काठमाडौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज सोमबार असोज २२ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।
सीडीएसका अनुसार यसमा आइतबार असोज २१ गते साँझ ५ बजेसम्ममा २ लाख ६१ हजार ६१८ जना सेयरधनीले २ करोड ९१ लाख ५६ हजार ७७४ कित्ता हकप्रद सेयरमा आवेदन दिएका छन् । यसर्थ, अझै ७ करोड ६७ लाख ४३ हजार २२६ कित्ता हकप्रद सेयरमा आवेदन पर्न बाँकी रहेको छ ।
अपर तामाकोशीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरमा साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् ।
यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् । यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो ।
अपर हकप्रद सेयरमा समय थपेर आजसम्म कायम गरेको हो । थपिएको समय पनि अब आजबाट सकिंदैछ ।
प्रतिक्रिया