बुटवल । रुपन्देहीको लितोत्तमा–३ चिन्तामणी कम्प्लेक्समा विगत २ वर्षदेखि विपासना फर्टिलिटी सेन्टर सञ्चालन सञ्चालन हुँदै आएको छ । छोटो अवधिमा पनि धेरै दम्पत्तिले सेवा प्राप्त गर्न सफल भएको बताउँछिन् अस्पतालकी सञ्चालिका डा. लक्ष्मी भट्टराई । उपचारपछि निसन्तान दम्पत्तिले प्राप्त गरेको खुसीले निकै आनन्दित बनाउने गरेको उनी बताउँछिन् ।
लुम्बिनी प्रदेशमै पहिलो (आइ.भि.एफ.) पद्दतीमा उपचार गराउने विपासना सेन्टरमा हालसम्म ७ सय बढी दम्पत्तिले विभिन्न उपचार सुविधा लिएको उनले बताइन् । सन्तान प्राप्तिका लागि आउने दम्पत्तिलाई स्वास्थ्य उपचार मात्रै होइन सामाजिक सचेनाका कुराहरु पनि सिकाएर पठाउने गर्छिन् उनी । डा. लक्ष्मीका अनुसार परिवर्तित् जीवनशैली, खानपान, वातावरण लगायत विभिन्न कारणले बाझोपनको समस्या दिन–प्रतिदिन वृद्धि हुँदै गएको छ । केही समय अघिसम्म बाँझोपनलाई हाम्रो समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्थ्यो । सामाजिक जनचेतनासँगै यो समस्या विस्तारै हराउँदै गएपनि निर्मुल नै भएको अवस्थामा भने छैन । दम्पत्ति बीच निशान्त हुने वित्तिकै हाम्रो जस्तो पीतृसत्तात्मक समाजमा सबैभन्दा पहिले महिलालाई नै दोष लगाउने प्रचलन अझै हराई सकेको छैन ।
अझै पनि महिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पुरुषको बाँझोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ । बाँझोपन महिलामा मात्रै हुने समस्या हो भन्ने धारणासमेत विद्यमान छ । यसकै कारण महिलाहरू घरेलु हिंसाको शिकार बन्न पुग्छन् । जबकि बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ । बाँझोपनको समस्या र यसबाट मुक्त हुन श्रीमान तथा श्रीमती दुवै जनाको भूमिका उत्तिकै रहने बताउँछन् चिकित्सकहरु ।
विभिन्न उपचारहरुबाट पनि सन्तान प्राप्त हुन नसकेका दम्पत्तिहरुका लागि भित्रिएका नयाँ–नयाँ प्रविधिले राहत मिलेको छ । स्वास्थ्य क्षेत्रमा भित्रिएका आधुनिक उपचार पद्दतीसँगै अब बाझोपनको समस्या झेलीरहेका दम्पत्तिले पनि सन्तान प्राप्त गर्न सक्ने प्रविधिले खुसी थप्ने काम गरेको डा. लक्ष्मी बताउँछिन् ।
यसैबीच उपचारका लागि काठमाडौं तथा छिमेकी मुलुक भारतमा समेत पुग्नु पर्ने समस्यालाई अन्त्य गर्नका लागि यस क्षेत्रमै पहिलो आईभिएफ उपचार सेवा उपलब्ध गराइएको डा. लक्ष्मीले बताइन् । अनुभव प्राप्त चिकित्सक तथा विशेषज्ञद्वारा दम्पत्तिहरुलाई आवश्यक परामर्शसहित आधुनिक प्रविधिको प्रयोग गरी उपचार गरिने उनले बताए ।
सामान्यताय विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा, करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्निन्छ । लगभग ८५ प्रतिशत दम्पतिमा विवाहको पहिलो वर्षमै कोसिस गरेमा बच्चा हुने सफलता हुन्छ भने यसमध्ये ७ प्रतिशत दम्पतिमा विवाहको दोस्रो वर्षमा बच्चा हुने समभावाना हुन्छ । बाँकी १५ प्रतिशत लाई बाँझोपनमा राख्न सकिन्छ । नेपालमा बाझोपन एक बढ्दो समस्याका रुपमा आएको छ । सन् २०१६ को स्वास्थ्य सर्वेक्षणका अनुसार ७ दशमलव ४ प्रतिशत महिलामा बाझोपनको समस्या भेटिएको अस्पतालकी सञ्चालिका डा. लक्ष्मीले बताइन् ।
महिला पुरुष दुबैमा बाझोपनका धेरै कारणहरु छन् । जसमध्ये महिला तथा पुरुषको उमेरसँगै प्रजनन् क्षमता पनि घट्दछ । अहिले मानिसहरु कार्य व्यवस्तताका कारणले बच्चा जन्माउन ढिलाई गरेको देखिन्छ । यसको असर प्रजनन् क्षमतामा पनि पर्न जान्छ । उमेरसँगै महिलामा हर्मोनको गडबडी, महिनावारीमा समस्या तथा पुरुषमा शुक्रकिटमा समस्या आउने गर्दछ । अस्पतालकी डा. शिला क्षेत्रीका अनुसार यसबाहेक हाम्रो जीवन शैलीको छनोट पनि प्रमुख कारण हो । धुम्रपान, मद्यपान तथा लागुपदार्थको प्रयोगले प्रजनन् क्षमतालाई असर गर्न सक्छ । यसैगरी व्यस्त जीवनशैलीसँगै मानिसमा हुने तनावको स्तर बढ्नुले पनि बाझोपनको समस्या निम्तिन सक्छ किनभने मस्तिष्क तथा पाठेघर एक–अर्काप्रति निर्भर हुन्छन् । स्वास्थ्य सम्बन्धि अन्य समस्याहरु जस्तै थाइरोइडमा समस्या, वजन बढ्नु, हर्मोनमा गडबडी आदी कारणले पनि बाझोपनको समस्या निम्तिन सक्छ ।
तिलोत्तमामा सञ्चालित विपसाना फर्टिलिटीमा उपचारमा आउन चाहने दम्पत्तिहरुको गोपनीयता विशेष ख्याल गरेर उपचार सेवा उपलब्ध गराउने गरिएको उनले बताइन् । उनीहरुको गोपनीयताका लागि निकै सचेत भएर काम गर्ने बताउँदे उनले सामान्यतया उपचारका लागि आउने सेवाग्राहीहरुले अधिकांश फोन तथा अन्य माध्यमबाट पहिले नै बुझेर आउने हुँदा उनीहरु पहिले नै मानसिक रुपमा तयार भएर उपस्थित हुने गरेको पाइएको छ । केही सेवाग्राही एक्लै पनि उचारका लागि आएको खण्डमा उनीहरुलाई दुबै जना आएर स्वास्थ्य परामर्श र उपचारमा सहभागी हुन सुझाउने गरेको डा. लक्ष्मीले बताइन् । ‘उहाहरुले आफ्नो समस्या हामीसँग खुलेर राख्ने गरे पनि सामाजिक रुपमा बाहिर आउने चाहाना खासै प्रकट गरेको पाइँदैन । सोही अनुसार उहाहरुको गोपनीयताका बारेमा हामीले सचेत भएका हुन्छौं ।’– उनले भनिन् ।
उमेर समूहको हिसाबले अधिकांश ३० देखि ३५ वर्ष उमेर समूहका दम्पत्तिहरु समस्या लिएर आउने गरेको उनले बताइन् । यो उमेर समूह बाहेकका पनि उपचारका लागि आउने गरेका छन् । यसरी ढिलागरी उपचारका लागि आउनुमा धेरै कारणहरु छन् । पहिलो त उनीहरुको व्यस्त जीवन शैली नै हो । उपचारका लागि समय छुट्याउन नसक्नु । ‘यो वर्ष नभए अर्को वर्ष त होला’ भनेर लामो समयसम्म उपचारै नगरी समय बिताउने लगायत कारणले उपचारमा ढिलाई गर्ने समस्या देखिएको अस्पतालकी डा. शिलाले बताइन् । समयमै उचार गराउँदा सजिलै समाधान हुन सक्ने समस्या पनि ढिला गर्दा थप जटिल पनि बन्न सक्छ भन्ने कुरामा ध्यान नपुगेर पनि यसो भएको हुन सक्ने उनले उल्लेख गरिन् ।
निसन्तानपन भएका दम्पत्तिहरुका लागि आइयूआई सेवा, आईभिएफ सेवा तथा आइसीएसआई सेवा उपलब्ध गराउँदै आएको अस्पतालमा खासगरी आई.भि.एफ. सेवा बारे बुझ्न र सेवा लिन आउनेको सङ्ख्या उल्लेख्यमात्रामा रहेको उनले बताइन् । उनका अनुसार आइभिएफबारे धेरैको कमजोर बुझाइ रहेको पाइन्छ । आइभिएफ गरेर बच्चा जन्माएको भन्ने कसैलाई थाहा नहोस् भन्नेहरू पनि हुन्छन् । कतिपयले यसरी जन्मिने बच्चा नियमित प्रक्रियाबाट जन्मिनेभन्दा फरक हो भन्ने गलत धारणा पनि बनाएको पाइन्छ । उनले भनिन् ‘आइभिएफ पद्दतिबाट जन्मने बच्चा सामान्य हुन् । जुन प्रक्रियाले पाठेघरभित्र बच्चा बन्छ त्यही प्रक्रिया प्रयोगशालामा गरिएको मात्र हो । नेपालमा यसको प्रयोगबारे विस्तारै सचेतना फैलिँदैछ ।’
डा. शिलाले आईभिएफ सेवा बारे यसरी बताइन् : सामान्यतया केटी मान्छेमा महिनावारीको बीचको समयमा एउटा अण्डा बन्छ । त्यो अण्डा डिम्बाशयबाट निस्किएर ट्युबमा जान्छ । त्यही बेला यौनसम्पर्क हुँदा योनीबाट विर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ । यसरी ट्युबमा बनेको भ्रुण पछि आएर पाठेघरमा बस्छ । बच्चा बन्ने यो एउटा सामान्य प्रक्रिया हो ।
यदि कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग गरिन्छ । बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई आइभिएफ (इनभिट्रो फर्टिलाइजेशन) पद्दति भनिन्छ । सामान्य भाषामा टेष्ट्युब बेबी ।
सुरूआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले त्यसलाई टेस्ट्युब बेबी भनिएको हो । महिलाको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको, अन्य कुनै महिलाको अण्डा लिनुपर्ने भए वा पुरुषको विर्यमा कुनै खराबी देखियो भने अण्डा र विर्य झिकेर संयोजन गराइन्छ । यसरी लिइएको अण्डा र विर्य प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा ३ देखि ५ दिनसम्म राखिन्छ । त्यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै आइभिएफ पद्दति हो ।
प्रतिक्रिया