ताजा अपडेट »

टीट्वान्टी महिला विश्वकप छनोट : नेपालले १० विकेटले हरायो बहराइनलाई

शुक्रबार, १५ भदौ २०८०, १३ : ३०
72 Shares
शुक्रबार, १५ भदौ २०८०
72 Shares

काठमाडौँ । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शुक्रबार नेपालले बहराइनलाई १० विकेटले पराजित गर्‍यो। मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो ।

महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट गरेको थियो। त्यतिबेला १७ रनको लक्ष्य रनको नेपालले मात्र ५ बलमा भेटाउँदै खेल १० विकेटले  जितेको थियो ।

नेपालका लागि ओपनर कविता कुँवरले अविजित १७ र सीता रानामगरले अविजित दुई रनको योगदान गरेका थिए। कविता कुँवरले १४ बलको सामना गरी तीन चौका पनि हिर्काइन्।  त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको बहराइका ब्याटरहरुलाई नेपाली बलरले प्रारम्भदेखि नै दबाबमा राखेका थिए ।

बहराइनलाई सस्तोमा समेटन नेपाली टोलीकी बलर इन्दू वर्माले तीन विकेट लिएकी थिइन्। उनले चार ओभर बलिङ गर्दै दुई मेडन राखेर केवल पाँच रन खर्चिएकी थिइन्। खुसी डंगोलले दुई विकेट हात पारिन् ।

उनले १.४ ओभर बलिङ गर्दै एक रन पनि दिइनन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले पनि एक—एक विकेट हात पारे। बहराइनका लागि कप्तान दीपीका रसनगिकाले ११ रन बनाइन् । इशारा सुहुनले पाँच रन जोडेकी थिइन् । 

आशा सामिलदिनले पनि पाँच रन बनाइन्। ओपनर थारंगा गजानायके चार रनमै पेभेलियन फर्किइन्। पविथ्रा सेठ्ठी एक रनमा आउट भइन्। प्रजना जगदिशा, ओपनर रासिका रोड्रिगो, मनाल मलिक, अबिरा वारिस र सदामली भाक्सलाले खातासम्म खोल्न सकेनन् । 

अब नेपालले आइतबार भुटानको सामना गर्नेछ। त्यसपछि नेपालले मंगलबार कतार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । 

दुवै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन्। टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।

नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो। नेपालले समुह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।