काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले बारम्बार संविधान विपरीत काम गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले नै बारम्बार संविधान मिचेको बताएका हुन् ।
‘हामी संविधानको रक्षा गर्ने भन्छौं, तर संविधानको रक्षा गर्ने हाम्रो जो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा मात्रै दुईचोटी संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ’, उनले भने ।
कोशीमा सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा ११ साउनमा सर्वोच्च अदालतले उद्धव थापाको पद खारेज गरिदिएको थियो । त्यसपछि सभामुखलाई राजीनामा गराएर उनकोसमेत समर्थन लिएर पुनः मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिको समेत मत लिएका थिए ।
मुख्यमन्त्रीले पुनः संविधान उल्लंघन गरेको भन्दै एमालेले दिएको रिटमा बिहीबार सर्वोच्च अदालतले सभाध्यक्षको मत लिनु संविधानसम्मत भन्न नमिल्ने आदेश गरेको थियो । एकीकृत समाजवादीका नेतासमेत रहेका खनालले यो विषयमा पार्टीले स्पष्ट धारणा राख्नुपर्ने बताए ।
प्रतिक्रिया