काठमाडौं । कप्तान बाबर आजमको र इफ्तिखार अहमदको शतकमा पाकिस्तानले एसिया कपको उद्धघाटन खेलमा नेपाललाई ३ सय ४३ रनकोे विशाल लक्ष्य दिएको छ । मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनायो ।
पाकिस्तानका बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । बाबरको ओडिआईमा उच्च प्रदर्शन २०२१ मा इंग्ल्यान्डविरुद्ध १ सय ५८ रनको शतकीय इनिङ खेलेका थिए । बाबर अन्तिम ओभरमा सोमपाल कामी चौथो बलमा वैकल्पिक फिल्डर सन्दीप जोराबाट लङअफमा क्याच आउट भएका थिए ।
बाबरले १ सय २ इनिङमा आफ्नो ओडिआई करिअरको १९ औं शतक हाने । बाबर सर्वाधिक छिटो इनिङमा १९ औं शतक हानेका हुन् । उनले दक्षिण अफ्रिकाका हासिम आमलाको १ सय ४ खेलको इनिङको कीर्तिमान तोडेका छन् ।
बाबर ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । २९ औं ओभरको पाँचौं बलमा बाबरलाई करणले कट एण्ड बोल्ड आउट गर्ने अवसर चुकाएका थिए । इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित रहे ।
इफ्तिखार अहमदले ६७ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हाने । पाँचौं विकेटका लागि अहमद र बाबरले १ सय ३१ बलमा २ सय १४ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए ।
एक समय ६.१ ओभरमा २५/२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले ८६ रनको साझेदारी गरेका थिए । विकेटकिपर मोहम्मद रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान रन आउट हुन पुगेका थिए ।
नेपालले सुरुवात भने राम्रो गरेको थियो । तीव्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच गराएका थिए ।
सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा अर्का ओपनर इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । त्यसअघि आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए । तर उक्त जीवनदानको उनले फाइदा उठाउन सकेनन् । अघा सलमान ५ रनमा क्याच आउट भएका थिए ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिए ।
प्रतिक्रिया