ताजा अपडेट »

विधेयक हामी सच्याउँछौं, विद्यालय बन्द नगरौं: गगन थापा

विहीबार, ०४ असोज २०८०, १२ : ०३
98 Shares
विहीबार, ०४ असोज २०८०
98 Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका थापाले संसद्‍बाट शिक्षा विधेयक सच्याउने भन्दै विद्यालय बन्द नगर्न आग्रह गरे। ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्‍मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ,’ उनले लेखेका छन् ।

शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उनले बताए। शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ । 

‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो,’ उनले लेखेका छन्, ‘हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं। आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं ।’

सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा उनको आग्रह छ ।

यसै विषयमा सरकारसँग पहिलो चरणको छलफल समेत भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकको प्रतिनिधि टोलीले बिहीबार बिहान छलफल गरेको छ। तर छलफल निष्कर्षबिहीन भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।