जल्पा । प्लाष्टिक टनेलभित्र टमाटर फलेर रात्तै भएका छन् । हेर्दै रहर लाग्दा ! किसानले मन बुझाउने बाटो बनेको छ टमाटर खेती । यतिबेला टमाटर फल्ने मौसम त होइन । मौसम बेगरको उत्पादनलाई बेमौसमी उत्पादन भनिन्छ । यसले आधुनिक कृषि प्रणालीमा परिवर्तन भएको आभाष हुन्छ ।
पाल्पा, तानसेनदेखि ३७ किलोमिटर दक्षिणपूर्वमा रहेको जल्पा गाउँका माथिल्ला भेगमा मगरबस्तीको बाहुल्यता छ । जल्पाको तल्ला भेग राक्से, छाब्दी, दद्रा, बर्मुमा खेतीयोग्य उर्वरभूमि भएकाले धान र सुन्तला जातका फलफूल उत्पादन बढी हुने गर्दछन् ।
ढोलीमारा, माथिल्लो झेरुदी, वापान, तल्लो झेरुदी, मैदान , साकिने, खान्तुङखोला साठीकोल , आर्गिडाँडा लगायतका गाउँहरुमा मकै र कोदो खेती हुन्छन् । तर ती उत्पादनले तीन महिना खान पुग्दैन । पहिलापहिला पर्वहरु मनाउन, घर खर्च चलाउन, धौधौ पर्थ्यो कि वैदेशिक रोजगारीमा जानेको कमाइ कुर्नुपर्थ्यो । त्यो पनि नहुनेले कि उधारो माग्नु पर्ने कि सापटी पैसा खोजेर घरव्यवहार चलाउनु पर्ने बाध्यता धेरै जसोमा थियो । अझैपनि त्यो समस्या नभएको भने होइन ।
सीप र जाँगर हुनेलाई कुनै बहानाले छेक्दैन । गाउँघरतिर करीव एक दशक अघिदेखि नै थोरैथोरै मात्रामा प्लाष्टिक टनेलबाट खेती गर्थे । हिजोआज गाउँपालिका कृषि शाखाले सहयोग गरेको पाइन्छ । जल्पाको ढोलीमारामा मात्र १०० भन्दा धेरै प्लाष्टिक टनेलमा खेती हुँदै आइरहेको छ । वडाभरिमा दुई सय पचास प्लाष्टिक टनेल रहेका छन् । १८ वटा फलामको पक्की टनेल रहेको छ । फलामे टनेल निर्माणको लागि कृषि ज्ञान केन्द्र, पाल्पा र गाउँपालिका कृषि शाखाले ५०% प्रतिशत अनुदानमा सहयोग गरेको शुभसन्देश महिला कृषि सहकारीकी अध्यक्ष चन्द्रीसरा रखालले बताइन् । त्यस्तै गरि सेफ्टि नेट, प्लाष्टिक,बिऊबीजन, जैविक मल र प्राविधिक सहयोग गरेको पूर्वखोला कृषि शाखा प्रमुख सन्तोष कंडेलले जानकारी गराए ।
यस भेगमा winsari जातको टमाटर लगाउने चलन छ । असारको पहिलो हप्ता ब्याडबाट टनेलमा सार्ने गरिन्छ । असोजको पहिलो हप्तादेखि बेच्नको लागि तयार हुने गर्छ । स्याहारसुसार, मलजल, सानो बच्चा हुर्काउनजस्तै मिहिनेत गर्नपर्ने गाउँका अगुवा कृषक भुवन सिं बारघरेले सुनाए ।
कृषकका कम्तिमा एउटादेखि ४/५ वटासम्म टनेल छन् । त्यहाँबाट उत्पादित टमाटर प्रायः संकलन केन्द्रमा जम्मा गरेर आर्यभञ्ज्याङ्ग बजारबाट बुटवलको हाटबजारसम्म पुर्याउने गरिन्छ । यो मौसममा हप्ताको १० देखि २० क्वीन्टल टमाटर जल्पादेखि नजिकका बजारहरुमा पुग्ने गर्दछन् । आम्दानी राम्रै भएका छन् ।
गाउँमा टमाटर बाहेक अक्बरे खुर्सानी, तीते करेला, लोकल काँक्रा, फर्सी जस्ता तरकारीले पनि धेरै/थोरै मूल्य पाएकै छन् । कृषकको लगानी र मिहिनेत अनुसार भने सन्तोषजनक मूल्य प्राप्त हुन नसकेको तरकारी संकलक डोलबहादुर घर्ति बताउँछन् । उनले भने–बजार भाउ घटबढ हुन्छ । यसले किसानलाई मर्का पर्दोरहेछ ।
असोज महिनादेखि टिप्न शुरु गरेको टमाटर चिसो ठाउँमा मलजल, स्याहार पाउँदा माघ महिनासम्म टिप्न सकिन्छ । रोग लागेन र राम्रो स्याहार पायो भने एउटा टनेलबाट तीनदेखि चार क्वीन्टल टमाटर सजिलै उत्पादन हुन सक्छ ।
बेमौसी तरकारी खेतीको आम्दानीबाट गाउँलेहरुले घरखर्च धानेका छन् । औषधोपचार गरेका छन् । सन्तानलाई शिक्षादीक्षा दिएका छन् । लत्ताकपडा किनेका छन् । स्वरोजारी भएका छन् ।
प्रतिक्रिया