ताजा अपडेट »

जागीरे बुहारी म !

शनिबार, २३ भदौ २०८०, ११ : ५८
190 Shares
शनिबार, २३ भदौ २०८०
190 Shares

जागिरे बुहारी म
सासुकी जाती त हुन सकिन
हाकीमकी काजी पनि बन्न सकिन
न घरमा पूर्ण न अफिसमा पूर्ण
सबैले ठान्छन मलाई अपूर्ण

सबेरै उठ्छु मिठो निद्रा मनभित्रै भुट्छु
छोरालाई टिफीन सासुलाई जाउलो
सबैलाई मेरो हातको मिठो हुने रे
बुझ्दिन यो माया हो की काउलो

हतार हतारमा घर धन्दा गर्दै
घडीले नौ बजाई सक्छ
ड्रेसमा प्रेस अनि हुनु पनि छ फ्रेस
सानी छोरी ललितेले बस्छु भन्छिन काखा
के भनेर सम्झाम सानु नभिजाउन आँखा
छोरी हेर्दै घडी हेर्दै मन बांधेर हिंड्छु
अफिस पुग्दा हाकिम साबको रुप अंधेरो देख्छु

झल्यांस्स हुन्छु अहो सम्झन्छु बल्ल
विहानको अनलाईन मिटीङ
हत्तेरी बिर्सेछु भुटो सुरु भो
हतपतमा विहान खाना खा‌ए ‌खाईन
घरको गेट लाएं लाईन
चुलोमा बसालेको दुध उम्लियो कि सुक्यो
उता ग्यास बलेकै छ की निभांए कुन्नी
यता मनमा ताप दन्किरहेको छ

काम एउटा गर्नुपर्ने मनमा अर्कै दौडेपछि
कसरी यी दुईलाई समायोजन गर्ने
कहिले सोंच्छु चांहिदैन मलाई यो दोहोरो भूमिका
कल्पना गर्छु परिवार विनाको जीवन
त्यो पनि के जीवन मेरा सहारा यिनै हुन
अनि सक्दिन आफ्नो संघर्षलाई तिलान्जली दिन
सम्झन्छु रातलाई विहान बनाएका दिनहरु
कापी र किताबलाई सिरान बनाएका दिनहरु

परिश्रमले पाएको मिठो फल मेरो आहारा यिनै हुन
अस्ति मामाले बोलाए जान भ्याईन
हिंजो काकाले बोलाई ॲह गईन
सुन्छु आजभोलि मलाई ठुली भाकी भन्छन
कसैको नभाको जागीर खाकी भन्छन
मलाई थाहा छ म फुर्सदीली भईन र गईन
बुझ्दैन कोही त्यसैले म कसैकी भईन
बुझाउन नसक्ने दैनिक रुटिन छ

अस्तव्यस्तमा जीवन सेटिङ छ
सुकिला लुगा सबैले देख्ने
मनको हतास कसैले नदेख्ने
तनावमा सक्छु अफिसको काम
बनाउनु पनि छ सांझको माम
सासुआमा भन्नुहुन्छ
तिमीलाइ चिया खान पर्खेको
यो पर्खाई माया‌को की काम कजाउन
बुझ्दिन लाग्छु भान्सा सजाउन

आमा हुँदिहुन त थकान बुझ्दिहुन
तिमी बस भन्दै कामका पछि आफै डुल्दिहुन
सासु आमालाई लाग्ने बुहारी घर धानोस
श्रीमानको रहर समाजले मानोस
पूरा गर्नुछ श्रीमानको रहर
अनि खुसी बनाउनु छ सासु ससुरा

पास हुनु पनि छ आमाको भूमिकामा
चाहाना त मेरापनि होलान केही
तर सम्झने फुर्सद कहिले पाइन
भान्साकी मालिक म कती रात नपुगेर खाईन
चा‌वीको झुप्पो मलाई सुम्पेर
घरमा मलाई मालिक बनाए
श्री सम्पत्ती तिम्रै हो भनिकन
जीउ‌दै मलाई शालिक बनाए
अ‌ंह केही बुझ्दिन मैले
जानीनजानी चांवीको झुप्पोमा आफै रमाए‌ं

आफ्नो खुसी के मा छ कहिल्यै खोजीन
सा‌ंसारीक खुसिमा आफूलाई रोजीन
यहि जागीरको पछि दौड्दा
न आफन्त भेटें, न छिमेकी चिने
न कर्तव्य ठाने, न पैसाले किनें
घरकाले बचन लाऊछन कस्तो तिम्रो होस छैन
अफिसमा उस्तै भन्छन काम गर्ने तिम्रो जोस छैन

जोस र होस गुमाएर पनि किन म कसैको भईन ?
मलाई थाहा छ म फुर्सदीली कहिल्यै भईन
कथा बुझ्दैन कोही मेरो त्यसैले म कसैकी भईन !!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।