काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ। यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन्। बुधबार पहिलो दिन काठमाडौँमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह मन्त्रालयमा वार्तामा बसेका छन् ।
बिहान आठ बजेदेखि जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको छलफलमा आन्दोलनलाई शान्तिपूर्ण बनाउनेमा जोड दिइएको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन्। ुपहिलो दिनको भिडलाई प्रहरीले थेग्ने सकेन। आज पनि त्यस्तै भयो भने प्रहरीले बल प्रयोग गर्न सक्ने चेतावनी दिएपछि हामीले गृहमन्त्रीसँग छलफल गरेका हौँ। मागका विषयमा कुनै छलफल भएन। आन्दोलनलाई कसरी व्यवस्थित पार्ने भन्ने विषयमा मात्र छलफल भएको होु, पराजुलीले भनिन् ।
पहिलो दिनको आन्दोलनमा खटिएका सुरक्षाकर्मीले आज पनि त्यस्तै अवस्था आएको खण्डमा गोली चलाउने चेतावनी दिएका थिए। जसले गर्दा अप्रिय घटना हुन सक्नेतर्फ सचेत हुँदै आन्दोलनरत शिक्षक कर्मचारीले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन्। उनीहरुले बिहीबार पनि काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया