरु अधिकारी, रुपन्देही संयोजक टिकामाया थापा लगायत सुरक्षाकर्मी, सञ्चारकर्मीको समेत सहभागी रहेको थियो ।

अभियानमा रहेका टोलीमा सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, मानसिक तथा सामाजिक रुपमा कमजोर सडकआश्रित मानवलाई उद्धार गर्दै आएको छ । अशोज २७ गतेदेखि सुरु भई मंसिर ४ गतेसम्म जारी रहने अभियानमा सहभागीहरुले सडकआश्रितहरुको उद्धार गरेर नै यो वर्षको दशैं तिहार मनाउने योजनामा छन् । मानव सेवा आश्रमले देशका २४ वटा सेवाकेन्द्रबाट हालसम्म १ हजार ६ सय बढीलाई उद्धार गरी आश्रमको व्यवस्था गर्दै आएको छ । रुपन्देहीमा १८० जना सडकाश्रितहरुलाई उद्धार गरी उनीहरुलाई बासको व्यवस्था गर्दै आएको छ । मुलुकलाई सडकआश्रित मानव मुक्त बनाउने अभियान अन्तरगत मानव सेवाआश्रमको सहकार्यमा हालसम्म बुटवल उपमहानगरपालिकासहित १३ वटा स्थानलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।