भैरहवा । गत वर्षको तुलनामा सिद्धार्थनगर नगरपालिकाले करको दरमा अत्याधिक वृद्धि गरेको भन्दै नगरवासीले बिरोध गरेका छन् । भैरहवाका युवा बिएन गुप्ताले नगरपलिकाले कुन आधारमा कर बढाएको भन्ने आफुले नबुझेको बताए । ‘गत आर्थिक वर्ष र ती भन्द अघिका बर्षहरुमा मैले एकीकृत सम्पत्ति करको रुपमा मैले २ सय ५० रुपैयाँ बुझाउने गरेको थिए ।’ गुप्ताले भने ‘चालू आर्थिक बर्षमा सोही सम्पत्तिको बुझाउन जादा १० हजार रुपैयाँ तिर्नु पर्यो, कति अनुपातमा बढ्यो आफै हिसाब गर्नुहोस ।’
साउन महिनामै कर तिर्ने करदाताहरु वडा सम्पत्ति कर तिर्न जादा करको दर सुनेर तर्सिने गरेका छन् । नगरपालिकाले अध्ययन नै नगरी कर निर्धारण गरेको उनीहरुको आरोप रहेको छ । ‘गत वर्ष र अहिलेका सम्पत्तिकर, भूमिकर लगायतको दर एक्कासी बढाईएको रहेछ, बुझाउन जादा मात्र थाहा भयो’ स्थानीय मनिष भट्टराईले भने ‘जनताको ढाड सेक्ने गरी कर बढाउदा जनतालाई के सुबिधा दिएका छौ त्यो हेक्का छैन, कसरी हुन्छ असुली गर्ने तर्फ मात्रै नगरपालिकाको ध्यान छ ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले मालपोत कार्यालयले तोक्ने जग्गाको न्युनतम मुल्यांकन अनुसार कर निर्धारण गरिएको बताए । बिगतमा मालपोतको मुल्यांकन र नगरपालिकाको मुल्यांकन फरक फरक भएकोले अहिले सोहिलार्इ एकरुपता मात्र दिएको उनको भनाइ छ । मालपोत मुल्यांकनको आधारमा शून्य दशमलव एक प्रतिशत मात्र कर लिएइको उनले जानकारी दिए । ‘अहिले विभिन्न योजना सहित आउन लागेको एडीबीको शर्तमा पनि यहि उल्लेख छ ।’ पौड्यालले भने ‘बुटवलमा धेरै पहिला देखि नै लागू छ अहिले हामीले पनि गरेका हौँ ।’
नगरपालिकाको यस कदमको सत्तापक्ष दलहरुले नै बिरोध जनाउँदै कर वृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन्। नगरमा नवगठित भैरहवा युवा सन्जाल, नेपाली कांग्रेस सिद्धार्थनगर एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीले कर घटाउन माग गर्दै नगरप्रमुखलाइ ज्ञापनपत्र बुझाएका छन । सिद्धार्थनगर नगरपालिकाद्वारा सम्पत्ति कर एवम् अनियमित तरिकाले राजस्व वृद्धि गरेको ती संगठनहरुको आरोप रहेको छ । उनीहरुले यो निर्णयलाई सच्च्याएर कर वृद्धिको निर्णय फिर्ता गर्न अल्टिमेटम समेत दिएका छन ।
प्रतिक्रिया