काठमाडौं । नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा भारतसँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको छ । दशरथ रंगशालामा भएको खेल निर्धारित समय १-१ को बराबरीमा सकेपछि खेल टाइ ब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले हराउँदै फाइनलमा स्थान पक्का गराएको हो ।
टाइब्रेकरमा नेपालका अश्विन घोरासैनी र कुशल देउवाले गोल गरेका थिए । तर प्रशान्त लक्ननले प्रहार गरेको फितलो बल भारतीय गोल रक्षकले बचाए । नेपालका लक्षु थापाले प्रहार गरेको गोल भारतीय गोल रक्षकले बचाएपछि नेपालको जित कठिन बनेको थियो । नेपालका विक्रम तामाङले प्रहार गरेको बल आकासिएको थियो ।
भारतको जितमा अर्जुन सिंह, गोगोम्सर गोयरी र मागिलेतम किपगेमले गोल गरे । भारतीय दीनेश सिंहको गोल नेपाली गोल रक्षक ग्यारेथले रोकेका थिए । भारतीय रिक्की मितेयीको प्रहार बारमा लाग्दै बाहिरिएको थियो ।
भारतले खेलमा २६ औं मिनेटमा गोल गरेको थियो । मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्स लाइनले क्लियर गर्न नसकेपछि बल बक्समा नै खसेको थियो । त्यस समय साहिल खुर्सिदले नेपाली गोलरक्षक जियारथ शेखभन्दा पछाडि जालीमा बललाई पुर्याएका थिए ।
३२ औं मिनेटमा कुशल देउवाको प्रहार सिधै भारतीय गोलरक्षकको हातमा पुगेको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपालले एक राम्रो अवसर पाएको थियो । तर कुशल देउवाको कर्नर समिर तामाङको हेडर फष्टबारबाट बाहिरन पुगेको थियो ।
तर दोस्रो हाफको दोस्रो मिनेटमा नै नेपालले सुन्दर अवसर खेरा फालेको थियो । प्रशान्त लक्समको थ्रु(पासमा निराजन धामीको प्रयास पोस्टमा लागेर बाहिरिएको थियो।
७४औं मिनेटमा नेपालले खेलमा बराबरी गरेको थियो । दीपक थापा मगरको क्रसमा समिर तामाङले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेल बराबरीमा आएपछि भारतले नेपाली डिफेन्समाथि दबाब सृजना गरिरहेको थियो। तर नेपालले भारतको आक्रमणलाई विफल पार्यो। निर्धारित ९० मिनेटको समय १-१ भएपछि खेल पेनाल्टी सुटआउट धकेलिएको थियो।
उपाधिको लागि शनिबार पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा भुटानलाई सडेन डेथमा ६-५ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
प्रतिक्रिया