ताजा अपडेट »

छिनोमा पसिना उमार्ने भुवन

बुधबार, ०६ भदौ २०८०, १६ : २६
104 Shares
बुधबार, ०६ भदौ २०८०
104 Shares

कविताको सानो रुप नै हाइकु हो । थोरैमा धेरै कुरा दिन सक्ने कविताको लघुतम रुपलाई नै हाइकु भनिन्छ । यसमा अनुभूतिको मितव्ययी अभिव्यक्ति र विचारको खँदिलो प्रस्तुति पाउन सकिन्छ । जापानका बासो नै हाइकुका जन्मदाता हुन् । उनको खास नाम मात्सुओ मोनेफोसा हो । जापानी साहित्यमा हाइकुलाई अति नै प्रचलित र स्थापित विधामा लिइन्छ । जापानीहरुसँग थोरै समय रहने भएको हुँदा उनीहरु हाइकु पढ्न रुचाउँछन् । गागरमा सागर खोज्छन् ।

जम्मा १७ अक्षरमा सम्पूर्ण अभिव्यक्ति दिइसक्नुपर्ने कविताको सानो रुप नै हाइकु हो । यसको त्रिपदी संरचनामा ५+७+५ =१७ अक्षर हुन्छन् । सुरुको ५ अक्षरमा विषयको उठान गरिन्छ । विषयको बिम्बात्मक विस्तार बीचका ७ अक्षरमा गर्ने चलन छ । त्यसैगरी अन्त्यका ५ अक्षरले विचारको तार्किक समापन गर्छ । हाइकुमा शब्द रखाइ मात्र नभएर व्यञ्जनात्मक र ध्वन्यात्मक अर्थवोध अनिवार्य आवश्यक रहन्छ । ( डा.देवी नेपाल, लेखन शिल्प)

हाइकुमा सांस्कृतिक बिम्ब, प्राचीन मिथक, ईश्वरीय सूचक वा जनविश्वासको प्रतिबिम्बन हुन सक्ने कुराको संकेत हुनुपर्ने मान्यता पनि पाइन्छ ।
बासोको सुप्रसिद्ध हाइकु यस्तो छ । जहाँ प्राकृतिक बिम्ब भेटिन्छ ।
पुरानो ताल
भ्यागुतो उफ्रिदिन्छ
पानीको शब्द ।

यतिबेला मैले भुवन थापा ‘बहुवी’को हाइकुमाथि चर्चा गर्ने रहर गरेको छु । खासमा उनी ललित कलाका जानकार हुन् । काठमाण्डौं विश्वविद्यालयमा मूर्तिकला सम्बन्धी प्रशिक्षण गर्छन् । प्राध्यापन गर्छन् । स्वभाव पनि मूर्तिजस्तै ! अर्थात् कम बोल्ने । काम धेरै गर्ने । संयोगले तीन पटक भेट्ने अवसर प्राप्त गरेको छु । उनलाई भेटाउने काम उनका नातीनतिना पर्ने बेनु थापा र सुमित्रा रानाले गरेका हुन् ।

धेरैका शालिक बनाएर चौरास्तामा उभ्याएका छन् । आफू भने प्रायः गुमनाम हुन रुचाउँछन् । आकार नमिलेका ढुंगाहरुलाई मूर्ति बनाउँछन् । मन्दिर पसाल्छन् तर आफू भने मूलढोकाबाट बाहिरै बस्न मन पराउँछन् । आफ्ना भावना, विचारलाई हाइकुको भाषामा अभिब्यक्त गर्छन् । सायद उनकै लागि बासोले हाइकुको सिर्जना गरेका हुन् ।
प्रकृतिमा रम्दै भुवन यसरी हाइकुमा जमेका छन् ।
इन्द्रिणी रंग
एकाएक छुट्टिन्छ
हजार आँखा ।

ब्याख्या गर्ने आ–आफ्नै तरिका छन् । शीर्षक पनि चाहिंदैन हाइकुमा ।
सुन्दर सुगा
पिञ्जडा भित्र कैद
घरको शोभा ।

अरुको स्वतन्त्रता बन्देज गरी खोइ कसरी घरको शोभा बढाउन सकिएला र ? यतिबेला यो हाइकुले हामीलाई सुगा बनाइरहेको भान हुन्छ । सबैतिरबाट सुगा भइरहेका छौं । राज्य वा सत्ता यतिबेला हाम्रा लागि पिञ्जडा सावित हुँदैछन् । धेरै वर्ष अघि लेखिएको यो हाइकुको सार्थकता यतिबेला आउँदैछ । भुवन थापा भविष्यवेत्ता समेत रहेछन् भन्ने यही हाइकुले सन्देश दिन्छ । कलाकारहरु धेरै कुरा गर्दैनन् बरु कला देखाउँछन् । सत्य रहेछ ।

ठोस्सिदै गए
अमूर्त चट्टानमा
ललित कला !

जब भुवनको आफ्नो कला त्यसरी अर्मूत चट्टानमा ठोक्किन्छ । अनि बन्छ नयाँ आकृति । निस्किन्छ आफूभित्रको विचित्र क्षमता र चकित पार्दछ दुनियाँलाई । हो ! दुनियाँलाई आफ्नो सीप र श्रमबाट अघि बढ्न प्रेरणा दिइरहने ललित कलाका मूर्धन्य ब्यक्तित्व भुवन थापालाई हाइकुबाटै यसो भन्न मन लागिरहेको छ ।

भुवन तिम्रो
छिनोको पसिनाले
प्रकृति दंग !

लामो दाह्री । अग्लो शरीर । टोपी लगाइ रहन मन पार्ने । घर गुल्मी ठूलो ल्हुम्पेक । घण्टौंसम्म आफ्नो कलामा डुब्न सक्ने । कर्म गर्ने, प्रचारमा आउन नरुचाउने । थोरै बोल्ने अनि घत् लाग्दो बोल्ने नै भुवन थापा ‘बहुवी’ हुन् । उनको हाइकुसंग्रह पनि उनीजस्तै रसिलो छ ।

देश, विदेशमासमेत ललित कलाका विभिन्न विधामा रहेर कार्यशाला गर्न पुग्छन् । पुरस्कृत भएका छन् । सम्मान पाएका छन् । तर उनमा अहमता पटक्कै छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।