सुशासन, समृद्धि र भ्रष्टाचार निवारण सबैको टारगेट हो।तर वर्तमानमा त्यो टारगेट भ्रष्टाचारी जुकाहरू बाट अवरूद्ध छ।सुशासन, समृद्धि र सबै क्षेत्रको भ्रष्टाचार नियन्त्रण संविधानमा लिपिबद्ध छ।तापनि जुन अनुपातमा सुशासन र समृद्धिको कुरो उठाइन्छ त्यो भन्दा धेरै गुना अनुपातमा भ्रष्टाचार हुने गर्दछ।
भ्रष्टाचारको गति ननस्टप छ।क्षेत्र वृहत्तर छ।कनेक्शन माकुरोको जालो जस्तै छ।फेद र टुप्पो पत्ता लगाउन कठिन अनुसन्धान आवश्यक हुन्छ।तर अनुसन्धान टुप्पो सम्म पुग्दा नपुग्दै मार्ग खण्डित गराइन्छ।डाइवर्ट र ब्रेकडाउनको गेम शुरू हुन्छ।
नक्कली भुटानी शरणार्थी प्रकरणको गहिराइ सम्म अनुसन्धानरत एआईजी र एसएसपी द्वयको सरूवा लगाएत उक्त प्रकरणमा आरोपितहरू लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने जिल्ला अदालत काठमाण्डूका न्यायाधीशको सरूवाले प्रकरण लाई डाइवर्ट र ब्रेकडाउन गर्ने गेमको पुष्टि गर्दछ।
भ्रष्टाचार न्यूनीकरण मात्र होईन् निर्मूलको गर्जन धेरै पटक धेरै सरकार प्रमुखहरू बाट नभएको होईन्।त्यो गर्जन निरन्तर छ तैपनि वर्तमानमा भ्रष्टाचार सङ्गठित हुदै संस्थागतको अवस्थामा पुगिसक्यो।यस्तो किन र कसरी ? सबैमा जिज्ञासा छ।जब भ्रष्टाचार ग्रासरूट तल्लोतह बाट प्रारम्भ हुन्छ त्यो स्थाईरूपमा माथी सम्म कनेक्टेड हुन निकै कठिन हुन्छ।त्यसैले माथीको दबाब बाट त्यो निवारण हुन्छ।तर जब भ्रष्टाचार टुप्पो बाट पलाउदछ ।
त्यो सिधै तल्लो तह सम्म पुग्दछ र ( जडो गाडिन्छ ) डीप रूटेड हुन्छ।त्यसको कनेक्टिविटी र नेटवर्क ( सञ्जाल ) अत्यन्त दह्रो, फराकिलो, गहिरो र संवेदनशील हुन्छ।त्यसलाई तोड्नु फलामको चिउरा चपाउनु जस्तै हुन्छ। भ्रष्टाचारको यही अवस्था वर्तमानमा हाम्रो देशमा विद्यमान छ।
विश्वका धेरै भन्दा धेरै देशहरू र अन्तर्राष्ट्रीय संगठनहरूले माथिल्लो तहमा हुने पद र शक्तिको दुरूपयोग लाई सुशासनको मुख्य समस्या ठहर गरेका छन्।जहाँ सुशासनमा अड्को हुन्छ त्यहाँ माफियाहरू, बिचौलियाहरू र ऐन कानूनको छिद्र र कमजोरीहरू थाहा भएका र त्यसैमा टेकेर किर्ते गर्न सक्ने कर्मचारीहरू सलबलाउन थाल्दछन्।तिनीहरूको चासनीमा राजनीति र सत्तामा ओवर कन्फिडेन्स भएका नेताहरू लटपटिन्छन ।फलतः भूमिगत शैलीमा सुनियोजित सङ्गठित भ्रष्टाचार चुलिन्छ। र संस्थागत हुदै भ्रष्टाचारवाद स्थापित हुन्छ । वर्तमानमा हाम्रो दशा यस्तै छ।
व्यक्तिगत लाभ बाट अभिप्रेरित सार्वजनिक पदको दुरूपयोग नै भ्रष्टाचार हो।राजनीतिमा हुने भ्रष्टाचार र त्यसको संरक्षणनै भ्रष्टाचारवाद हो।हामी संग भ्रष्टाचारको लामो फेहरिस्त छ।शिर्ष नेताहरूले बारम्बार भ्रष्टाचार निवारणको कमिटमेन्ट गरेतापनि तिनीहरू त्यो अवस्थामा नरहेको छर्लङ्ग छ।किनकी तिनीहरू पनि कहीँ न कतै कनेक्टेड छन्।त्यसैले भ्रष्टाचार न न्यूनीकरण भयो न त निवारण नै भयो। भ्रष्टाचार न रोकिने नै हो त ? जिज्ञासु जनता जवाफ खोज्दै छन्।
दलहरू पावर गेममा ( Power Game ) लिप्त रहने हुदा सन्तुलन र भागबन्डाको कारण सुशासन, समृद्धि र भ्रष्टाचार निवारण लडखडाएको हो।सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणको मुख्य शक्ति जनता, नागरिक समाज र सञ्चार जगत नै हो।भ्रष्टाचार प्रकरण पर्दाफास हुदा केही दिन सम्म जनता, नागरिक समाज र सञ्चार जगत खहरे झै उर्लिन्छन् ।
तत्पश्चात् केही नभएको जस्तै शान्त हुन्छन्।वास्तवमा प्रकरणको टुङ्गो नलागे सम्म तिनीहरूले निरन्तर फलो अप गरिरहनु पर्दछ।प्रश्नहरू उठाइ रहनु पर्दछ ।तर त्यसो भइरहेको अवस्था छैन्।किनकी नागरिक समाज र सञ्चार जगत पनि विवादमा पर्ने गर्दछ।राजनीतिक रङमा रङिएको आरोप लाग्ने गर्दछ।त्यसैले भ्रष्टाचार निस्फिक्री उकालो लागि रहेकोछ।
प्रतिक्रिया