ताजा अपडेट »

आजदेखि ७० लाख बढी विद्यार्थीको पढाई ठप्प, शिक्षकहरु आन्दोलन गर्न काठमाडौंमा

विहीबार, ०४ असोज २०८०, ०६ : ५४
103 Shares
विहीबार, ०४ असोज २०८०
103 Shares

बुटवल। शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख बढी विद्यार्थीको पठनपाठन ठप्प हुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौं जम्मा भएपछि विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको हो।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ पुगेका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकालसम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको उनको भनाइ छ। ‘जति कार्यदिन बन्द हुन्छ । त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन्’ महासचिव सुवेदीले भने।

सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।