ताजा अपडेट »

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा

विहीबार, ०४ असोज २०८०, १२ : ०८
65 Shares
विहीबार, ०४ असोज २०८०
65 Shares

काठमाडौँ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो ।

हाल अमेरिकाको भ्रमणमा रहेका प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री माननीय नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहनेछन् परराष्ट्रले जनाएको छ ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाबाट चीन प्रस्थान गर्न लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङ्झाउमा भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै, उनले आफ्ना समकक्षी प्रधानमन्त्री लीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नेछन्। यस्तै बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता तय भएको मन्त्रालयले जनाएको छ। साथै, प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन(नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछन्। चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न प्रधानमन्त्रीले चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ ।

उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन्।भ्रमणका क्रममा प्रधानमन्त्री चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमणमा जाने पनि कार्यक्रम बनेको छ। यस्तै उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् ।

प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउनुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने विश्वास लिइएको छ। प्रधानमन्त्री भ्रमण पुरा गरेर असोज १३ गते स्वदेश फर्किनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।