ताजा अपडेट »

सरस्वती पूजाको अवसरमा पीसल्याण्डमा अक्षराम्भ तथा पुरस्कार वितरण

विहीबार, १६ माघ २०७६, १६ : ५८
172 Shares
विहीबार, १६ माघ २०७६
172 Shares

माघ १६,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवल- ७, शिवनगरमा रहेको आवर पीसल्याण्ड एकेडेमीमा सरस्वती पूजाको अवसरमा अक्षराम्भ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलानन्द पाण्डेले आफुहरु सफलभन्दा पनि असल विद्यार्थी उत्पादन गर्ने अभियानमा रहेको जनाउँदै अध्ययनप्रतिको तीव्र इच्छाशक्ति र निरन्तरको संघर्ष नै सफलताको कारण भएकोले अभिभावकले विद्यार्थीको आचरण र अध्ययन दुवैमा उत्तिकै ध्यान दिनुपर्ने कुरा बताए ।

विद्यालयका प्राचार्य गंगा भण्डारीले अक्षराम्भ कार्यक्रमबाट आफ्नो शैक्षिक यात्रा शुभारम्भ गर्ने नानीबाबुहरुको उज्ज्वल तथा सफल भविष्यको कामना गरिन् । कक्षा १० का छात्राहरुद्वारा सरस्वती स्तोत्र वाचन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा शैक्षिक पुरस्कार २०७५, खेल महोत्सव २०७६ लगायतमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई विभिन्न शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कारहरूद्वारा पुरस्कृत गरिएको थियो । उक्त अवसरमा बालविकास तथा मन्टेश्वरी कक्षामा भर्ना हुने नानीबाबुहरुलाई ठूलो सङ्ख्यामा अक्षराम्भ गराइएको थियो । २०७५ सालमा विद्यालय प्रथम हुने जुनियर तथा सिनियरतर्फ क्रमशः कक्षा १ की प्रशंसा खनाल, क्रक्षा ८ का दर्शन छन्त्याल र गणेश कलवार पुरस्कृत भएका थिए । त्यसैगरी अनुशासित विद्यार्थीका रुपमा जुनियर र सिनियरतर्फ कक्षा ४ की रितु राना र कक्षा ७ की सिमन दर्लामी तथा सरसफाइमा क्रमशः कञ्चन श्रीस, सवनम राना एवं सन्ध्या थापा पुरस्कृत भएका थिए ।

बिहान सबेरै सुरु भएको कार्यक्रममा खेल महोत्सवमा अत्यधिक विजेता र अनुशासित टोलीका रुपमा ग्रीन हाउस र रेड हाउसले शिल्ड तथा प्रमाणपत्र पाएका थिए भने खाना महोत्सवमा प्रथम हुन सफल ह्वाइट हाउसले रनिङ्शिल्ड प्राप्त गरेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलानन्द पाण्डेको अध्यक्षता, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुदीप घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।