काटी देउ मेरा हातहरु
थुनिदेउ मेरो मुख
खाइदेउ मेरो जागिर
लगाइ देउ पार्टीको ट्याग
कुनै पीर छैन
सधैं म
श्रमजीवी,सर्वहाराका पक्षमा उभिइरहनेछु ।
यो कविता कुनै चिरपरिचित कविको होइन । तर, कविताप्रति रुची देखाउने श्रमजीवि वर्गको सधैं वकालत गरिरहने मेनका पोखरेलको हो । पेसाले सहकारीकर्मी । रुचीले राजनीति । सपना उनको समाज सेवा । चाहे त्यो राजनीति वा सामाजिक काम गरेर किन नहोस् !
मेनकाको खास घर बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.१ को भुरी गाउँमा पर्छ । त्यहीको साना किसान सहकारीमा उनी मुख्य व्यवस्थापकका रुपमा कार्यरत् छिन् । सहकारीमा सेवा गर्न थालेको पनि दुई दशक नाँघिसक्यो । पढाई एम.विएस् । सहकारीमार्फत समाजमा आर्थिक उन्नति र प्रगति सम्भव छ भन्ने मनसायका साथ अढि बढिरहेकी मेनकाले सामाजिक न्याय र आर्थिक समानताका निम्ति सहकारी नै रामवाण भएको महसुस् गर्छिन् । सहकारीकै सहायताले समाज परिवर्तनमा टेवा पुराएको छ । उद्यमशीलतामा जोड दिएको छ ।
दुई छोरी( पल्लवी र शताब्दि खनाल)की आमा मेनकाले छोरा नै चाहिन्छ भन्ने चाहना राख्दिनन् । छोरीलाई छोरासरि शिक्षादीक्षा दिन सकिएमा कुनै मानेमा छोरी पछि पर्दैनन् भन्ने उनको गतिलो तर्क छ । त्यही भएर उनले नारी एकता शक्ति केन्द्र नामक गैरसरकारी संस्था खोलेर बर्दिया जिल्लामा दुई छोरीमात्र रहेका र भविष्यमा छोराको अपेक्षा गरेर सन्तान नपाउने आमाबाबालाई सम्मान गर्ने कामको नेतृत्व गरेकी थिइन् । २०६७ सालमा उनको संस्थाले ६८ जना उक्त किसिमका जोडीलाई सम्मान गरेको मेनकाले बताइन् ।
महिलाका पाठेघरको क्यान्सर परीक्षण,निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा सुरुआती समयमा बर्दियामा सहयोग गर्दै आएका ती स्वास्थ्य कार्यक्रमहरुलाई यतिबेला स्थानीय पालिकाहरुले आफ्नो नियमित कार्यक्रममा समावेश गरेको कुराले उनी सन्तुष्ट छिन् । त्यतिमात्र होइन मेनकाले नेतृत्व गरेको संस्थाले विपन्न र एकल महिलाहरुलाई सीपमूलक तालिम,त्यसबाट स्वरोजगार सिर्जना गराउने काममा समेत उत्कृष्ट योगदान पुराउँदै आएको भुल्नै सक्दिनन् ।
मेनका दिदीबहिनीका स्वास्थ्य समस्यामात्र होइन,सामाजिक,आर्थिक एवम् राजनीतिक स्वतन्त्रता र हरेक किसिमका विभेद विरुद्धको यात्रामा छिन् । सानैदेखि क्रान्तिकारी स्वभावकी मेनका, जन्मघर दैलेमा रहँदा नेपाल मजदूर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आवद्ध थिइन् । उनका दाजु दैलेख जिल्लामा कम्युनिष्ट पार्टीको विस्तारमा योगदान पुराउने विशिष्ट नेताका रुपमा परिचित छन् ।
सानैदेखि गाउँमा हुने हरेक प्रकारका विभेद विरुद्धमा उनी सक्रिय हुन्थिन् । गाउँमा घरेलु मदिराका कारण दैनिक झैंझगडा हुने,श्रीमान,श्रीमतीकाबीच पारपाचुेक हुने र समाजमा नै विकृति हुन थालेपछि उनले मदिरा नियन्त्रणका निम्ति घरदैलोमा पुगेर मदिरा हटाउन महिलालाई जागृत गराउने कामको अभियान सञ्चालन गरिन् । त्यो उनको क्रान्तिकारी एवम् समाजलाई जागरण ल्याउने कार्यक्रम थियो ।
२०५८ सालमा उनी नेकपा एमाले समर्थित अनेम संघमा समाहित भइन् र जिल्ला नेतृत्वमा बसेर काम गरिन् । त्यसले उनलाई थप संगठित हुन र विभेद विरुद्धमा आवाज ओकल्न सम्भव भयो । जागिरसँगै यतिबेला उनी नेकपा एमालेको बर्दिया जिल्ला कमिटी सचिवालय सदस्य छिन् । विहे भएर दैलेखबाट बर्दिया सरेपछि उनी पार्टी राजनीतिमा सक्रिय छिन् । दुई पटकसम्म उनले ठाकुरबाबा नगरपालिकामा जनप्रतिनिधि हुन जमर्को गरिन् तर अवसर प्राप्त गर्न सकेकी छैनन् ।
मिसन ८४ का निम्ति सहकारीको सेवा छाडेर मूल राजनीतिमा होमिने तयारीका साथ अघि बढेकी मेनकाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनमा पदाधिकारीमा दावी पेश गर्ने सोच बनाएकी छिन् । उनको घर परिवार प्रजातान्त्रिक विचार बोक्ने तर उनी भने वामपन्थी पारिवारिक पृष्ठभूमिबाट आएकी हुनाले आफ्नो विचारको अंकुरणलाई फैलाउन तल्लीन छिन् । उनका दाजुहरु लक्ष्मी पोखरेल,टंक पोखरले र शिव पोखरेल अनि श्रीमान शंकर खनाल यतिबेला उनका राजनीतिक भरोसा बनेका छन् । बाबाआमा र सासुआमाको प्रेरणाले मेनका राजनीतिमा गतिशील एवम् प्रयत्नशील छिन् ।
सहकारी,विभिन्न गैरसरकारी संस्थाहरुमा काम गर्दै आएकी मेनकाले देशको मूल राजनीति ठीक नभएसम्म देश कुशल तरिकाले सञ्चालन हुन सक्नेमा सन्देह प्रकट गर्दछिन् । महिला अधिकारकर्मीका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल मेनकाको मूल सोच नै राजनीतिक स्थीरता र सुशासनको लागि आफूहरुजस्ता पढेलेखेका युवाहरुको मूल राजनीति र संसदीय फाँटमा हस्तक्षेप खाँचो रहेको बताइन् ।
प्रतिक्रिया