बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । कूल १००४ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिए ।
भदौं १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल प्रतिस्पर्धामा रहेका छन् ।
बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको थियो । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ।
सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध उम्मेदवारी पर्दा उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ। उनीहरू उपेन्द्रलाल कामी-रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी-बाँके, पूर्ण बुढामगर-रोल्पा र हिरा एसी-गुल्मी हुन्।
यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानामगरको उम्मेदवारी रहेको छ। नेतृत्वका लागि १००४ जना प्रतिनिधिले मतदान गर्दै छन् ।
प्रतिक्रिया