माघ १७,
दाङ । महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१० मा अवस्थित खैरा माध्यमिक विद्यालयले सो पुष्टि गरेको हो । बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी सबै महिलाहरु छन्।
प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको प्रअको जिम्मेवारी सम्हालिरहेकी छिन् । विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको घुलमिल सबैमा पछिल्लो समय विद्यालय नमूना बनेको छ । “शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो, भने प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ ।” उनी भन्छिन्, “विद्यालयमा महिला प्रधानाध्यापक छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खै ? बोलाइदिनुहोस् न भन्छन् । अनि मै हो हेड सरभन्दा दङ्ग परेर हेर्ने गर्छन् ।” यस विद्यालयमा प्रअदेखि पियनसम्म सबै कर्मचारी महिला आएपछि गत वर्षदेखि ९ र १० कक्षाको पढाइ थप भएको छ । नयाँ भौतिक संरचना बन्ने क्रममा छन् । “हाल विद्यालयमा प्रअसहित १६ शिक्षिका, एक जना कर्मचारी, एक जना कार्यालय सहयोगी सबै महिला छौँ ।” उनले भनिन्, “विद्यार्थी धेरै अनुशासित छन् । एक पटक सिकायो भने ध्यान दिएर सुन्छन्, नबुझेको सोधीखोजी गर्छन् ।”
महिला शिक्षिका र कर्मचारी आएपछि कक्षा कोठा सबै शैक्षिक सामग्रीले भरिएका छन्, बालबालिका स्वतन्त्ररुपमा अध्ययन गर्न पाएका छन् । कहिलेकाहीँ कारणवश विद्यालयमा शिक्षक नआएर पनि कक्षा खाली हुन पाउँदैन । अर्को शिक्षिकाले कक्षा हेर्नुहुन्छ वा विद्यार्थी बाहिर चौरभरि छरिनुको सट्टा कक्षाकोठामा पुस्तक पढेर बस्ने गरेका छन् । विद्यालयमा खानेपानी, शौचालय, छात्रालाई सेनेटरी प्याड र त्यसलाई विषर्जन गर्ने सुविधा छ । सहायक प्रधानाध्यापक विमला अधिकारीले प्रअदेखि कर्मचारी, शिक्षक, कार्यालय सहयोगी सबै महिला भएकाले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार आएको दावि गरिन् । “सबै शिक्षकलाई कामको जिम्मेवारी छ । प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्यजस्ता विविध क्रियाकलापको जिम्मेवारी अनुसार सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ । ” उनले भनिन् ।
“हामीले एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राउनु पर्दैन ।” सहायक प्रअ अधिकारीले भनिन्, “एउटा खाका बनाएर अफिस कोठामा टाँस्छौं त्यसैका आधारमा काम गर्छौं ।” उनी भन्छिन्, “म गणित र विज्ञान विषयको शिक्षक हो, पहिलेपहिले त मान्छेहरु महिलाले मात्र कसरी र कस्तो विद्यालय चलाउलान् भनेर कुरा गर्थे, आजकाल हाम्रो काम देखेर प्रशंसा गर्छन् खुशी लाग्छ ।”महिलाले नेतृत्व पाएमा गर्न सक्छन् भन्ने कुराको उदाहरण आफूहरु बनेको त्यहाँ कार्यरत महिला शिक्षिका बताउँछन् । जिल्ला रहेका सामुदायिक विद्यालयभन्दा कम नभएको दाबी गर्छन् उनीहरु ।
शिक्षा विकास तथा समन्वय एकाइ दाङले दिएको जानकारी अनुसार दाङका अन्य विद्यालयमा महिला प्रधानाध्यापक पनि छन् तर सबै महिलामात्रै भएको विद्यालय अरु छैन ।अहिले जिल्लाको मौरीघाट माविमा सीता रिजाल, सरस्वती मावि काठेकोलमा वसन्ता पौडेल, रक्षाचौर माविमा विष्णु केसीले महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरिरहेका छन् । खैरा माविमा सबै महिला भएको कारणले विद्यालयको शैक्षिक र भौतिक गुणस्तरमा निकै राम्रो सुधार आएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण गौतम बताउँछिन् ।
उनले विद्यालयको आर्थिक पारदर्शिता सिकाइ क्रियाकलाप पनि नमूनायोग्य भएको जानकारी दिइन् । खैरा मावि बालमैत्री विद्यालयको रुपमा गत वर्ष नै घोषणा भएको थियो ।-रासस
प्रतिक्रिया