ताजा अपडेट »

सुन तस्करी प्रकरण : पक्राउ हुनेको संख्या १० पुग्यो, ४ जनालाई आज थुनामा राख्ने अनुमति लिइने

शुक्रबार, ०५ साउन २०८०, ०६ : ४२
248 Shares
शुक्रबार, ०५ साउन २०८०
248 Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै १०० किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप ३ जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो, त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

विभाग स्रोतका अनुसार पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा उनको पनि संलग्नता देखिएको भन्दै पक्राउ गरिएको स्रोतले जानकारी दियो।कृष्ण श्रेष्ठलाई भने कोटेश्वरबाट पक्राउ गरिएको हो। यसअघि एक कम्पनीका प्रोप्राइटर राजन श्रेष्ठलाई पनि कोटेश्वरबाटै समातिएको थियो। बिहीवार साँझ पक्राउ परेका ३ जनासहित अहिलेसम्म सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।

त्यसमध्ये ६ जनालाई बिहीवारै उच्च अदालत पाटनबाट १० दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान थालिएको छ । बिहीवार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित ४ जनालाई आज शुक्रवार अदालत लगेर थुनाको अनुमति लिइने जनाइएको छ ।

बिहीवार दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । बुधवारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधवार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।