ताजा अपडेट »

भुक्तानी नहुँदा गुल्मीमा करोडौं खर्चेको रेसुङ्गा पार्क व्यवसायीकै 'हातमा',

मंगलबार, २६ भदौ २०८०, १६ : ४४
26 Shares
मंगलबार, २६ भदौ २०८०
26 Shares

गुल्मी । निर्माण कम्पनीले काम सम्पन्न गरेको महिनौ हुँदा पनि भुक्तानी नपाउँदा गुल्मीको रेसुङ्गामा बनेको पार्क अलपत्र छ । भुक्तानी नपाउँदा निर्माण कम्पनीले आयोजना हस्तान्तरण नगरेपछि त्यसको सञ्चालन तथा व्यवस्थापनमा समस्या देखिएको हो । योजना हस्तान्तरण नुहँदा सदरमुकाम तम्घासको शिरमा रहेको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको काखमा बनेको पार्क सञ्चालनबाट उठ्न सक्ने राजश्व समेत प्रभावित भएको हो ।

८३ रोपनी क्षेत्रफलमा डिपिआर तयार पारी निर्माण गरिएका संरचनाहरुले पार्कको आकर्षण बढाए पनि दिगोपनका लागि व्यवस्थापन तथा सञ्चालनमा भने अन्यौलता देखिएको छ । धुलिखेल अर्जुन न्यूलिजा जेभीले गत फागुनमै योजना सम्पन्न गरे पनि त्यस बापतको रकम भने पाएको छैन । ५ करोड ५९ लाखमा ठेक्का सम्झौता भई काम अघि बढाएका ती कम्पनीले सम्झौता मितिभन्दा एक महिना अगाबै सम्पन्न गरेका थिए । सम्झौता अनुसार करिब ४९ प्रतिशत रकम भुक्तानी नहुँदा निर्माण कम्पनीले सरकारलाई आयोजना हस्तान्तरण नगरेको हो ।

रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत लागनमा निर्माण सम्पन्न भएको उक्त आयोजनामा रकम भुक्तानी नहुँदा आफूहरुले थप आर्थिक क्षति व्यहोर्नु परेको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र जिसीले गुनासो गरे । यसैगरी नगरपालिकाका मेयर खिलध्वज पन्थीले आफू निर्वाचित हुनुअघिकै योजना भएको बताउँदै त्यो समयमा भुक्तानी हुनु पर्ने रकम पनि रोकिएको भन्दै आफूलाई दोषबाट मुक्त गर्ने प्रयास गरे । तत्कालिन मेयर तथा हाल लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले निर्माण कम्पनीलाई रकम भुक्तानी नभएको विषयमा सरकारसँग आग्रह गर्ने उल्लेख गरे ।

'मसानघाट' बन्यो आकर्षक पार्क
१२ सय ५० वर्ग मिटरमा पार्क र अन्य विभिन्न आकर्षक संरचना निर्माणले यहाँको दृश्य मनमोहक बनाएको छ । स्वीमिङ पुल, पिकनिक स्पट, एनिमल रेस्क्यु स्पट, रिसोर्ट समेत निर्माण गर्ने अवधारणा अन्तरगत बनेको पार्कले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत भित्राउन सक्ने अपेक्षा गरिएको छ ।

केही वर्ष अघिसम्म जङ्गली जनावरले आक्रमण गर्ने डरत्रास रहेको च्यानडाँडा (मसानघाट)का रुपमा चिनिने यो थलो अहिले आकर्षक पार्कमा परिणत हुँदा यहाँका स्थानीय दङ्ग छन् । पार्क निर्माणका लागि मुख्य चुनौतिको रुपमा रहेको जमिन सम्याउने काम सकेर भ्यूटावरसहित टपमा अत्याधुनिक बाईनकुलर (दुर्विन), आकर्षक वाटर फाउन्टेन र आर्क बृजले पर्यटकलाई घन्टौसम्म यहाँ समय बिताउन सहयोग गर्ने गर्दछ । त्यस्तै आकर्षक चिल्ड्रेन पार्क, प्रवेशद्वारदेखि अन्तिमसम्म एप्प्रोज रोडमा विछ्याइएको गल्कोटकोटे ढुङ्गाले थप आकर्षण थपेको छ । गार्डेनमा दुबोको हरियाली र चाईनिज इटाको क्यारीले थप सुन्दरता बढाएको छ । रेसुङ्गाको मुहारले परिचय फेर्दै यहाँको चर्चा बढोस र सबको आँखामा परोस भन्नका लागि रेसुङ्गा लेखिएको विशाल टावर सहितको आईकोन टागिएको छ । चारैतिर कम्पाउण्डिङ्ग गरिएको छ । साझमा चारैतिर बल्ने रङ्गिबिरङ्गी वत्तीले पार्कमा सुन्दरतालाई थप आकर्षण बनाएको छ ।

चुनौती र सम्भावना
पार्कमा भ्यूटावरसहित अत्याधुनिक बाईनकुलर जडान गरिएको भएपनि त्यस ठाउँबाट पर–परसम्म नियाल्नका लागि सल्लाका रुखहरुले घेरिएका छन् । आवश्यक प्रक्रिया पूरा गरी वरिपरिका ती रुख कटान गर्न सरोकारवाला तयार भएमा यो समस्या समाधान हुन सक्ने देखिन्छ । दोश्रो चुनौती पार्क भित्रका संरचना संरक्षणको । पार्क वरीपरी रहेको वन क्षेत्रमा हरेक वर्ष भिषण आगलागी हुने गर्दछ । आगलागीका कारण पार्क क्षेत्रभित्र तथा कम्पाण्डमा रहेका विद्युतीय सर्किट जलेर नष्ट गर्न सक्छ ।

चुनौतीसँगै सम्भावना पनि प्रशस्तै छन । उचित व्यवस्थापन तथा संरक्षण हुन नसक्दा बादरको हातमा नरिवल हुने सम्मभावना पनि उत्तिकै छ । उपल्लो तम्घासको चिल्ड्रेन पार्क, प्रशासन अगाडि लाकुरिमन्च मासेर करोडौं लागतमा बनाईएको शंखपार्क यसका उदाहरण हुन् । जसको निर्माण सम्पन्न नहुँदै जिर्ण बनेर बसेका छन् । रेसुङ्गा पार्कको संरक्षण र बिकास गरेर पर्यटक भित्राउने नै हो भने निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने स्थानीयहरु बताउँछन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार