संखुवासभा । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् ।
गएको शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जापीडित संघर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ ।
अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले आलटाल गरेको आरोप लगाए । जग्गाधनीलाई मुआब्जाबापतको रकम दिने भनेर निर्धारण भइसकेको मुआब्जा रोकिएपछि बाध्य भएर अनिश्चितकालीन आन्दोलनमा उत्रिएको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गएको वैशाख २६ गते छ्याङ्कुटी–दिदिड सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर, हालसम्म मुआब्जा नपाएपछि स्थानीय आन्दोलित बनेका हुन् ।
अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ । मुआब्जापीडित संघर्ष समितिका संयोजक राईले माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।
उनका अनुसार संघर्ष समितिले खाँदबारी नगरपालिका–४ को छ्याङ्कुटी डाँडाबाट अरुण तेस्रोको यातायातका साधन आयोजनास्थलमा जान दिएका छैनन् । प्रवेशमार्गको ४५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरिएको थियो । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ ।
अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन् । आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अरू कर गरी अर्बौँ रुपैयाँ पाउनेछ । आयोजना बनाउन एक खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया