ताजा अपडेट »

नोवल कोरोना संक्रमण : क्‍वारेन्टाइनमा राख्‍न ठाउँ खोजिँदै

आइतबार, १९ माघ २०७६, ०८ : १७
28 Shares
आइतबार, १९ माघ २०७६
28 Shares

माघ १९,

काठमाडौँ । नोवल कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूभागबाट स्वदेश फिराइनेहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्‍वारेन्टाइनमा राखिने भएको छ । ‘चीनबाट आउनेलाई राख्न क्वारेन्टाइनका लागि ठाउँको खोजी भइरहेको छ । सम्भावित स्थलको पहिचान गरिरहेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले शनिबार भने । चीनबाट आफ्ना नागरिकहरूलाई फर्काएका सबै मुलुकले अरू व्यक्तिसँग सम्पर्कमा आउन नपाउने गरी छुट्टै ठाउँ विशेष क्वारेन्टाइनमा राखेका छन् ।

चीनले नेपाल सरकारबाट १५ दिनसम्मको आइसोलेसन सुविधा पाउने सुनिश्चित भए मात्र आफ्नो मुलुकमा रहेका नेपालीलाई फर्काउन अनुमति दिनेछ । आइसोलेसनमा राख्दा हरेक व्यक्तिको केही निश्चित समय अवधिसम्मको शरीरको तापक्रम हेरेर ज्वरो देखिए छुट्टै राखी उपचार गराउने तयारी सरकारको छ । इबोलाको प्रकोप फैलिएका मुलुकहरूबाट फर्किएका सैनिकलाई यसअघि शिवपुरी ब्यारेकमा क्वारेन्टाइनमा राखिएको स्मरण गर्दै त्यो ठाउँलाई समेत मन्त्रालयले एउटा सम्भावित स्थलका रूपमा पहिचान गरेको प्रवक्ता श्रेष्ठले बताए । सुरक्षा निकायका विभिन्न स्थललाई समेत क्वारेन्टाइन पोस्टमा परिणत गर्न सकिने गरी ठाउँको खोजी भइरहेको छ । राजधानी नजिकको सशस्त्र प्रहरीको ककनी र मातातीर्थ तालिम केन्द्र तथा सेनाको पाँचखालस्थित यूएन ट्रेनिङ सेन्टरलाई सम्भावित ठाउँका रूपमा हेरिएको जानकारी श्रेष्ठले दिए ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, नगरकोट जाने बाटोमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्र र कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रलाई समेत क्वारेन्टाइन स्थलमा प्रयोग गर्न सकिने ठाउँका रूपमा पहिचान गरिएको छ । हाल टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको पहिलो तलामा ४० जनालाई क्वारेन्टाइनजस्तो चिकित्सा सुविधा दिएर राख्न सकिने व्यवस्था छ । ‘हामीले एउटा पूरै वार्डका बिरामीहरू सारेर त्यो स्थललाई चिकित्सकीय सुविधासहितको क्वारेन्टाइन स्थलमा परिणत गरेका छौं,’ टेकु अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भने । उक्त क्वारेन्टाइन वार्डमा एक मिटरको फरकमा शय्या राखिएको छ । अस्पतालमा ६ शय्याको आइसोलेसन वार्डसँगै तीन शय्याको भेन्टिलेटरसहितको आईसीयू छ ।

एक सातामा दुई सय शय्याको अस्थायी स्वास्थ्य केन्द्र सम्भव छ ?

राजनीतिक प्रतिबद्घता भए मुलुकमा एक सातामै प्रि–फ्याबको दुई सय शय्याको स्वास्थ्य केन्द्र निर्माण गर्न सम्भव रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन् । ‘राजनीतिक प्रतिबद्घता सबभन्दा ठूलो कुरा हो । सरकारले चाहेमा एक सातामा प्रि–फ्याबको दुई सय बेडको क्वारेन्टाइन जस्तो स्वास्थ्य केन्द्र निर्माण गर्न सकिन्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘हामीले विगतमा आइसोलेसन सुविधासहितको छुट्टै स्वास्थ्य केन्द्र निर्माण गर्न सकेको भए अहिले चीनबाट फर्काउने नेपालीलाई कहाँ राख्ने भन्ने समस्या हुने थिएन ।’ छुट्टै आइसोलेसनसहित करिब दुई सय जनालाई फर्काउँदा २० वटा भेन्टिलेटर (कृत्रिम श्वासप्रश्वास यन्त्र) को सुविधासमेत चाहिन सक्ने उनले औंल्याए ।

संक्रमितमध्ये करिब १० प्रतिशतलाई भेन्टिलेटरको आवश्यकता पर्ने आकलनसहित २० वटा भेन्टिलेटरको सुविधा चाहिन सक्ने गरी तयारी गर्नुपर्ने डा. ठाकुर बताउँछन् । ईडीसीडीका अर्का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले सरकारले चाहे एक सातामै प्रि–फ्याबको स्वास्थ्य संरचना बनाउन सम्भव भए पनि १० लाख रुपैयाँभन्दा बढीको निर्माण गर्न सार्वजनिक सूचना जारी गरी अनिवार्य रूपमा टेन्डर गर्नुपर्ने कानुनी व्यवस्था बाधक हुन सक्ने बताउँछन् । आकस्मिक अवस्थामा सरकारले कुनै सरकारी निकायलाई सोझै खरिद, निर्माण आदिको अधिकार दिनुपर्ने र त्यसले तत्काल राष्ट्रिय हितमा निर्णय लिँदा भविष्यमा अख्तियार र सार्वजनिक लेखा समितिबाट छानबिन हुन सक्ने सम्भावित डरत्रास नहुने कुरा सुनिश्चित गरिनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गरेर ल्याएपछि निगरानी र आवश्यक परीक्षणको व्यवस्था गर्न निर्देशन दिएका छन् । बालुवाटारमा शनिबार साँझ रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बोलाई यस्तो निर्देशन दिएका हुन् । कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गरी सरकारले ल्याउने तयारी गरिरहेको छ । नेपाल भित्रिएपछि उनीहरूलाई ‘आइसोलेसन’ मा राख्ने व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिए ।-कान्तिपुर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।