ताजा अपडेट »

अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन: प्रचण्ड

मंगलबार, १२ भदौ २०८०, १२ : ५७
44 Shares
मंगलबार, १२ भदौ २०८०
44 Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताएका छन् ।

संसदमा मंगलबार भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका बताए। त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको उनको दाबी छ ।

‘वर्तमान सरकारले शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गर्दै आएको छ’, प्रचण्डले भने, ‘यस अवधिमा सार्वजनिक प्रशासनलाई स्वच्छ सक्षम, पारदर्शी बनाउँदै अघि बढाएको छ’, उनले कसैलाई पनि बचाउने र कसैलाई अप्ठेरो पार्ने नियतले सरकारले काम नगरेको बताए । 

‘निर्देश कोही नपरोस्, दोषी कोही नछुटोस् भन्ने सिद्धान्त अनुसार नै प्रहरी प्रशासनलाई निर्देशन दिएको छु र मैले यतिसम्म पनि भनेको छु–यदि अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन’, प्रधानमन्त्रीले जवाफ दिँदै भने, ‘मेरो पार्टीको नेताको त के कुरा ? भन्ने कुरा मैले सार्वजनिक रूपमा भन्दै आएको जानकारी गराउन चाहन्छु ।’

उनले सबै किसिमका भ्रटाचारलाई छानबिन र दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले कानुनी सिद्धान्तलाई सरकारले आत्मसात् गरेको पनि बताए। आफ्नो या पराय भनेर विभेद नगरेको भन्दै उनले सबै भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने बताएका छन् ।

उनले देशका सामु कयौँ चुनौती रहेको भन्दै यी समस्या समाधान गर्न दलहरुबीच समान दृष्टिकोण र मान्यता हुनुपर्ने र राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिनुपर्नेमा जोड समेत दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।