ताजा अपडेट »

कोशी सरकार विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई, सर्वोच्चको फैसलामा वैधानिकता पाउँला ?

शुक्रबार, १५ भदौ २०८०, ०९ : १६
100 Shares
शुक्रबार, १५ भदौ २०८०
100 Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएको विषयको रिटमा आज सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो । उक्त मुद्दाउपर आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

संविधान र सर्वोच्च अदालतको आदेशको उल्लङ्घन गरेको भन्दै नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको मागसहित दायर रिटमा भदौ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भनिसकेको छ । सँगै दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न अन्तरिम आदेश जारी गरिएको थियो । भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता ग्रहण गरेका मन्सुरीले पनि भोट हालेका थिए ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अग्राधिकारसहित मुद्दाको पूर्ण सुनुवाइका लागि आज पेसी तोकेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने दिन इस्राइल मन्सुरीले र गीता तिम्सिनाले पालैपालो सभाको अध्यक्षता गरेका थिए । दुवै जनाले थापालाई विश्वासको मतसमेत दिएका थिए । आजबाट हुने पूर्ण सुनवाइमा एमालेका तर्फबाट टीकाराम भट्टराई शम्भु थापा, सतिसचन्द्र खरेल बलराम दाहाल लगायतका कानून व्यवसायीहरूले बहस गर्ने छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सविालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।