नाँघेको छ उमेरले पचास
तन्नेरी छ अझै कर्मले !
बिहानै खेल्छ पसिनासँग
दिउँसो कूची खेलाउँदै
अक्षर र चित्र कोर्छ
अक्षरमा रङ् भर्छ
सजाउँछ, छेउकुना
चित्र कोर्छ क्यान्भासमा
एकोहोरिन्छ
तपस्वी सिद्धार्थजस्तै !
तान्छ घरि रङ्को तिनाउ
पोत्छ कहिले घरजस्तै
छिल्याङ्ग्याएर चित्रलाई
तलपट्टि
आफूलाई बेथा लेख्छ
अर्थात् बेनु थापा ।
पहाडबाट
पानीजस्तै बग्दै आएको मान्छे हो
पानीजस्तै सङ्गलो छ
नरम छ
उम्लिन्छ कहिलेकाहीँ
तताउँदा !
उड्दै गरेको वाफमा आफूलाई बिलाउँछ ।
दुरुस्तै चित्र कोर्छ
बस्तु र चित्र उस्तै बनाउँछ
क्यान्भासनिर उभिएको कलाकार
अभावमा
साथ र समर्थन खोज्छ
भावमा प्रेम रोज्छ
प्रभावमा समय र चिन्तन !
हो ! ऊ
यो समयको बलियो कलाकार हो !
पैसासँग पसिना साट्दैन
अक्षरसँग अम्मल माग्दैन
मृत्युपछिको जीवन भन्छन् ( कला !
ऊ !
आफ्नै अघिको वर्तमान ठान्छ जीवन
र अस्तित्व मान्छ कला !
प्रतिक्रिया