मेरा बाले यस धरती छाडेको पनि २६ वर्ष भयो । ५७ वर्षका थिए बा त्यतिबेला । आमालाई विहे गरेर २०१८ सालमा काठमाडौंबाट रक्सौंलको बाटो रेलमा सुनौली हुँदै भैरहवा, बुटवल र साविकको दोभानमा आईपुगेका थिए । सधैं दौरा–सुरुवाल, भादगाउँले टोपीमा चिटिक्क सजिने मेरा बालाई सुनौली आईपुग्दा स्थानीयहरुले नेपालसे आएहुवा आदमी-नेपाले भनेका थिए रे ! त्यहि भएर अहिले पनि पाल्पा दोभानतिरका पुराना मान्छेहरुले नेपाले भनेपछि चिन्छन् । नेपाल खाल्डो अर्थात् काठमाडौंलाई त्यतिबेला नेपाल भनिन्थ्यो । त्यहि ठाउँबाट आएको हुँदा मेरा बा, नेपाले भए ।
आज भदौ महिनाको अमावस्या अर्थात् औँसी तिथि हो । यस दिनलाई सनातनीहरू पिताको सम्मानका लागि खास महत्वपूर्ण दिनको रूपमा लिने गर्दछन् । यसदिन पिता जीवित भएको भए पिताको सम्मान गर्ने र पिता जीवित नरहेको भए पिताको स्मृतिमा श्रद्धापूर्वक स्मरण गर्ने, पिताका नाममा दान गर्ने आदि मान्यताको परम्परा रहिआएको छ । (संस्कृतिविद्, घनश्याम कोईराला)
आज बाको मुख हेर्ने औंशी, दिन भएको हुँदा नभएको बाको मुख हेर्ने अवसर मिलेन । फोटो खोजे, एल्बममा । तर, भेटिनँ । बाको सम्म्मानमा दुईचार धर्को कोर्ने जाँगर पलायो । दान दिने कसलाई आर्थिक अभावमा ? अक्षरको दान दिने विचारमा छु ।
वेदमा बालाई आकाससँग तुलना गरिएको वा दाँजिएको रहेछ । आमा पृथ्वी रे ! बालाई आकाससँग दाज्नु,तुलना गर्नु अन्यथा हुने कुरै भएन तरपनि बाको बयान अत्यन्तै न्यून हुने गरेको सबैलाई थाहा भएकै कुरो हो ।
बीऊ राखे बाले ! उचित मलजल गरिन् आमाले । हुर्काइन् आमाले । दूध चुसाईन् आमाले । तातेताते र काँधमा चढाए बाबाले । माड् दिईन् आमाले । आड् दिए बाबाले । तर, हाम्रो समाजमा बाबाको बयान कम गरेको पाईन्छ ।
कविता, कथा, गीत, गजल वा अन्य साहित्यिक रचना आमाकै बढी लेखिन्छन् । गुहु, मूत आमाले सोहोरिन् । हुर्काईन्, बढाईन्, पढाईन् भनेर होला भन्छन् –धेरैले ।
बाको योगदान कम देख्ने समाज यहीँ छ । बाले पसिना बगाएको, श्रम र सीप पोखेर सन्तानलाई गाँस अनि बासको प्रवन्ध गरेको नेपाली साहित्यमा निकै कम चर्चा फेला पर्छ ।
बालाई सधैं सम्झिन्छु म । आफू निरक्षर भएरपनि हामीलाई उच्च शिक्षा दिए । काला अक्षर भैंसी बराबर भन्ने मेरा बाले अक्षरको खेती गर्ने कृषक बनाए सन्तानलाई ।
मेरा बा पूर्वेली, हाम्लाई पश्चिमी बनाए । यतै हुर्कियौ, पढ्यौ । गुरुङ समाजको अभावमा भाषा, संस्कार, संस्कृतिको खडेरी भोग्न बाध्य भएका छौं । कहिलेकाहीँ मैले जातका कारण नागरिकता देखाउन बाध्य छु । मेरो बोली, व्यवहार, रहनसहन र संस्कारका परिणाम हुन सक्छन् ।
बाउ छोराको बोली बाराबार नि भयो कैयौंपटक । बाले मेरो गालामा घरिघरि मादल बजाउँथे । रिसाउँदा माछासहितको भातेथाल मेरो मुखमा बज्रिएको सम्झनामा कैद छ अझैपनि । कहिलेकाहीँ अग्नि रसले बा उम्लिन्थे । त्यतिबेला हामी शरणार्थी हुनुपर्थ्यो । तैपनि आज ती घटना सम्झेर बाको अघोर याद आईरहेको छ ।
बासँग पढाइ नभएपनि विभिन्न खालका अनौपचारिक एवम् आकस्मिक ज्ञान र सीपहरु भसक्कै थिए । दोभान र झुम्सा खोलामा जाल खेली माछा मार्थे । हाम्लाई त्यही माछा बेचेर पालेका थिए । विभिन्न परिकार मिठरी पकाउँथे । त्यही भएर होटल चलाएर हामी आठजना सन्तानलाई पाले, टाले, शिक्षादीक्षा दिए ।
बा, जाल बुन्न र टाल्न माहिर थिए । हलो जोत्न, कोदालो खन्न, धान रोप्न असाध्यै तगडा थिए । नाँच्न नजानेका कहाँ हुन् र ? मेरा बाले मूर्रा भैंसी पालेका हुनाले घाँस काट्ने र दूध दुहुने अनौठो कला थियो । व्यापार गर्ने विघ्न क्षमता थियो । लेख्न नजाने पनि औंलामा क्याल्कुलेटर फिट गरेका थिए ।
आमासँग धेरै कला सापटी लिएका मेरा बाले सन्तानलाई पाल्नमात्र होईन आफूसँग भएका ज्ञान, सीप बाँड्न धेरै प्रयास गर्थे । डोको र कूचो मज्जाले बुन्थे । सीपको पुस्तान्तरण अनिवार्य ठान्थे ।
मेरा बा, लालबहादुर गुरुङ थिए । माईला छोरा थिए परिवारका । आमासँगै, दुईजना लालजोडी भएर यता आएका उनीहरुले आफूहरुसँग १० जनाको सग्लो परिवार बनाएका थिए । बाले गाउँमा धारापँधेरा बनाए होलान् तर शिलापत्रमा नाम छैन । विद्यालयमा सक्दो चन्दा दिएकै होलान् तर यतिबेला ताम्रपत्रमा नाम भेट्दिनँ ।
गाउँका सामान्य नागरिक थिए मेरा बा । सन्तान पाल्न सिपालु थिए मेरा बा । अन्याय नसहने मान्छे थिए । रिसाउँथे तर घमण्डी थिएनन् मेरा बा ।
बालाई आजमात्र सम्झिने होईन । सधैं सम्झिनुपर्छ । अनुहारलाई हैन उनका कामलाई सम्झिनुपर्छ । बा, सबैका थिए, छन् र होलान् तर बा–बाजस्तै बन्न सक्ने, कर्तव्यबोध गर्न सक्ने, सन्तानप्रति निष्ठा भएको र उदाहरणीय बाको खोजी वर्तमान अपरिहार्यता हो ।
प्रतिक्रिया