ताजा अपडेट »

एमाले लुम्बिनी प्रदेश अधिवेशन : अध्यक्ष उम्मेद्वार रिजालको उम्मेदवारी खारेज गर्न उजुरी

सोमबार, १८ भदौ २०८०, १३ : ५८
46 Shares
सोमबार, १८ भदौ २०८०
46 Shares

बुटवल । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हरि रिजालको संगठित सदस्यतामा विवाद उत्पन्न भएको छ । रिजाल प्यूठानको नौ बहिनी गाउँपालिका-६ बाट प्रतिनिधि भएर अध्यक्षमा उम्मेदवार बनेका थिए । तर रिजालको संगठित सदस्यता लुम्बिनी प्रदेशमानै नरहेको बताउँदै एक प्रतिनिधिले निर्वाचन समितिमा उजुरी दिएका छन् । उनको उजुरी निर्वाचन समितिले दर्ता गरेको छ ।

जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै चुनाव लड्ने तयारी गरेका रिजालले काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको र उम्मेदवारी स्वतः खारेज हुनुपर्ने उजुरीमा उल्लेख छ । रिजालको सङ्गठित सदस्य सङ्ख्या १७५१ नम्बर लुम्बिनी प्रदेशमा नरहेको एमाले प्रदेश कार्यालयले जनाएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।