ताजा अपडेट »

कृष्ण अन्जान: मृत्यु शैयाको संघारमा पनि समाचार !

शनिबार, २० साउन २०८०, १४ : १८
22 Shares
शनिबार, २० साउन २०८०
22 Shares

गुल्मी । आमाको मृत्युपछि घरमा उनको बसाई एकल थियो । श्रीमतिको बसाई माईती घर पोखरामा । श्रीमति, छोरा छोरीहरु अथवा परिवारबाट एक्लो भएर बस्दाको जीवनबाट बिचलित भएर सामाजिक हैसियत गुमाएर हिड्ने मानिसहरु थुप्रै रहेका उदाहरणहरु पनि छन । तर उनि कहिल्लै बिचलित नभई अनवरत समाचार संकलन र लेखनमैं अभ्यस्त भईनैरहे ।

उनी मधुमेह रोगले ग्रस्त थिए र पनि यो संसारबाट बिदा हुनुको एक दिन अघिसम्म अशक्त अबस्थामा समेत समाचार लेखेर अर्को दिन अर्थात शुक्रबार साँझ यो संसारबाट बिदा भए । उनी अर्थात गुल्मी जिल्लाका दोश्रो पुस्ताका पुराना पत्रकार कृष्ण अञ्जान ( ज्ञवाली ) । रुरुक्षेत्र गाउँपालिका–१ थोर्गा निवासी ज्ञवाली ५५ वर्षको उमेरमै यो संसारबाट विदा भएका छन र गुल्मी जिल्लाको संचार क्षेत्र र उनका पाठकहरु उनको दुःखत समाचार बाहिरिए देखि शोकाकुल बनेका छन ।

०५२ साल भदौं ५ गते नेपाल प्रेस युनियन गुल्मीको प्रथम अधिवेशन हुँदा कार्य समिति सदस्यमा निर्वाचित अञ्जान तत्कालिन ग्रामिण बिकास बैंक तम्घास शाखामा जागिर खाँदादेखि नै समकक्षी पत्रकार रहेको प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुँवरले बताए । उनी २०५७ सालतिर तम्घासबाट प्रकाशित रेसुङ्गा शिखर सन्देश साप्ताहिक र पछि गुल्मी टाईम्स साप्ताहिकमा समेत संवादाता रहेको कुँवर बताउँछन ।

पछि उनि प्रेस चौतारीमा प्रवेश गरे । काठमाण्डौंबाट प्रकाशित समाचार पत्र दैनिकमा उनि तम्घास डेटलाईनबाट र आफूले गुल्मी डेटलाईनबाट रिर्पोटिङ्ग गर्ने गरेको कुँवर स्मरण गर्छन । २०६० को दशकमा उनी बैंकको जागिरबाट पोखरा सरुवा भई गएपछि पनि त्यहीबाट पत्रकारितालाई निरन्तरता दिदै आएका थिए । पछिल्लो चरण उनका खुट्टा सुनिएर बेहाल अवस्था बनेको थियो ।

उनलाई उपचार खर्चको अभाव बुझेर अस्ट्रेलियामा रहेकी छोरीले ६० हजार पठाई दिएकी थिईन । यहि क्रममा नेकपा एमाले उपमहासचिव तथा पुर्वमन्त्री प्रदिपकुमार ज्ञवाली रोगको पहिचान त्यतै गरेर आउनुहोस उपचार हामी गर्दछौं भनि बोलाएपछि शुक्रबार विहान १० बजेतिर थोर्गास्थित घरबाट हिँडेको छिमेकी प्रेम भण्डारी बताउँछन ।

तर उनी स्वास्थ्य परीक्षण गराउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगेको र त्यही उनको हृदयघातबाट निधन भएको बताईएको भण्डारीले बताए । लामो समय पोखरातिर घर ज्वाँई बसेका कृष्ण अञ्जान श्रीमतिसंग राम्रो सम्वन्ध नभएपछि शान्ति प्रकृया पश्चात घर फर्केर आमासंग बस्दै आएका थिए ।

उनका एक छोरा र एक छोरी छन । उनलाई परिवारबाट माया दिने भनेकै अस्ट्रेलियामा रहेकी छोरी हुन । बाबुलाई उचार गर्न काठमाण्डौ जानु पर्ने भएपछि उनै छोरीले ६० हजार पठाएर हिजो विहान १० बजेतिर हिँडेका हुन' भण्डारीले भने–‘बिमारले ग्रस्त भएको त्यो अवस्थामा पनि उहाँ हरेवा स्थित जिवराज आश्रितको ८० औं जन्मजयन्तीको स्मृतिमा बृक्षरोपण कार्यक्रमको समचार लेखेका थिए । ’

सेतोमसी अनलाईनमा प्रकाशित उनको त्यही समाचार नै अन्तिम समाचार बन्न पुग्यो । उनले बुटवलबाटै प्रकाशित ग्लोवल आवाजमा पनि कहिलेकाही समाचार लेखेर पठाउँने गर्दथे र स्थानीय रेडियोहरुमा पनि उनका समाचार प्रशासरण हुने गर्दथे । उनको समाचारमा सिर्जना हुने गर्दथ्यो । समस्या उठानसंगै समाधानमा सुझाव हुने गर्दथ्यो । साहित्य लेखनबाट आम पत्रकारितामा दख्खल राखेका अञ्जानको पछिल्लो चरण उचित पारिश्रमिक दिने ठीला मिडियाहरु थिएनन् । आर्थिक अभावका बाबजुद पनि उनले पत्रकारितालाई निरन्तर अगाडि बढाए ।

पत्रकारिताले उनलाई रगड्यो तर उनले पारिश्रमिक रगट्न भने सकेनन् । यहाँ सम्मकी उपचार खर्च समेत जुटाउन उनले सकेनन् । यो अवस्था देशका अधिकांस पत्रकारहरुको हो । न मिडियाले बाँच्ने आधार सिर्जना गरेको छ न राज्ले नै यो क्षेत्रमा काम गर्नेहरुको भविष्य सुनिश्चित गरेको छ ।

घर गोठ पहिरोले तानेर जोखिम मोलेका अञ्जानले नेपाल पत्रकार महासंघ गुल्मीसंग सहयोगका लागि निवेदन दिएका थिए । सोही अनुरुप रुरुक्षेत्र गाउँपालिकासंग समन्व्य गरेर पहिरो रोकथामका लागि वाल निर्माण पालिकाले गरी दिएको महासंघ अध्यक्ष टोपलाल अर्याल बताउँछन । छिमेकी भण्डारीका अनुसार अस्ट्रेलियामा रहेकी छोरीले आफू नआउने बेलासम्म अन्त्यष्टिका लागि रोकेकोले अञ्जानको पार्थिव शरिर अस्पतालमै छ । गत वर्ष आमाको मृत्यु भएपछि एक्लै बसेका अञ्जानले आफै खाना पकाउनेदेखि घरको सबै काम सकेर पत्रकारितासंगै समाज सेवामा तल्लीन थिए ।

ग्रामिण भेगमा रहेर पत्रकारितालाई निरन्तरता दिएका अञ्जान द्वन्द पीडित हुन । उनका बाबुलाई तत्कालिन सुरक्षाकर्मीहरुले माओवादीलाई आक्रमण गरे भन्दा उनलाई गोली लागेर ज्यान गएको भण्डारी बताउँछन ।

पोखरा स्थित श्रीमति छोरा बुटवल आई सकेको हुन सक्ने भण्डारीले बताए । छोरी आए पछि उनको पार्थिव शरिर रिडी ल्याईने बताईएको छ । उनले प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश सदस्य रहेको सो संगठनका गुल्मी जिल्ला अध्यक्ष अनिल खत्रीले बताए । २०७८ चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ गुल्मीको अधिवेशनमा उनी प्रेस चौतरीको तर्फबाट उपाध्यक्षका उमेदवार थिए । झिनो मतले उनी प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनबाट पराजित भएका थिए भने रेशम कुँवर विजयी भएका थिए । मिलनसार उनी पराजित भए पनि हंशमुख विजयी साथीहरुलाई बधाई दिन आएका थिए । आर्थिक अवस्था जे सुकै होस उनको पहिरन सधैव ‘हाईप्रोफाईल ’ स्तरकै हुन्थ्यो। अञ्जान चस्मामा शौखिन थिए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार