ताजा अपडेट »

'क्रान्ति संङ्ग्राहलय' बनाउने भनिएको संक्राम ब्यारेक बजेट अभावले अलपत्र

बुधबार, १७ असोज २०८०, १२ : २४
56 Shares
बुधबार, १७ असोज २०८०
56 Shares

दाङ । आर्थिक वर्ष २०७६/७७ मा तुलसीपुर उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै तुलसीपुर-१९ संक्राममा रहेको सक्राम ब्यारेकलाई 'क्रान्ति सङ्ग्रहालय' बनाउने योजना अघि सारिएको थियो । पूर्व माओवादी लडाकुहरू बसेको ब्यारेक खण्डहर बन्दै गएको अवस्थामा उपमहानगरको यो नीतिले स्थानीय पनि खुशी थिए । राज्यको करोडौँ लगानी रहेको ठाउँमा उपमहानगरले अपनत्व लिन लागेको भन्दै खुशी भएका स्थानीहरू त्यो नीति अहिलेसम्म कागजमा मात्रै सीमित हुँदा दुःखी भएका छन् ।

स्थानीय भिभिषण रोकामगर ब्यारेकको अहिले यस्तो अवस्था हुनुमा राज्यले समयमा ध्यान दिन नसक्दा भएको बताए । राज्यले सेना समायोजनपछि यसलाई कुनै पनि कोणबाट सदुपयोग गर्न नसेकेको उनको गुनासो रहेको छ । उनले भने,‘ न यसको विकास भएको छ । न यसको सदुपयोग भएको छ । २०६८ देखि ७५ सम्म भौतिक संरचनाको लागि शसस्त्र प्रहरी बसेको थियो । तर, प्रहरी पनि यहाँबाट गयो । त्यसले उपमहानगरलाई दिएको थियो । उपमहानगरले वडालाई वडाले स्थानीयलाई संरक्षणको लागि जिम्मा दियो ।’

स्थानीयहरूले आफै यसको संरक्षण गर्दै आइरहेको अवस्थामा सरकारले यसको लागि कुनै सहयोग नगरेको उनको भनाइ छ । उनका अनुसार यहाँका धेरै संरचनाहरू भत्किएका र केही संरचनाका सामग्रीहरू चोरी भएपछि स्थानीयहरूले दिनरातको समय हेर्दै आइरहेको अवस्था केही वर्षदेखि उपमहानगरले एक जनालाई हेरालुको व्यवस्था गरेको र त्यो बाहेक अरु केही भएको छैन । उनले भने,‘ माओवादीको पटक पटक संघ र प्रदेशमा सरकार बनेको हुन्छ । तर, यसको विकास गरेर इतिहास जोगाऔँ, भन्ने कहिँले पनि ध्यान गएन । त्यसैले इच्छा शक्ति नभएको भन्ने हामीहरूलाई महसुस हुन्छ । हामीहरूले नेता तथा मन्त्रीहरूलाई यसको बारेमा डीपीआर समेत बुझाएका छौँ । तर, अहिलेसम्म कसैले ध्यान दिएनन् ।’

यसको संरक्षण र विकास गरेर क्रान्ति सङ्ग्रहालय बनोस्, भन्ने आफूहरूको चाहना भएको समेत उनले बताए । यो क्रान्ति सङ्ग्रहालय बनेको खण्डका पर्यटकीय स्थल बन्ने र यसको विकास पनि हुने उनको भनाइ छ । माओवादी सेनाहरू नबस्दा यो ठाउँ सबै कुराबाट पछाडि रहेको भन्दै सेना बसेपछि सडक, विद्युत, खानेपानी लगायत यहाँको चहलपहल निकै हुने गरेको भएयता पनि अहिले सुनसान रहेको उनले बताए ।यस्तै अर्का स्थानीय कुल बहादुर केसीले ब्यारेकको अहिलेको अवस्था देख्दा साह्रै मन दुख्ने बताए । उनले राज्य अभिभावक भएयता पनि ब्यारेक पछिल्लो समय खण्डहर बन्दै गइरहेको भन्दै आफूहरूलाई अभिभावक नभएको महसुस भएको समेत बताए ।

उनले भने,‘ हामीहरूलाई अरु केही चाहिएको होइन् । यसको विकास र संरक्षण गरेर पहिलाको जस्तै चहलपहल होस्, भन्ने हो । यहाँ रैनाहरू बसेको समयमा स्थानीयहरू उत्पादन गरेका बस्तुहरू बिक्री हुँदा सबैलाई राम्रो भएको थियो । अहिले गाउँ नै सुनसान छ ।’उनका अनुसार राज्यले यसलाई कि क्रान्ति सङ्ग्रहालयको रुपमा छिट्टो भन्दा छिट्टो विकास गर्नु पर्छ , होइन, भने यी सबै संरचनाहरू हटाउनु पर्छ । राज्यको करोडौँ लगानी रहेको संरचनाहरू दिनप्रतिदिन जीर्ण हुँदै गएको हामी हेर्न सक्दैनौँ ।

गाउँलेको सहयोगमा संरचना निर्माण

क्रान्ति सङ्ग्रहालयका अध्यक्ष देवराज वलीले राज्यले हेर्नु पर्ने दायित्व भएयता पनि अहिलेसम्म नहेरेको बताए । उनले भने,‘ हामी गाउँलेहरूले एक र दुई सय पैसा उठाएर, यहाँको घाँस बिक्री गरेर अहिलेसम्म मर्मत सम्भार गर्दै आएका छौँ । स्थानीय सरकारले एक जना हेरालुको ब्यवस्था गरेको छ । ’ उनका अनुसार तत्कालीन समयमा माओवादी सेनाहरूलाई यहाँ बस्नको लागि व्यवस्थापन गर्दा यहाँ सडक, विद्युत, पानी लगायतको समस्या रहेको थियो । सेनाहरू बस्न लागेपछि यहाँ सबै कुराको सहज भएको थियो । पानीको समस्याले गर्दा हाम्रो बाउँ आमा एक गाग्री पानी ले घन्टौँ जानु पर्ने बाध्यता थियो । ब्यारेकको स्थापनासँग गाउँमा धाराको पानी आएको हो ।’

सेना समायोजन भएपछि केही वर्ष शसस्त्र प्रहरी बसेको र त्यो पनि यहाँबाट गएपछि यहाँका संरचनाहरू दिनप्रतिदिन चोरी हुँदै गएको र केही भत्किदै गएको भन्दै यसका लागि प्रदेश सरकार, संघीय मन्त्री तथा माओवादीका नेताहरूलाई समेत विकास र संरक्षणको लागि ज्ञापन पत्र, डीपीआर बुझाएको र कसैले चासो नदिएको उनले बताए । उनले भने,‘ यहाँबाट सेनाहरू गएपछि यो ठाउँलाई क्रान्ति सङ्ग्रहालय बनाउनु पर्छ, भन्ने नै हामीहरू लागेका थियौँ । जनयुद्ध एउटा पार्टीको मात्र नभइ देशमा परिवर्तन ल्याउने इतिहास भएको हुँदा यहाँ जनयुद्धको मात्र नभइ २००७ सालदेखि देशमा भएका क्रान्तिको बारेमा राखेर इतिहास बचाउन खोजेका हौँ ।’

यसलाई क्रान्ति सङ्ग्रहालय बनाएर पर्यटकीय रुपमा विकास गर्न सकेमा यहाँको विकाससँगै आर्थिक समृद्धिमा पनि टेवा पुग्नेमा आफूहरूको विश्वास रहेको उनको भनाइ छ । अहिलेसम्म सरकारले यसको लागि चासो नदेखाउँदा आफूहरू निराश भएको समेत उनले बताए । ब्यारेकको स्थापना गर्ने बेला स्थानीयहरूलाई यहाँको आर्थिक समृद्धिको देखाएर गरेको भएयता पनि अहिलेसम्म चासो नदिनुमा राज्यको कमजोरी भएको उनको भनाइ छ । त्यसमा पनि माओवादी नेताहरूले चासो नदिएको भन्दै उनले गुनासो गरे ।

करिब दुईहजार बढि सेना बसेको ब्यारेकमा एक सय भन्दा बढि संरचनाहरू रहेकोमा अहिले करिब ६५ वटा जति रहेको उनको भनाइ छ । २०६४ देखि २०६८ सम्म गरी ४ वर्ष सम्म माओवादी सेनाहरू बसेका थिए । समायोजन तथा स्वेच्छिक अवकाश पछि जवान आवास, कार्यालय कक्ष, स्नानगृह, भान्सा घर, शौचालय, खेलमैदान तथा युद्धअभ्यास गर्ने सुविधा समेत ब्यारेक रहेको छ ।

हाम्रो बजेटले भ्याउँदैन : नगरप्रमुख खड्का

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सक्राम ब्यारेकलाई सङ्ग्रहालय बनाउने योजना उपमहानगरको भएयता पनि बजेट धेरै लाग्ने भएकाले उपमहानगरले मात्र नसक्ने बताए । उनले आफूहरूको योजनालाई संघ र प्रदेश सरकारले बजेटमा सहयोग दिए मात्र पुरा हुने समेत बताए । संक्राम युद्धको समयमा पनि युद्धको केन्द्रबिन्दु रोल्पा, रुकुम जाने महत्वपूर्ण सुरक्षित ठाउँ भएको भन्दै उनले यसलाई सङ्ग्रहालय को रुपमा विकास गर्न सकेमा दुनियाँले यहाँ आएर, लेख्न, पढ्न अवसर प्राप्त गर्ने समेत बताए ।

सक्राम इतिहासमा पनि जोडिएको ठाउँ भएको समेत उनले बताए । उनका अनुसार १८ औँ शताब्दीमा राजा मेघनाथ शाहले राज्य कब्जा गर्दा युद्ध जितेको ठाउँ संक्राम हो । पछि माओवादीका सेनाहरू व्यवस्थापन गर्न बसेको ठाउँ पनि हो । अहिले यहाँ भएका संरचनाहरूलाई संरक्षण गर्दै त्यसलाई इतिहाससँग जोड्न उपमहानगरले चाहेको समेत उनले बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी