ताजा अपडेट »

सरकारले सांसदहरुलाई हेप्यो, यसपटक देखाउँछौं : गगन थापा

मंगलबार, १२ भदौ २०८०, १५ : ३६
12 Shares
मंगलबार, १२ भदौ २०८०
12 Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेर संसदलाई हेपेको बताएका छन् ।

गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन गर्न थालिएको र २०७४ पछिको सरकारले यसको दुरुपयोग गरेको भन्दै थापाले अहिले पनि सरकारले संसदलाई हेपेको बताएका हुन् ।

महामन्त्री थापाले आफूसँग बहुमत छ र सांसदहरु थपडी बजाउन आएका हुन् भन्ने नसोच्न प्रधानमन्त्रीलाई आग्रह गरे। ‘हामीलाई हेपेको स्वीकार्य हुन्न यो, विधेयकमा यति धेरै प्रश्न छन् कि, यो विधेयकमा मात्र होइन, जसरी संसद र सांसदलाई व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला’ उनले भने ।

जघन्य अपराधमा संलग्नलाई पनि जोगाउने गरी कानुन बनाउन लागिएको भन्दै थापाले आपत्ति जनाए। यो कानुनको मस्यौदा अघिल्लो सरकारकै पालामा भएको भन्दै उनले आफ्नै पार्टीका नेता तथा कानुनमन्त्री धनराज गुरुङलाई त्यसको भारी नबोक्न आग्रह गरे। उनले यो विधेयकको भारी बिसाउन र हटाउन कानूनमन्त्रीलाई आग्रह गरे। उनले बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै आफूहरु हेपिनेकि नहेपिने यसपटक देखाउनुपर्ने बताए ।

उनले भने, ‘यो विधेयकमा मुलुकी फौजदारी संहीताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याएको छ, नेपाली काँग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण को व्यवस्था हामीलाई स्वीकार्य छैन। माननीय कानूनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नबोक्नुस्। यसलाई बिसाउनुस् । यसलाई हटाउनुस् ।’

महामन्त्री थापाले वातावरण संरक्षण ऐनमा मन्त्रालयले स्वीकृत गर्ने इआइएको प्रावधान मन्त्रालयले स्वीकृत भएपनि अहिले विभागबाट गर्ने भनेर ल्याइएकोप्रति पनि विरोध जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।