ताजा अपडेट »

पर्वका बेला : मनका कुरा

विहीबार, २५ असोज २०८०, १३ : ३५
66 Shares
विहीबार, २५ असोज २०८०
66 Shares

दसैं, घरआँगनमा आइसक्यो । देश, परदेश गएकाहरु नि आउने क्रम जारी छ । सहरतिर जागिर गर्नेहरु बिदापछि गाउँतिर पुग्छन् । विद्यार्थीले झोला बोकी सके गाउँ जान । गाउँतिर कमेरो र गेरुले घर लिप्न तरखर गर्दैछन् । घर, आँगन र टोलछिमेक सरसफाइका कार्यहरु अघि बढिसके । गाउँका क्लवहरुले कहाँनेर पिङ् राख्ने हो सल्लाह गरिसके । मन्दिर, देवालयहरुमा धार्मिक कार्यक्रम गर्ने चाँजो मिलाउँदैछन् ।

विदाका बेलालाई शिक्षकले डोकोभरिका गृहकार्य दिन थालिसके । विद्यार्थी दसैं, तिहारभन्दा पनि गृहकार्यको तनावले उन्मुक्त हाँसो हाँस्न पाउने छैन । टीको निधारमा थाप्न अबेर हुनेछ गृहकार्य दुरुस्त भ्याउन । साथीभाइसँग नारिन भ्याउने छैनन् । आफन्तीका घरमा टीका थाप्न पनि बाबाआमालाई पठाएर आफू गुन्द्री दछ्याएर गृहकार्यमा तल्लीन हुनुपर्ने बाध्यकारी अवस्था नआउनला भन्न सकिन्न ।

म पनि यही अवस्थाबाट गुज्रेर आएको उहिलेको विद्यार्थी हुँ । घुँडा धसेर गृहकार्य भ्याउँदा ठूलो सास तान्थें । शिक्षकहरुका प्रिय विद्यार्थी हुनुको नाताले आफ्नो साख जोगाउन कम्तिको पीडा थिएन मलाई । मैले गृहकार्य नभ्याउँदा सबैका अघि नकारात्मक उदाहरणीय पात्र हुन्थें म । फलानाले गृहकार्य गरेन भनेर हाँसोको पात्रो हुन्थें म । उसले त गरेन, मैले नगरेर के भो र भन्थे साथीहरुले । उनीहरुका निम्ति भएपनि मैले गृहकार्य भ्याउनै पथ्र्यो ।

शिक्षक भएँ । मैले पनि विद्यार्थीलाई पर्वका बेला हुने बिदामा डोकोभरि नै गृहकार्य दिएर शिक्षकको कर्तव्य पालना गरें । गृहकार्य जाँचौं वा नजाँचौं तर विद्यार्थीका कर्मशीलता जाँच्ने कसी थियो गृहकार्य । उनीहरुलाई पर्वका बेलामा नाकेडोरी लगाउने उपाय थियो गृहकार्य । केही सिकून् र पढेको कुरा कापीमा उतारुन् भन्ने मनसायको कडी थियो गृहकार्य । फाल्तु कामबाट सधैं टाढा राख्ने असल विधि थियो गृहकार्य ।

अचेल म शिक्षक छैन । विद्यार्थी भने हुँ । पेन्सनबाट पाएको पैसाले पुस्तक किन्छु । मन लाग्दा घण्टौं पढ्छु । जाँगर नलाग्दा पुस्तकतिर आँखा लगाउँदिनँ । मेरो गृहकार्य भनेको मन लाग्दा लेख्नु नै हो । यो कुनै शिक्षकले दिने गृहकार्य जस्तो कसीकसाउको हैन र छैन पनि । मस्तिष्कमा कुनै विषयले क्लिक गर्दा लेख, रचना तयार पार्छु नत्र घुम्छु, डुल्छु र आवश्यक विषयवस्तुमा सहजीकरण सामग्रीहरु तयार पार्छु । यी मेरा अचेलका दैनिकी हुन् ।

पुरानो विद्यार्थी र निवृत्त शिक्षक भएपछिका केही अनुभव साट्न आएको छु यतिबेला । पर्व विदामा विद्यार्थीलाई डोकोभरिको गृहकार्य दिनु कति जायज थियो र छ ? विमर्श गर्न मन लागिरहन्छ अचेल । उनीहरुलाई पर्व आउँदा सबैभन्दा खुसी लाग्छ र लाग्दो हो तर हाम्रा गृहकार्यले उनीहरुका बालमनोविज्ञानलाई कति असर र प्रभाव पारेका होलान् कहिल्यै मूल्यांकन गरेका छौं हामीले ?

बरु हामीले त्यतिबेला आफूभन्दा ठूलाबडा मान्यजनहरुसँग बसेर वार्तालाप गरेर इतिहासका कुरा विद्यार्थीलाई सिकाउन सक्थ्यौं कि ? पर्वका परम्परागत विषयमाथि छलफल र अन्तक्र्रिया गरेर वर्तमानमा केही निचोड निकाल्न सक्थ्यौं कि ? ज्येष्ठ नागरिकका भोगाई र सिकाईलाई यतिबेला कसरी लिन सकिन्छ भन्ने कुरामा घोत्लिन सक्थ्यौं कि ? पर्वका सकारात्मक र सुधारात्मक पक्षका विषयमा तर्क, वितर्क गर्न सकेको भए आफ्ना विद्यार्थीले किताबी कुराभन्दा केही नयाँ कुरा सिक्न सक्थे कि ?

सायद हामीले गरेका वा दिएका कागजी गृहकार्यभन्दा यी छलफल,विमर्श र अन्तक्र्रिया हजारौं गुना प्रभावकारी हुन सक्थे कि ? हाम्रा ज्येष्ठ नागरिकहरुसँगका कुराकानीले विद्यार्थीमा आदर,सत्कार र संस्कार विकासमा केही योगदान पुग्थे कि ? बुढाबुढीलाई सुड्डो र सुड्डीभन्ने आधुनिक बोलीमा सुधार भएर हजुरबाबा, हजुरआमा आदरार्थी शब्दमा रुपान्तरण हुन्थे कि ? बुढाबुढी घर, समाजका घाँडो ठान्ने आधुनिक परम्परामा केही सकारात्मक परिवर्तन भइ उनीहरु राज्यका सम्पत्ति हुन् भन्ने गतिलो सन्देश प्रवाह हुन सक्थ्यो कि ?

पर्वका बेला सहरमा बसेकाहरु गाउँ जान्छन् । गाउँमा बस्नेहरु पर्व मनाउन सहर जान सक्छन् । हिमालका तराइमा आउलान् । तराइमा बस्नेहरु पहाड वा हिमालमा पुग्लान् । त्यतिबेला नेपाली भूगोल, भावना र भाषाका बारेमा जानकारी दिन सकिन्छ कि ? समुदाय, समाज, संस्कार, संस्कृति र सभ्यताका बारेमा व्यापक जानकारी दिन सम्भव नहोला र ? अभिभावकसँग आएका विद्यार्थीलाई हाम्रा घरदैला, घरपरिवार, पारिवारिक बनोट, आदरसत्कार, छरछिमेक, बस्तुभाउ, समाजको रहनसहन, रीथिथिति, परम्परा, संस्कारका बारेमा व्यापक छलफल गरी सिकाउन सम्भव हुनेछ ।

हाम्रा प्रकृति र संस्कृतिका बारे गाउँ,सहरका जान्ने मानिस र विद्यार्थीबीच प्रश्नोत्तर गराएमा हामीले दिएका गृहकार्यहरुभन्दा सयौंगुना ज्ञानवर्द्धक कुराहरु उनीहरुले प्राप्त गर्ने छन् । पुस्तक त शिक्षकले पढाउँछन् । कक्षाकार्यहरु कक्षाकोठाभित्रै हुन्छन् । तर साँचो पढाई त हाम्रै समाजमा हुन्छन् । असल शिक्षक त समाजका हरेक मान्छे बन्न सक्छन् । गाउँका पशुपालकसँग हाम्रा विद्यार्थीलाई पुराएर गाईभैसीका दूध, दुहुन लगाएर प्रयोगात्मक कक्षा सञ्चालन गरिएमा डेरीले दूध दिन्छ भन्ने कुराको छिनोफानो लाग्थ्यो कि ? मीलले चामल र तेल दिन्छ भन्ने विद्यार्थीलाई हाम्रा पँहेलपुर खेत र बारीका पाटाहरुमा पुराउन सके,उनीहरुले लहलह झुलेका धान र पँहेलै फूलेका तोरी देखेपछि के भन्लान् ? त्यस्ता गल्ति फेरि दोहोराउलान् र ?

चार दिवारभित्रका शिक्षा सायद कोरा बनेका छन् । हामीले पुस्तक पढायौं तर पढ्न सिकाएनौं कि ? पढ्न सिकाएको भए विद्यार्थीले समाज, भूगोल, भावना, भाषा, संस्कार र संस्कृति पढ्न सक्थ्यो र विश्लेषण गर्न सम्भव थियो । तर आज हामीले उत्पादन गरेका विद्यार्थीले घरमा बल्ब खराब हुँदा फेर्न सकेन । आफ्नो सर्टको टाँक फुस्किदाँ सियो र धागोको प्रयोग गरेर आफैले राख्न सकेन ।

विद्यार्थीलाई गृहकार्य दिएरमात्र होइन कि असल अभ्यास गराएर पर्व मनाउन पनि सम्भव छ । आफन्ती चिनाऔं । उनीहरुका काम चिनाऔं । कर्म गर्नेहरुसँग भेटाऔं र कर्मशील बन्ने उत्प्रेरणा जगाऔं । वन, वातावरण, जैविक विविधताका बारेमा बताऔं । रैथाने उत्पादनका बारेमा जानकारी गराऔं । रैथानेबस्तु रिक्तिदै गएका कारण सोधौं ।
यसरी पर्व मनाउन प्रेरित गरौं न कि डोकोभरिको गृहकार्य पर्वमा पसारेर पर्व मनाउन उत्प्रेरित गरौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।