ताजा अपडेट »

नवलपरासीको त्रिभुवन क्याम्पसका विद्यार्थी र प्रहरी बीच झडप, ११ जना घाइते

विहीबार, २५ साउन २०८०, १७ : २३
22 Shares
विहीबार, २५ साउन २०८०
22 Shares

सुनवल । पश्चिम नवलपरासीको प्रतापपुरमा स्थित त्रिभुवन क्याम्पस बेलाटारीका विद्यार्थी र प्रहरी बीच विहिबार दिउँसो झडप भएको छ । प्रतापपुर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएका विद्यार्थी र प्रहरीबीच झडप हुँदा ११ जना घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । झडपमा प्रहरी निरीक्षकसहित ७ प्रहरी घाइते छन् । घाईते विद्यार्थीबारे प्रहरीले यकिन नगरेपनि बेलाटारी क्याम्पसका क्याम्पस प्रमुख मनोजधर द्विवेदीले चारजना विद्यार्थी घाईते भएको बताए ।

विद्यार्थीले ढुंगामुढा गर्दे पार्किङ्गमा रहेका सवारी साधनमा तोडफोड गर्न थालेपछि आश्रुग्याँस प्रहार गर्नुपरेको प्रहरीको दाबी छ । सो क्रममा पार्किङ्गमा रहेको एउटा कारको सिसा फुटेको छ । त्रिभुवन माविले त्रिभुवन क्याम्पसमा कक्षा ११ र १२ को दिवा कक्षा सञ्चालनका लागि कक्षाकोठा माग गरेपछि विवाद सुरु भएको हो । दिउँसोमा कक्षा कोठा उपलब्ध गराउन नसक्ने क्याम्पस प्रशासनको अडानपछि बुधवार प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा त्रिभुवन क्याम्पसमा लगाईएको ताला केही जनप्रतिनिधिको रोहवरमा नगर प्रहरीले तोडेको थियो ।

बिहिवार त्यसैको विरोधमा त्रिभुवन क्याम्पसमा अध्ययनरत विद्यार्थी गाँउपालिकामा तालाबन्दी गर्न गएपछि प्रहरीसँग झडप भएको थियो । त्रिभुवन माविले नयाँ भवन निर्माणको चरणमा रहेकाले केहि समयका लागि दिउँसोमा कक्षा सञ्चालन गर्न दिन क्याम्पससँग आग्रह गरेपनि क्याम्पसले क्युएए प्राप्तीको प्रक्रियामा रहेको बताउँदै त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुरुप कक्षा कोठा उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि विवाद उत्कर्षमा पुगेको हो । शैक्षिक स्थलमा भएको यो विवाद अहिले पुर्व मन्त्री तथा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको प्रतिष्ठाको लडाई बनेको छ ।

दुवैको आह्वानमा छुट्टाछुट्टै अभिभावक भेला गर्दै समर्थन जुटाउने कोसिस भएको थियो । गाउँपालिकाले उक्त भवन त्रिभुवन माविको स्वामित्वमा रहेको दाबी गर्दै क्याम्पसले कक्षा कोठा सञ्चालन गर्न दिन्न भन्नु तर्क संगत नहुने दाबी गर्दै आएको छ । त्रिभुवन मावि र त्रिभुवन क्याम्पस प्रतापपुर ९ बेलाटारीमा एकै स्थानमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।