ताजा अपडेट »

विदेशीएको मानव पूँजी

शुक्रबार, ०१ भदौ २०८०, ०७ : २३
48 Shares
शुक्रबार, ०१ भदौ २०८०
48 Shares

नेपालको जनगणना-२०७८ ले करिब २२ लाख नेपाली मुलुकबाहिर रहेको देखाएको छ । यो नेपाली नागरिकता कायमै राखेर बिदेशीएकाहरूको तथ्यांक हो । यसबाहेक देश छोडेर गएका र नागरिकता पनि त्यागिसकेका नेपाली मूलका मानिसहरूको संख्या गणनामा छैन । सामान्यतः त्यो संख्या १५ लाखको हाराहारी हुन सक्ने अनुमान छ । यद्यपि, अनौपचारिक दाबीहरूमा ५० लाखदेखि ६० लाखसम्म अथवा जनसंख्याको करिब २० प्रतिशत नेपाली मुलुकबाहिर रहेको बताइन्छन् ।

वर्तमान समयमा संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियामा उतैको नागरिक भएका नेपालीहरूको संख्या अधिक छ । यस्तो संख्या कति हो भनेर राज्यले बताउन सकिरहेको छैन । छिमेकी मुलुकले बाहिरिएका नागरिकतलाई देशप्रेम भावना जगाएर उनिहरुलाई स्वदेशमा लगानीका लागि प्रेरित गरिरहेको अवस्थामा हाम्रा नेतृत्वले दाताको सहयोगमा समेत भ्रष्टाचार गरेर नागरिकहरुको हुर्मत काडिरहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्ममा करिब ८ लाख युवाले वैदेशिक रोजगारीको अनुमति लिएका छन । सोही अवधिमा थप १ लाख १० हजार युवाले विदेश अध्ययनको अनुमति पाएका छन् । पहिलेदेखि नै विदेशमै रोजगार रहेका र उतै बसोबास गरेकाहरू लाखौंमा छन् । अनौपचारिक माध्यम र पर्यटक भिसा लिएर पलायन हुनेहरूको संख्या पनि सानो छैन । रोजगारीका लागि खाडी मुलुक, मलेसिया, कोरिया, जापान आदि गएकाहरू सामान्यतः स्वदेश फर्कन्छन्, तर ऊर्जावान् उमेर उतै खर्चेर । अध्ययनका नाममा विकसित मुलुक जाने युवाहरूमा सामान्यतः स्वदेश नफकर्ने दृढ निश्चय देखिन्छ ।

वैदेशिक रोजगारीमा जानेहरूले पठाएको रेमिट्यान्स नेपालले प्रत्यक्ष रूपमा पाएको आर्थिक लाभ हो । यद्यपी उनीहरूबाट देशका लागि हुन सक्ने आर्थिक लाभ यो नै अधिकतम होइन । यसप्रकार युवा जनशक्ति मुलुकमै बसेर उत्पादनमूलक रोजगारीमा संलग्न हुने अवसर नेपलाी अर्थतन्त्रले सिर्जना गर्न सकेको परिस्थितीमा कुन तहको लाभ पाउँथ्यो भन्ने व्यवस्थित खोज–अध्ययन राज्यका तर्फबाट हुन सकिरहेको छैन । ठूलो संख्यामा युवाहरू बाहिरिँदा स्वदेशी अर्थतन्त्रमा वस्तु तथा सेवको उपभोग क्रमश घट्दो गतिमा सञ्चालित भई राजस्व सङ्कलनमा समेत नकारात्मक प्रभाव परिरहेको छ । यसले नेपाली अर्थतन्त्रमा औद्योगिकीकरण र अर्थतन्त्र विस्तारको सम्भावनालाई खुम्च्याउँछ ।

कोभिड १९ पछि विश्व विद्यालय पढ्ने उमेरका युवाहरू बाहिरिने गतिमा तिव्रता आएको छ । जसका कारण यहाँ खुलेका विश्वविद्यालय र कलेजहरूले पर्याप्त मात्रामा विद्यार्थी पाउन सकेका छैनन् । यो तात्कालिक समस्याजस्तो देखिए पनि यसरी मुलुकको दिगो विकास, प्रशासन र ज्ञान अर्थतन्त्रका लागि चाहिले सीपयुक्त जनशक्ति उत्पादन हुन सक्दैन । मुलुक सञ्चालनका लागि चाहिने अत्यावश्यक औसत वा विशेष सीपयुक्त जनशक्ति विदेशबाट आयात गर्नुपरिरहेको छ । वर्तमान समयमा नेपालमा नै रहेर विश्वविद्यालयय तहको अध्ययन गर्दा नी युवाहरु समस्यामा छन् । किनकी ४ वर्षे पढाई सक्न मात्रै ५ वर्ष लाग्छ र त्यसरी पढेको पढाईले आत्मनिर्भरता र उद्यमशील सीप सिकाउन समेत सकिरहेको छैन ।

मानविय पूँजीको पलायनले नेपाली समाजमा सामाजिक सम्बन्ध, सामाजिक सद्भाव, एकता, मानवता, मानवीयता, सामाजिक परनिर्भरता, सामाजिक न्याय जस्ता विषयलाई गौण बनाउँदै लगेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सको गलत प्रयोगले परस्त्री तथा परपुरुष यौन सम्बन्धहरु बढीरहेका छन् । जसका कारण अबोध बालबालिकाहरुले असल मातृत्व र बाबाको माया प्राप्त गर्नबाट वञ्चित भईरहेका छन् । घर परिवार तथा आफन्तका आत्मीय सम्बन्धहरु पैँसामा रुपान्तरित हुँदै गईरहेका छन् । सक्रीय प्रजनन् उमेरका युवा बाहिरिँदा जनसंख्या वृद्धि र लैंगिक सन्तुलन खलबलिएको छ । यसरी नेपाली युवाहरू र दीर्घकालमा सम्पूर्ण परिवारसमेत पलायन हुने क्रम रोक्नु र गइसकेकाहरूलाई स्वदेश फर्काउने प्रयास गर्नु आवश्यक छ । यो वर्तमान समयको सबभन्दा पेचिलो प्रश्न हो । अहिले मुलुकको शासन प्रणली प्रती बढ्दो वितृष्णा र निराशाले गर्दा विदेशीनेको सङ्ख्या अधिक छ । यसलाई समयमा नै समाधान गर्न नसकिएमा भविष्यमा नेपालको अस्तित्व नै कायम रहिरहला झट्ट भनेर विश्वास गर्न नैतिक सङ्कट छ ।

विदेशीएको दक्षजनशक्तिलाई स्वदेशमा दीर्घकालिन रुपमा स्थायी बसोबासका लागि फर्काउने कुनै ठोस योजना तथा कार्यनीति सरकार तथा विश्वविद्यालयहरुसँग नहुनुले गर्दा अहिले त्यो जनशक्तिलाई यहाँँ बोलाउन सकिएको छैन । व्यवस्थित कार्यप्रणालीमा कानुनको अधिनमा रहेर काम गरेको युवा जनशक्तिले आवश्यकता भन्दा धेरै कागजी प्रक्रियामा दुःख दिने नेपाली प्रशासकको मातहतमा रहेर काम गर्न नचाहेर पनि उनीहरु श्रमका लागि नेपाल फर्किन चाहँदैनन् । सम्पन्न र विकसित मुलुकमा जाने युवाहरुको तुलनामा अरबी मुलुकमा पसिना बेच्न गएका नेपालीहरुमा राष्ट्रियताप्रति ज्यादै धेरै प्रेम रहेको छ । यद्यपी सरकारको प्राथमिकतामा यिनीहरुको पीडामा मल्हम पट्टी अहिलेको दिनमा समेत पर्न सकिरहेको छैन ।

आर्थिक पक्षका अतिरिक्त सामाजिक सहभाव र संघुलन उत्तिकै महत्वपूर्ण छ । रोमानियाबाट पलायन हुनेमा जातीय अल्पसंख्यक र बहिष्करणमा परेका समुदायका सदस्यहरू अधिक थिए । नेपालमा यो झन् प्रकट समस्या हो । छुवाछुत लगायतका विभेदमा परेका दलित र सीमान्तकृत जाति–जनजातिहरू यहाँको सामाजिक बहिष्कार र अपहेलनाबाट उम्किन पनि भारत र अन्य मुलुकमा वैदेशिक रोजगारीमा जाने क्रम अत्यधिक छ । यहाँका सामाजिक र प्राज्ञिक संस्थाहरूले यो कोणबाट कमै खोज–अनुसन्धान गरेका छन् । तर, वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांकको सतही विश्लेषणले नै पनि यो तथ्यलाई उजागर गर्छ । धेरै समुदायमा विद्यमान परम्परागत विशिष्ट कला र सीपलाई रोजगारी र सम्मानको माध्यम बनाउन विदेशबाट फर्कनेहरूको लगानी र व्यवस्थापकीय कौशलले मद्दत गर्न सक्छ । तिनै व्यवसायको औद्योगिक आकारमा विस्तार गर्ने सम्भावनासमेत छ ।

अतः विदेशीएका नेपाली मानव पूँजीलाई स्वदेश फर्काएर उनीहरूमार्फत लगानी, उत्पादकत्व र रोजगारी बढाउने र सीप तथा ज्ञानको अभावपूर्ति गर्ने मुलुकको अभिलाषा पूरा हुने दिशामा अगाडि बढ्नु पर्दछ । वैदेशिक रोजगारीबाट फर्किने र फर्किन चाहनेहरू मुलुकका लागि आवश्यक केकस्ता सीप लिएर फर्केका छन् भन्ने अभिलेखीकरण गरिराज्यका तर्फबाट उनिहरुकै सीपमा आधारमा उद्यमशीलता विकासका उत्प्रेरणामूलक योजनाहरू बन्नु आवश्यक छ ।

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल