महिलाका असाध्यै ठूलो पर्व तीज हो । यसको महिमा बारे अतीतमा धेरै कुरा सुनिन्थ्यो । पर्वका आआफ्नै अस्तित्व र महिमा नहुने कुरै भएन । तीज पर्व पहिला कसरी मनाइन्थ्यो, अचेल कसरी मनाइन्छ र भविष्यमा कसरी मनाइएला भन्ने कुराका बारेमा चिन्तन भइरहेकै छन् ।
समय, काल, परिवेश र परिस्थितिले हरेक कुरालाई आफ्नै तौर–तरिकाले व्याख्या, विश्लेषण र अर्थ लगाउने गर्छ । इतिहासलाई केलाउँदै त्यसमा समावेश भएका कुराहरुलाई वैज्ञानिक प्रयोगका निम्ति पहल हुने गर्दछ । अवैज्ञानिक पद्धति र प्रक्रियाहरु कालान्तरमा विलिन भएर जानु स्वभाविक नै हो ।
स्वामी मुख हेरुँ भने खुन खाएको बाघ झैं
सासु मुख हेरुँ भने पोल्ने आगो झैं ।
त्यतिबेला गाइएको यो गीत बढी निन्दामुखी लाग्छ । सारै पीडाबोध गरेकी घरकी बुहारीले आफ्नो माइतमा आएर यतिभन्दा आत्मशान्ति पाउँथिन् होला र भनेकी पनि हुन सक्छिन् । रुँदा बग्ने आँसुले पीडा बगाएर लैजान्छ भन्थे, हुन सक्छ ।
तीजलाई हिजोको दिनमा मनाइने आफ्नै खालका ढर्रा र ढाँचाहरु थिए । हुन त पराइ घर गएकी चेलीहरुले माइतीघर आएर तीजको अवसरमा आफ्ना पीर, व्यथा अभिव्यक्त गर्ने, पोख्ने माध्यमका रुपमा लिने गरेको पाइन्छ । यतिमात्र काफी पक्कै होइन होला । कतिपय राम्रा कुराहरुलाई आफ्ना माइतीमा बयान गर्नुपनि थियो होला ।
त्यतिबेला गाइने गीतहरुले त्यो समयलाई प्रतिनिधित्व समेत गरेको भेटिन्छ । तत्कालीन समयको रहनसहन, चालचलन, रीतिरिवाज र परम्परालाई व्याख्या विश्लेषण गरेको समेत भेटिन्छ । नेपाली महिलाहरुले आफ्ना बहादुरीका कथाहरु पनि तीजमा प्रस्तुत नगरेका होइनन् । प्राकृतिक प्रकोपहरुबाट हुन पुगेका क्षतिहरुलाई तीजका गीतहरुमा लयवद्ध गरेको सुनिन्थे । गाउँघरमा तीज आउनु रमाइलोमात्र होइन चेलीबेटीहरुसँगको भेटघाट र वितेका कुराहरुलाई सम्झाउने पर्वका रुपमा समेत लिएको पाइन्छ ।
मीठा, मसिना दरका रुपमा खुवाउने र खाने चलन पुराना भएपनि त्यसमा मिश्रण हुने खाद्य चीजहरुको बारेमा समेत जानकारी मिल्थ्यो । तीजका बेलामा पाइने तामा, बोडी र त्यसैलाई मिसाएर बनाइएको तीजको गीतले समयको आवाज ओकल्ने गर्दथ्यो । हाम्रो नेपाली समाजमा अनेक प्रकारका पर्वहरु छन् । सबै पर्वहरुका आफ्नै इतिहास,महत्व र परिवेश छन् ।
तीजको खाजा मीठा पोलेका तामाले
नरोऊ भाञ्जी लिन आउँछु भन्थे मामाले..
यो गीतमा तामाका कुरा, मामाका कुरा समावेश हुँदा तत्कालीन परिवेशका कुरा जोडिएका छन् ।
बहुदल आएपछि तीजलाई राजनीतिक पार्टीका आफ्ना भगिनी संगठनमार्फत महिला आन्दोलन र अधिकारसँग जोडेर मनाउन थालेको भेटिन्छ । यसो हुनु राम्रै हो । महिलाहरुले महिला अधिकार, आन्दोलन र उपलब्धिहरुसँग तीजलाई वैज्ञानिक तरिकाले मनाउनुलाई न्ययोचित मान्न सकिन्छ ।
तीज प्रतियोगिता आयोजना गरेर महिलाहरुका दुःख, पीडा, संघर्ष र सफलतालाई अक्षरमा उनेर, गलामा बुनेर गाउन थालेपछि महिलाहरु धेरै अघि पुगेको अनुभूत हुने गरेको छ । महिला पहिला भन्ने नारा घन्किन थालेको छ । त्यसको कार्यान्वयनमा जोड दिइएको छ । पहिलाभन्दा केही कुराहरु अधिकारकर्मी महिलाहरुले आन्दोलनकै रुपमा लिएर हटाउँदै आएका पनि छन् । तीजमा गहँना र लुगा प्रदर्शन गर्ने पुरानो परम्परालाई निरुस्ताहित गरेर वर्गीय समानताका पक्षधरता प्रदर्शन गरिरहेका छन् ।
हुँदा खाने र हुने खाने महिलाहरुका दरार कम गर्ने प्रयत्न प्रवल भएर गएको छ । नेपाली महिलाहरु अन्याय सहेर होइन, त्यसका विरुद्धमा एकजुट भई लाग्नुपर्छ भनी डटेर अघि बढिरहेका छन् । तीज सांस्कृतिक पर्व हो । यसका सांस्कृतिक महत्वहरु छन् । वैज्ञानिक महत्वहरुलाई पालना गर्दै अवैज्ञानिक एवम् स्तरहीन नियम र संस्कारहरुलाई हटाउँदै जानुको विकल्प छैन ।
केही समय नेपाली समाजमा ठूल्ठूला पार्टी प्यालेसहरुमा तीज पर्व महिनौंसम्म भड्किलो, रवाफिलो तरिकाले मनाउँदै आइएको पाइन्थ्यो तर यतिबेला आर्थिक अभाव, संकट र महिलाहरुमा देखिएको सचेतनाले पक्कै त्यस्ता दर खाने र खुवाउने गलत परम्पराहरु हट्दै गएका छन् ।
बरु केही महिला संगठनहरुले तीजलाई वर्गीय चेतका आधारमा कस्तो पर्व हो र कसरी मनाउने हो भन्ने विषयमा विचार गोष्ठीहरु सञ्चालन गरेको भेटिन्छ । तीजको इतिहास,वर्तमान परिवेश र भविष्यप्रतिको चेष्टा प्रकट भएको समेत देखिन्छ ।
जहाँ मनाए पनि, जेसुकै खाएपनि, जे गरेता पनि अरुलाई बाल मतलव भन्नेहरु पनि छन् । तर,तीजले पार्ने सकारात्मक प्रभाव र नकारात्मक असरका बारेमा सबैले जान्नु,बुझ्नु अधिकार समेत हो । आफ्नो अधिकार,आफूले प्रयोग गरिहँदा कतै अरुको अधिकारमा खेलवाड वा संकुञ्चन ल्याइएको त छैन ।
ओइ ! बेलैमाथि घर आउँछन्,
बाहिर पनि जाँदैनन्
मेरा त बुढाले रक्सी खाँदैनन् ।
यस्ता सादगी गीतलाई ब्यङ्गात्मक बनाइएको छ । टिकटकमा हेर्न समेत सकिएको छैन । तीजका कुरा गरिरहँदा हाम्रो समाज कता गइरहेको छ, बुझ्न कठिन छैन । तीजमा सही सन्देश दिन यो गीत काफी छ । आफ्ना श्रीमानका बारेमा प्रंशसा छ । तर, गीतले अनर्थ दिने गरी समाज तताएको छ ।
प्रतिक्रिया