ताजा अपडेट »

दशैं ‘दसा’ जस्तै बनेको झुपडीको कारुणीक कथा

शनिबार, ०४ कार्तिक २०८०, १८ : ०४
42 Shares
शनिबार, ०४ कार्तिक २०८०
42 Shares

गुल्मी । अरु सबैलाई दशै आएको छ तर गुल्मी तम्घासको एक सुकुम्बासी परिवारलाई भने दशै ‘दसा’ जस्तै बनेको छ । रेसुङ्गा नगरपालिका-८ चिदिचौरको एउटा झुपडीमा बस्ने सुमित्रा पाण्डेको परिवारलाई आर्थिक अभावका कारण दशै दसा जस्तै बनेको हो ।

‘जिन्दगी जस्तोनि चल्छ, मंहङ्गो नि चल्छ सस्तोनि चल्छ’ । यस्तै भाव मनमा आयो फूलपातीको दिन गुल्मीको सदरमुकाम तम्घास बजारमा किनमेलसँगै पाण्डे परिवारको झुपडीको कारुणीक दृश्य नियाल्दा । किनमेल गर्ने मध्येका कोही भन्दै थिए सधै खाईरने चामलको भात दशैमा पनि के खाईरहने हो भनेर राम्रो चामल किन्न आको हो । कसैले हिजै ढालियो त कसैले भोली पाठो ढलाउने हो, भन्दै थिए । उनिहरुको त्यो महँगो दशै कुरा सुनेपछि जिल्ला प्रशासनको छतबाट सधै देखिने झुपडीको दशै कस्तो छ त भनेर बुझ्न मन लाग्यो त्यस तर्फ लागियो । जुन झुपडीको कथा धेरै पटक देखायौं, सुनायौं । तर देख्दीने सुन्दिने निकायले नसुनेपछि कसको के लाग्यो र ?

झण्डै ४० वर्ष भयो रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ज्ञानेश्वर पाण्डे सुकुम्वासी भएर तम्घास बजारतिर मजदुरी गर्दै बसेको । सक्ने बेलासम्म डेरा गरेर बसे । अहिले बुढेसकालमा सार्वाजानिक जमिनमा अस्थाई टहरा बनाएर बसेका छन् । यस अवधिमा धेरै पटक चुनावहरु भए । आम मानिसहरुमा परिवर्तन पनि आयो तर त्यो व्रामहण परिवारलाई न परिर्वनले छोयो न त चुनावताका नेताहरुले दिएका आश्वासननै पूरा भयो ।

वृद्ध रामचन्द्र घाम ताप्न चौर तिर पुगेका थिए । छोरा रामचन्द्रको मानसिक अवस्था खासै ठिक नभएका कारण काम नगरी बरालिँदै हिड्छन । त्यो झुपडीमा विहान बेलुकाको चुलोभारा ६५ वर्षीया आमा सुमिज्ञा पाण्डेको हो । कसैकोमा कपडा धोई दिने भाँडा माझि दिने गरेर जीविका धानेकी पाण्डेको वास्तविक जीवनमा त केको दशैं आउनु र ? तर धर्म कर्म र दशैं पुजापाठले भने छोएको थियो । शिर निहुराएर भित्र पस्न मिल्ने सानो झुपडी । प्लाष्टिकको छाना, स–साना बाँसकोे टेको लगाएको झुपडीमा सानो खाल्डो पारेर अगेनो बनाईएको । त्यसैको डिलमा लिपपोत गरेर पुजापाठ गर्ने तयारी गर्दै थिइन् उनी । पानी थाप्ने प्लास्टिकका बोतल र सिल्टीका भाँडा वर्तनहरु यत्रतत्र छरिएका थिए । राखन धरान प्लाष्टिका झोलाहरु थिए । ‘नुनको पोको, अलिकति चामल, थोरै दाल र अलिकति चिनी छ बाबु, आज त एक जनाले अलिकती दुध पनि दिएका छन बाबु ।’ भनेर सुनाउँदै थिइन् उनी ।

उहनका श्रीमान थानेश्वर प्रहरीको जागिरमा थिए । तर कुलतमा पसेर जागिर गयो । घर आएपछि ऋण लाग्यो । २०४२ सालमा नै भाडगाउँबाट सुकुम्वासी भएर तम्घासतिर आएर बस्न थालेको त्यो परिवारलाई अहिलेसम्म कसैले केहि नगरेको तर चुनावमा भोट भने दिँदै आएको उनको गुनासो छ ।

हामी त्यहाँ पुग्दा खुशीले गदगद भइन् । किनकी हामीले कोरोना माहमारीको बेलामा बजारमा मानोचामल उठाएर उनलाई राशनको ब्यवस्था गरेका थियौं । अहिले दशैमा उनलाई आश लागेर होला निकै खुशी प्रकट गनरिन् । विहानै घरबाट हिँड्दा चिया पीउन बोकेको जति पैसा थियो, त्यो दिँदा उनले भगवान पुकार्दै आर्शिवाद दिइन् । उनको माईत घर मुसिकोट अमराई हो । उति बेला माईती खानदानी थिए । धुमधामसँग दशैं मनाएको स्मरण गर्छिन उनी ।

यो उमेरमा विहानै वेलुका काममा खट्नु छ । अब झन जाडो आयो शरिरमा न्यानो कपडा छैन । पातलो कपडामा जाडोमा कठ्याङ्रग्रीँदै हिडेको देखिन्छ उनलाई । पोषिलो खान नभएर होला ज्यु दुब्लाएर पातलो छ । बिरामी भएर उनी थला पर्दा त्यो घरमा छाक बस्छ । चिदिचौर खेल मैदानको मञ्च तलको एउटा कोठा सुत्नलाई दिईएको छ । तर तीन जना भएका कारण अधिकांश समय आलोपालो बाहिर पेटीमा सुतेको देखिन्छ । त्यस्ता परिवारका लागि सरकार कहाँ छ ? भनेर आफैसँग प्रश्न गर्न मन लाग्छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार