ताजा अपडेट »

श्रम र सरम

विहीबार, ०२ कार्तिक २०८०, १६ : ५१
194 Shares
विहीबार, ०२ कार्तिक २०८०
194 Shares

पसिना बगाउनु श्रम हो । श्रमिकहरुले नै श्रम गर्छन् । श्रमले नै बजार धानेको हुन्छ । श्रमबिनाको श्रमिक सम्भव छैन । यतिबेला श्रम गर्नेहरु पनि फरक फरक छन् । कोही बौद्धिक श्रम गर्छन् । कोही शारीरिक श्रम गर्छन् । श्रमको अर्थ: अर्थोपार्जन नै हो । शारीरिक श्रम गर्नेका तुलनामा बौद्धिक श्रम गर्नेका आर्थिकस्तर बलियो हुने गरेको देखेकै छौं । हाम्रो समाजमा श्रम गर्ने र श्रम नगर्ने दुबै थरिका मानिसहरु छन् । श्रम गर्नेले संसार जितेको इतिहास छ । हात बाँधेर बस्नेहरु दैलामा ठेस लागेर इहलीला समाप्त गरेका छन् ।

श्रम गर्नेहरुले संसार धानेका छन् । संसारका मानवलाई पालेका छन् । श्रमले नै संसार अडिएको छ । श्रम गर्नेहरुले नै संसारका व्यवस्था परिवर्तनमा अहम् भूमिका निर्वाह गरेका छन् । हुँदा खाने वर्ग नै श्रम गर्नेहरु हुन् । अर्थात् श्रमिक हुन् । श्रमिक वर्गका उत्थान र परिवर्तनका लागि विश्वमा अनेक प्रकारका नारा,जुलुश र युद्ध भएका छन् । श्रमिक वर्गले शोषक वर्गलाई धूलो चटाएका छन् । श्रमिक वर्गले मालिक वर्गलाई गुल्टाएका छन् । गरिवले धनीलाई खुइल्याएका छन् ।

जतिबेलासम्म श्रमिक र सामन्त वर्ग समाजमा रहिरहन्छ त्यतिबेलासम्म वर्गसंघर्ष कायम नै रहनेछ । वर्गविहीनताको कल्पना गर्नेहरु कम्युनिष्ट हुन् । २००६ सालमा स्थापना भएको नेकपामा अनेक चिरा छन् । एकले अर्कालाई संशोधनवादी, दक्षिणपन्थी, अवसरवादी देख्ने र भेट्ने गर्छन् । आफूलाई क्रान्तिकारी सोच्नेहरुले अरु कम्युनिष्टलाई किन सिर्जनशील तरिकाले मित्रवतपूर्ण व्यवहार गर्दैनन् ? कम्युनिष्ट पार्टीको मूल व्यानरमा संसारका सबै श्रमिकहरु एक हौं भनेर लेखिएकै हुन्छ तर आफूहरुका बीचको चिरालाई टाल्न सकेका छैनन् । सिलाउन भ्याएका छैनन् । कम्युनिष्टको चरित्र नै विभाजन हुनु हो भन्ने भाष्य निर्माण गरिएको छ ।

विचारले कम्युनिष्ट पार्टी फुट्छ भन्नेहरुले व्यवहारमा किन एउटै पार्टी बनाउन सक्दैनन् ? कम्युनिष्ट पार्टीभित्र पनि श्रम गर्ने र नगर्नेहरुको उत्पति भइसकेको देखिन्छ । कोही ठालू कम्युनिष्ट पार्टी कोही आलु कम्युनिष्ट पार्टी । आलु कम्युनिष्टको अर्थ जोसँग,जहिले पनि मिल्ने ! त्यतिबेला दर्शन,सिद्धान्त,विचार मिल्न नपर्ने । पदका लागि पर्गेलिने । श्रम गरेर पालिएका कम्युनिष्ट पार्टीमा ठालुहरुको राज चल्यो भनेर एक अर्का कम्युनिष्ट पार्टीबीच हिलो छ्यापाछ्याप छ ।

दसैंको अवसरमा कम्युनिष्ट पार्टीका नाममा सहरबजार र गाउँतिर पर्व विशेष शुभकामना आदानप्रदान भनिएको कारण ठूल्ठूला ब्यानरमूनि पार्टीका नेता,कार्यकर्ताहरु झुम्मिएका छन् । खाजा खाएका छन् । चिया,बिस्कुट दन्काएका छन् । मिठामिठा बात मारेका छन् । पार्टीको हैसियत कहाँ पुग्यो,पुग्दैछ बाल मतलव छैन । फोटो खिचाउनेको धुइरो छ । सेल्फी हानेका छन् । लाइभ गरेका छन् बकम्फुसे भाषणको ।

पार्टीलाई जनमुखी बनाउने कुनै कुरै छैन । योजना छैन । सल्लाह छैन । छलफल छैन । गुड ग¥यो,अंकमाल ग¥यो । खित्का छाडेर हाँस्यो अनि हात हल्लायो हिड्यो । टिभीमा समाचार आइहाल्छ । पत्रिकामा फोटोसहितको समाचार नआउने कुरै भएन । अनलाइनहरुले गिद्दे अक्षरमा फलाना नेताले यस्तो भनें भनेर लेखिदिन्छ । मख्ख नेता,ढुक्क कार्यकर्ता ,वाक्क मतदाता ।

यतिबेला गाउँतिर धान पाकेर पहँलेपुर भएको छ । मौसमले किसानलाई चुनौती दिएको छ । सकि नसकि किसानले भकारीमा धान हुल्ने प्रयास गरेका छन् । त्यो प्रयासमा नेता,कार्यकर्ताहरुका थोरै श्रम मिसाउन पाउने हो भने किसानका भकारीमा धान जान्थ्यो । किसानका ज्यानले आराम पाउँथ्यो । किसानहरुले असारे पानीसरि आँसु झार्न पर्ने बाध्यकारी अवस्था आउने थिएन । ब्यानरमूनि नानाथरिका कुरा गरेर शुभकामना बाँड्नुभन्दा किसानहरुका खेतबारीमा नेता, कार्यकर्ताहरुका श्रम पोख्न पाएको भए किसानले हजार शुभकामना र लाख शुभेच्छा प्रकट गर्थे । उनीहरुका हँसिला मुहारले नेता,कार्यकर्ताका भविष्य उज्याला हुन्थे ।

तर,यी कुराहरु मैले लेखिरहँदा नेताका चुनावी घोषणापत्रमा श्रमशिविर सञ्चालन गर्ने,किसानका खेत,गह्राहरुमा जाने,मल बोक्ने,धान रोप्ने,धान काट्ने,दाइँ लगाउने कुरा कतै लेखिएको देखिनँ । किसानका खेतबारीमा श्रम गर्न नेता, कार्यकर्ताहरुलाई सरम लाग्छ । श्रम गर्ने,श्रमजीविहरुको पार्टी भनेर थुक उछिट्याउँदै भाषण गरेर नथाक्ने कम्युनिष्ट पार्टीका सर्वहारा नेताहरु,किसानका कान्लाहरुमा कहिले कुद्लान् ? धान रोप्न र हलो जोत्न कहिले जालान् ? धान काट्न र मल बोक्न कहिले उक्लिएलान् गाउँतिर ? श्रमलाई सम्मान गर्न श्रमिक बनेर कहिले पुग्लान् खेतबारीमा ? उनीहरु साँचिक्कै श्रम गर्छन् वा श्रम गर्न यसरी नै सरम मानिरहलान् ?

श्रम गर्ने पार्टीका नेता,कार्यकर्ता नै श्रमशिविरमा नपुगेपछि चियाको चुस्की लिनुको विकल्प के पो रह्यो र ! ब्यानरमूनि बसेर दिइएको शुभकामनाले किसानका भकारीमा धान पुग्दैन । उनीहरुका श्रमको सम्मान हुँदैन । भोट बैंक बनेर बसेका बिचरा किसानका कान्लामा पाँचपाँच वर्षमा त होला नि नेताको पैताला पुग्ने । श्रम त सरम मानेर सहरतिरै होला !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।