गुल्मी । गत आर्थिक बर्षमा गुल्मीमा एक अर्ब बढी राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको विवरण अनुसार गत वर्ष जिल्लाभर १ अर्ब १ करोड १५ लाख १० हजार ७५० रुपैयाँ राजश्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा ६ करोड बढी राजश्व संकलन भएको र प्रदेश सरकारमा जाने राजश्वमा २ करोड बढी रकम घटेको छ । संघ सरकारमा जाने राजश्व ९ करोड भन्दा बढी बृद्धि भएको छ ।
सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७८"७९ मा कुल ९४ करोड २३ लाख ८५ हजार ३९५ रुपैयाँ राजश्व संकलन भएको थियो । गत आर्थिक वर्षमा भने ६ करोड भन्दा बढी राजश्वमा बृद्धि भएको बताए । त्यस्तै गत वर्ष प्रदेशको राजश्व १० करोड ९६ लाख ३४ हजार ११६ रुपेयाँ संकलन भएकोमा गत आर्थिक वर्षमा दुई करोड भन्दा बढी घटेर ८ करोड ६६ लाख ३३ हजार ९१९ रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै संघ तर्फ अघिल्लो आर्थिक वर्षमा ८३ करोड २७ लाख ५१ हजार २७८ राजश्व संकलन भएकोमा गत आर्थिक वर्षमा झण्डै १० करोड बढी बृद्धि भई कुल ९२ करोड ४८ लाख ७६ हजार ८३३ रुपैयाँ राजश्व संकलन भएको छ ।
यस हिसाले गत वर्ष अघिल्लो वर्षको तुलनामा प्रदेशको राजश्व २ करोड ३० लाख १६६ रुपैयाँ राजश्वमा कमी आएको देखिन्छ भने संघतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा ९ करोड २१ लख २५ हजार ५५५ रुपैयाँ राजश्वमा बृद्धि आएको कोष नियन्त्रक यामलाल श्रेष्ठले जानकारी दिए । प्रदेशमा घट्नु र संघमा राजश्व बढ्नुको कारण पालिकाहरुमा काम हुन नसकी फिर्ता रकम सो कार्यालयको तथ्याङकमा देखिनु रहेको श्रेष्ठले बताए । अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न पालिकामा प्रदेशबाट विनियोजित बजेट मध्ये ९८ करोड ४३ लाख ५ हजार ५०१ रुपैयाँ काम हुन नसकी फिर्ता भएको थियो ।
यस वर्ष भने ७२ करोड ८१ लख १ हजार ४३६ रुपैयाँ मात्रै जानुले प्रदेशबाट संचालित विकास योजनाहरुको रकम धेरै नै खर्च भएको देखिन्छ । त्यस्तै गत वर्ष संघको कुल बजेट मध्ये ४१ करोड ९२ लाख ६० हजार ६९५ रुपैयाँ काम हुन नसकी फिर्ता भएकोमा यस वर्ष झण्डै ५ करोड बढी अर्थात ४५ करोड २७ लाख ३३ हजार ६८० रुपैयाँ काम हुन नसकी फिर्ता भएको छ ।
माथि उल्लेखित राजश्व मध्ये घरेलु तथा साना उद्योग कार्यालयबाट ३० लाख ७९ हजार ७५ रुपेयाँ संकलन भएको थियो । त्यस कार्यालय प्रमुख सुरेन्द्र भण्डारीले अघिल्लो आर्थिक वर्षको तुलनामा त्यस कार्यालयको राजश्व संकलनमा झण्डै १० लाख कमी आएको र ५ लाख सम्म स्थानीय सरकारमै ब्यवसाय दर्ता हुन थालेकोले घटेको बताए । त्यस्तै करदाता सेवा कार्यालय मार्फत ३६ करोड ७३ लाख ११ हजार ४४ रुपैयाँ राजश्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा तीन करोड बढी राजश्व बृद्धि भएको कार्यालय प्रमुख जमुना गिरीले बताईन ।
अघिल्लो वर्षको तुलनामा बृद्धि हुनुको कारण करदाताको विगतमा फरक देखाएको कारोवार गत बर्ष १.५ प्रतिशत कर तिरेमा सच्चाउन पाउने अवसर सरकारले दिएको थियो । ६/७ सय जनाले उक्त कर तिरेर २ करोड ३५ लाख बृद्धि भएको गिरीले बताईन ।
जिल्लामा सबै भन्दा बढी राजश्व संकलन गर्ने जिल्ला प्रशासन कार्यालय रहेको छ । उसले गत आर्थिक वर्षमा राहदानी सहित कुल ७ करोड ३८ लाख १८ हजार ७०० रुपैयाँ राजश्व संकलन गरेको छ । व्यवसायीहरु धमाधम कम्पनी दर्ता र पानमा जान थालेपछि राजश्व बृद्धिमा टेवा पुगेको देखिन्छ । ब्यक्तिगत फर्मबाट मात्रै आयकरबाट ९ करोड ८० लाख ९५ हजार ७१३ रुपैयाँ राजश्व संकलन भएको करदाता सेवा कार्यालयको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया