कविता लेख्न गाह्रो छ । तर, कवि बन्न सजिलो छ । संसारमा सबैभन्दा धेरै रचिने सायद कविता नै हो । जीवनमा एकपटक मानिस अवश्य कवि बनेको हुन्छ । जन्मजात मानिस कवि हुँदैन । अभ्यास, प्रयास अनि निरन्तरताको प्रतीक नै कविता हुन् । त्यही कविता जन्माउने मानिस कवि हुन् ।
कतिका कविता पढिदैन यहाँ ;
कतिका कविता सुनिदैन यहाँ ।
कतिका कविता बुझिदैन यहाँ ;
विनाकारण क्यै रचिदैन यहाँ ।
कविता मनको भाव हो । विचारको प्रवाह हो । पीडा, क्रन्दन, हाँसो, खुसीको बिम्ब नै कविता हो । कविले भनेझैं विनाकारण क्यै रचिदैन यहाँ भनेको सत्य हो । साहित्यका हरेक विधाका रचना साहित्यिक मनका उपज हुन् । धेरैले पढ्ने, लेख्ने, सुन्ने सायद कविता नै हो । तर, कतिपयका कविताहरु क्लिष्ट हुने भएकाले सर्वसाधारणले बुझ्नै कठिन हुन्छ । कविता नबुझिपछि भाव,विचार प्रवाह गर्न कठिन हुन्छ । सरल कविता लेख्न कठिन हुन्छ ।
यस्तै सरल र प्रभावकारी छन्दोवद्ध कविता लेख्ने पाका,पुराना कवि हुन्–गणेश आत्रेय । ‘छन्द लहरी कवितासंग्रह’को श्रीगणेश गरेका कवि गणेशले कविता सबैले बुझ्ने खालको हुनुपर्छ भनेरै होला छन्दमा पनि सरल र मिठा कविता लेखेका छन् । निवृत्त शिक्षक गणेश आत्रेयले साहित्यमा स्नातकोत्तर गरेका छन् । उनले गीज, गजल, भजन समेत लेखेका छन् तर छापिएका भने छैनन् ।
‘जीवन खासा’ शीर्षकको कवितामा आफ्नो भाव यसरी अभिव्यक्त गरेका छन् कविले–
चिन्तन हाम्रो कथा कहानी ;
स्वप्निल आशा बन्यो खरानी ।
रोदन हाँसो हुने निसानी ;
लाग्दछ खोटो छ जिन्दगानी ।
मानिसको जीवन पूर्ण हुन सकेको छैन । हरेक मानिसका जीवन खोटो छ । चाहेको हर कुरा प्राप्तिमा सम्भव छैन । मानिसले देखेका सुन्दर सपनाहरु कुरुपतामा अर्थात् खरानीमा परिणत भएर जाँदा जीवन केवल कथा कहानी बनेका त छन् नि ! हरेक खुसीको कल्पनामा डुबेको मान्छे यथार्थमा आफ्नो धरातल भेटाउँदा आफूलाई नै सम्हाल्न सक्दैन । जीवन खोटो सिक्काजस्तै हो ।
कवि गणेशले सबै किसिमका छन्दहरुमा आफ्ना कवि मन पोखेका छन् । भावनाहरु खन्याएका छन् । विचारहरु बाँडेका छन् । हृदय साटेका छन् । मृदु भाषामा जीवनका कथाहरु, देशका व्यथाहरु, मनका पीडाहरु सबैका सामू घोप्टाएका छन् ।
भन्छन् गणतन्त्री गर्छन् मनतन्त्री ;
नेता सब दम्भी अल्छी ठगतन्त्री ।
लुट्ने धन धम्की दिन्छन् भय–केस ;
राम्रो छ मलाई मेरै प्रिय देश ।
रक्त क्रान्तिको बीज नै गणतन्त्र हो । हजारौंको जीवन बलिदानी र लाखौंको त्याग, समपर्ण नै आजको लोकतान्त्रिक गणतन्त्रको न्यानो आगत हो । तर,नेपालीहरुले छोटो समयमा नै गणतन्त्रको सेवा भोग गर्न पाइरहेका छैनन् । मनपरितन्त्रमा नेता लागेको कुरा, घमण्डी भएका र धाक, धम्की दिने खालका व्यवहार भइरहेको कुराले कवि मन गणतन्त्रमा पनि खुसी हुन सकेको छैन । कविका मन दोषी हुन् कि नेताका व्यवहार ?
पाल्पा, मदनपोखरामा जन्मि, हुर्किएका गणेश आत्रेयलाई आफ्नै भूगोल, भाषा, भेष, परिवेशले रुपन्देहीको नयाँमील सरेर आएपनि उस्तै सताइरहेको कवितामा झल्किन्छ यसरी –
बहुल जाति छन् बहुल भाषिका ; फरक धर्मका प्रिय छ एकता ।
स्वजन झैं सबै सुखद आँकुरा ; रहर आस हो मदनपोखरा ।।
पढेलेखेका र कर्मशील मानिसहरुको थलो हो मदनपोखरा । विचारको बीऊ उमार्ने उर्वरभूमि हो मदनपोखरा । नेपाली बामपन्थी आन्दोलनको उजागर गर्ने र जनता जगाउने गाउँ हो मदनपोखरा । त्यहि भएर कवि गणेशले पनि आफ्नो पौरखमा बाँच्न सबैलाई अपील गर्दै लेखेका छन् यसरी –
सधैं गरेर चाकरी बनिन्न क्यै ;
सदैव आसमा बसी हुँदैन क्यै ।
सुधार पौरखी बनी विचारमा ;
नसाँच लालसा बढी दिमागमा ।।
मदनपोखराको मर्यादा र मान नै पौरखीको परिचय हो । कविले त्यही भएर दिमाखमा लालसा साँचेर होइन बरु आफ्नो विचारलाई पौखरी बनाइ राख्न सन्देश प्रवाह गरेका छन् ।
प्रतिक्रिया