काठमाडौ । सेयर बजार फेरि १९ सयकै लाइनमा झरेको छ । आइतबार नेप्से सूचक ३३.२० विन्दुले घटेर १९७१.२० अंकमा आएको हो । १ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेयर बजार सुधारका लागि नीतिगत व्यवस्था परिमार्जन हुने अपेक्षामा लगानीकर्ता बसिरहेका छन् । तर सरकार तथा केन्द्रीय बैंकबाट अहिलेसम्म सुधारको निर्णय भएको छैन । सोही कारण बजारले नकारात्मक प्रतिक्रिया जनाइरहेको अनुमान गरिएको छ ।
ब्याजदर महँगो छ । नीतिगत अवरोध जारी छ । यही कारण बजारले गति लिन नसकेको हो । सेयर बजार सुधारका लागि लगानीकर्ताको मनोबल उच्च हुन जरुरी छ । तर अहिले कठोर नीतिका कारण लगानीकर्ताको मनोबल गिरेको अवस्था छ ।
विशेषगरी सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा राष्ट्र बैंकले लिन सक्ने निर्णयका बारेमा विभिन्न आँकलनहरु भइरहेका छन् । सोही आधारमा बजारले पनि प्रतिक्रियाहरु जनाइरहेको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जामा १२ करोडको क्याप संशोधन र १५० प्रतिशतको जोखिम भार घटाउने सम्बन्ध निर्णय गर्न विलम्ब हुँदा लगानीकर्ता निराश भएका हुन् ।
१२ करोडको क्याप हटेमा वा संशोधन भएमा यसबाट बजारमा सकारात्मक बनोविज्ञान देखिने अनुमान छ । १२ करोडको क्याप भन्दा पनि ठूलो विषय भनेको १५० प्रतिशतको जोखिम भार हो । बजार सुधारका लागि यो जोखिम भार १०० प्रतिशतमा ल्याउनैपर्ने जानकारहरु बताउँछन् । यसो भएमा मात्र बजार दिगो सुधारतर्फ अघि बढ्न सक्नेछ ।
यस दिन २८४ कम्पनीको ६७ लाख २३ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः एनआइसी एसिया बैंक र सन नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।
प्रतिक्रिया