ताजा अपडेट »

चीन भ्रमणमा यसअघि भएका सहमति कार्यान्वयनमा जोड दिन्छु : प्रधानमन्त्री

मंगलबार, १२ भदौ २०८०, ११ : ५२
16 Shares
मंगलबार, १२ भदौ २०८०
16 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् ।

संसदमा मंगलबार भएको प्रश्नोत्तरमा नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने बताए ।

राणाले आन्तरिक लगानी बढाउन सरकारको प्राथमिकता नभएको भन्दै  बैंकमा पैसा थुप्रिएको छ तर साना मझौला उद्योगले पैसा नपाएको गुनासो गरेकाले असन्तुलन आर्थिक व्यवस्थालाई सन्तुलनमा ल्याउन सरकारको योजना के छ भनेर प्रश्न गरे ।

जवाफ दिँदै प्रधानमन्त्रीले काठमाडौँ उपत्यकामा पूर्वाधार विकासमा बजेट विनियोजन गरेको तथा ललितपुर निर्वाचन क्षेत्र १ जोड्ने सडकका सरकारले ध्यान दिने बताए। उनले सरकारले चालेका कदमबाट अर्थतन्त्र बिस्तारै सहज अवस्थामा गएको राष्ट्र बैकको सूचकाङ्कले पनि देखाएको बताए ।

‘२०८० असार मसान्तसम्म २८० अरब ५२ करोड बचतमा रहेको छ। विदेशी संचिति गत वर्षको यही अवधिको तुलनामा २६।६ प्रतिशतले वृद्धि भई १५ सय ३९ अरब ३६ रुपैयाँ पुगेको र यसले १० महिना धान्न सक्नेछ’, प्रधानमन्त्रीको जवाफ छ । 

नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने उनले बताए ।

नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुराकानी हुने निश्चित भएको भन्दै उनले भने ‘त्यससम्बन्धी मुगुको विषय पनि कुरा उठाउने र एउटा निष्कर्ष लिने कोसिस हुनेछ ।’

वैदेशिक रेमिट्यान्समा वृद्धि भएको भन्दै वैदेशिक लगानीको स्वीकृति बढाउने काम भएको, जग्गाको कित्ताकाट खुलाएको भन्दै उनले उत्पादन मूलक तीन करोड ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्रीको भनाइ छ । 

निकट भविष्यमा हुने चीन भ्रमण दुई देशबिचको सम्बन्धलाई थप उचाइ तथा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिने, सीमा नाका प्रभावकारी तथा सडक, ऊर्जा ,व्यापार क्षेत्रमा चीनको सहयोग भ्रमणको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको जवाफ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।