आजकल दैनिक करिब २ हजाको हाराहारीमा नेपाली युवाहरु विदेश पलायन भईरहेका छन् । झन्डै पचास लाख युवाशक्तिहरु यतिबेला परदेशी भुमिमा कार्यरत छन् । स्वदेशमा राम्रो आम्दानी नहुने देखेर पनि युवाहरु बिदेशिन बाध्य भएका हुन । नेपालको राजनैतिक अस्थिरता र रोजगारको अभावका कारण पनि बिदेशिने युवाहरुको लहर बढेको देखिन्छ ।
देशको दक्ष जनशक्ति विदेशिदा देशको लागि जति घाटा भए पनि त्यस तर्फ सम्बन्धित निकायले सोच्ने र युवाहरुलाई बिदेश जानबाट रोक्ने कुनै ठोस योजना बनाउन सकेको छैन् । रेमिटेन्सको भरमा देश चलेको हौवा पिटाएर दक्ष जनशक्ति बेच्न पल्केका दलालहरुको कारण धेरै नेपालीहरुले यतिबेला बिदेशी भुमिमा रगत र पसिना संग आफ्नो श्रम साटिरहेका छन्।
बिदेश जानु धेरैको लागी बाध्यता भएता पनि पछिल्लो समयमा बिदेश मोह रहर बन्न थालेको छ । स्वदेशमा काम गर्न राम्रो काम नपाउने काम पाईहाले पनि भने जति आम्दानी नहुने भएको कारण यतिबेला बिदेशीने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । झट्ट हेर्दा बिदेश सजिलो र फाईदाजनक देखिए पनि बिदेश सोचेजस्तो सजिलो र आम्दानीको लागि फाईदाजनक भने पक्कै छैन ।कुनै गरीबको छोराले म नेपालमै व्यापार व्यावसाय गर्छु भनी ऋण मागोस् त कुनै साहुले सुको दिए मरिजाम। बैंकहरूको त झन कुरै नगरौं । सरकार गफ दिने मात्र हो माखो मार्ने वाला छैन् । गल्फ, मलेसिया जान्छु भन्नु मात्र पर्छ एक दुईलाख तुरून्त गाउँमै निस्कन्छ । मित्र राष्ट्र भारत जान खोज्नेहरूका लागी पनि बिस तिस हजारको समस्या पर्दैन । ठुला देशको भोलुम त्यहि अनुसार ठुलै हुन्छ । यति भएपछि प्रवास नभासिएर देश भित्र युवाहरू कसरी अडिन सक्छन ।
गरिबका जेहन्दार बच्चाले नेपाल भित्रकै कलेजबाट उच्च शिक्षा अध्ययन गर्नका लागी ऋण माग्नु भनेको साहुका अघि अस्तित्व गिराउनु मात्र हो । दिने वाला कोहि हुँदैन । विदेश जान्छु भन्यो भने तुरून्त दिन्छन । उच्च घरानिया युवाहरूलाई विदेशी कलेजमा अध्ययनका लागी बैंकहरूले फटाफट ऋण दिन्छन । यो सुविधाबाट विपन्न तथा निम्न मध्यम वर्गिय परिवारका युवाहरू बञ्चित छन् । किन भने उनिहरूका अभिभावकहरू सँग बैंकहरूले तेर्स्याउने सर्तहरू पुरा गर्न सक्ने क्षमता हुँदैन ।
सँगैका साथीहरूको बच्चाहरू राम्रो कलेजमा पढ्ने, राम्रो लुगा लगाउने, मिठो खाने, ब्राण्डेड स्मार्ट फोन बोकी मोटर साईकल चढेर हुँईकिने । ति सब सुविधा बाट आफ्ना सन्तानहरू बन्चित हुनु पर्ने । यस्तो अवस्थामा कुन चाहिं अभिभावकको मन खिन्न हुँदैन होला । नव उदारवादले सृजना गरेको यो प्रतिस्पर्धात्मक जिवन चलाउनका लागी पनि युवाहरू प्रवास पलायन हुन विवश छन ।
हामी सजिलै गफ दिन्छौँ अब विदेश पलायन हुने ट्रेण्ड लाई रोक्नु पर्छ । कुरो सुन्दा मिठो पनि लाग्छ । स्वदेशमै केहि गरौँ । तर गर्ने कसरी ? केहि गर्नका लागि धेरथोरै पुँजीको आवश्कता त पर्छ नै, त्यो पुँजी कहाँबाट जम्मा गर्ने । आज युवाहरू विदेश पलायन हुनुको मुख्य कारण यहि हो ।
स्वदेशमै श्रम गरी आफ्नो र परिवारको आवश्यकता पुर्ति गर्न सकिने वातावरण भए घर परिवारबाट टाढा रही विरानो भुमीमा रगत र पसिना बगाउने रहर कस्लाई पो हुन्छ र, आफ्नो गाउँ, आफ्नो ठाउँ, आफ्नो परिवार, साथी भाई, आफ्नो भाषा संस्कृती, चाड वाड सबैलाई प्यारो हुन्छ । भाग्यले ठगे पछि, सरकारले दुःखमा नहेरे पछि आफ्नो र परिवारका लागी गाँस बास र कपासको बन्दो बस्त गर्न देश विदेश चाहार्नु पर्ने अवस्था आउने रहेछ ।
यो एउटा आकर्षक विषय थियो र आज पनि रहेको छ । पञ्चायत विरूद्धको आन्दोलनमा युवाहरूलाई राजनीतिक पार्टीहरूले संघर्षको मैदानमा उतार्नका लागि यो मुद्दाको भरपुर उपयोग गरे । आज पनि हरेक चुनावमा सत्ता चुम्ने एक हतियारको रूपमा यो मसला उपयोग गर्ने गरिन्छ । सत्ता प्राप्ति पछि भने कुनै पनि राजनीतिक पार्टीहरूले यो विषयलाई गम्भिर ढङ्गले सम्बोधन गर्ने उत्सुकता देखाउँदैनन् । वर्तमान राजनीतिक पार्टीहरू भित्र रहेको यो प्रवृती अत्यन्त निराशाजनक तथा खेद जनक छ।
विश्व ईतिहासलाई हेर्ने हो भने पनि जुन जुन राष्ट्रहरूले श्रोत, साधन र जन शक्तिको भरपुर उपयोग गरे तिनै राष्ट्रहरूले आर्थिक विकासमा छलाङ्ग मारे जसले गर्न सकेनन् उनीहरू पछि परे । बजार कब्जा र व्यावस्थापन त्यस पछिको दोस्रो अध्याय हो ।
विकासको रफ्तारलाई समात्न तथा अरू गति दिन श्रोत साधन सम्पन्न राष्ट्रहरू प्रवासी जनशक्ति हायर गर्छन । त्यो उनीहरूको उदारता भन्दा पनि आवश्कता हो । विकसित राष्ट्रहरू प्रवासी श्रमिकहरूको श्रमलाई उपयोग गर्दै एक पछि अर्को प्रगतीको सिँढी चढ्दैँछन । यो ईतिहासलाई राम्रोसँग अध्ययन गरी यो प्रतिस्पर्धाको युगमा दुरगामी सोचका साथ पाईला चाल्न र अगाडी बढ्न सकिएन भने हाम्रो देश नेपाल सँधै सम्पन्न राष्ट्रहरूका लागि आवश्यक पर्ने जनशक्ति आपुर्तिको श्रोत बनिरहने छ ।
के हामी सँधै श्रम बेचेर आउने रेमिट्यान्समा रमाउने, आत्मनिर्भर बनी स्वाभिमानको जिन्दगी जिउने बाटोमा लाग्ने कि नलाग्ने ? यी प्रश्नहरूलाई राज्यले गर्ने संबोधनले पनि हाम्रो र आउने पिढींको भविष्य निर्धारण गर्नेछ । युवा पलायन एक बाध्यता हो, रहर होईन भन्ने कुरा राज्यले बुझ्नु पर्दछ । यो समस्याको स्थाई समाधान खोज्नु ढिलाई गर्नु हुँदैन् । आवश्यक श्रोत र साधनको व्यावस्था गरी युवाहरूलाई स्वदेश भित्रै आत्मनिर्भर हुने वातावरण निर्माण गर्न नसकेसम्म देश न समाजवादको पथमा लम्कन सक्नेछ, न देशमा कहिल्यै समृद्धी आउनेछ ।
प्रतिक्रिया