ताजा अपडेट »

तिलोत्तमामा विद्युत प्राधिकरणका कर्मचारीहरु बीच राष्ट्रिय स्तरको ब्याडमिन्टन

विहीबार, ०४ साउन २०८०, १३ : १४
22 Shares
विहीबार, ०४ साउन २०८०
22 Shares

बुटवल । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, खेलकुद बिभागको आयोजनामा रुपन्देहीमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रातियोगिता बिहिबार देखि सुरु भएको छ । तिलोत्तमा ब्याडमिन्टन क्लबको कभर्डहलमा आयोजित प्रतियोगितामा देशभरबाट नेपाल विद्युत प्राधिकरणमा आवद्ध पुरुष तथा महिला कर्मचारीहरु सहभागी भएका छन् ।

प्रतियोगिताको शुभारम्त गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जलय प्रकाश भट्टराईले खेलको माध्यमबाट आपसी सद्भावसँगै स्वास्थ जीवनमा सहयोग गर्ने उल्लेख गरे । स्वास्थ्यका लागि मात्रै नभई मुलुकको आर्थिक बिकासमा समेत खेलकुदको भूमिका महत्वपूर्ण रहेको उनले बताए । यसैगर कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले खेलको माध्यमबाट पूर्व–पश्चिममा रहेका सबै खेलप्रेमी कर्मचारीहरुलाई एकै ठाउँ जमघट गराउनु नै ठूलो उपलब्धि भएको उल्लेख गरे । जित र हारको भन्दा पनि आपसी सद्भाव र मिलनलाई माथि राखेर स्वस्थ प्रतिस्पर्धाका लागि खेलाडीहरुलाई शुभकामना व्यक्त गरे ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ४ इभेन्टमा प्रतिस्पर्धा हुने युनियनका केन्द्रीय उपाध्यक्ष तथा खेलकूद विभाग प्रमुख देवेन्द्रसिंह वैरागीले बताए । प्रतियोगिताका इभेन्टहरुमा मेन्स डवलका बिजयी खेलाडीलाई प्रथम पुरस्कार ४० हजार, द्वितीयलाई २० हजार र तृतीय पुरस्कार १० हजार नगद राशी रहेको बताइएको छ । यस्तै वोमेन डवलतर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीयलाई ७ हजार ५ सय नगद पुरस्कार राखिएको उनले बताए ।

यस्तै अधिकृत स्तरको इभेन्टमा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ७ हजार ५ सय रुपैयाँ रहेको छ । भेट्रान्स डवलतर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ७ हजार ५ सय राखिएको छ । विहिबार आयोजित उद्घाटन सत्रमा कार्यक्रम सञ्चलन गर्दै युनियनका महासचिव शिवराज भट्टराईले विधागत तर्फ समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको जानकारी गराए ।

युनियन लुम्बिनी प्रदेशको संयोजनमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष टेकबहादुर बुढाले जानकारी दिए । प्रतियोगिताको समापन तथा पुरस्कार वितरणका दिन उर्जा मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिंसिङको आतिथ्यतामा रहने अध्यक्ष बुढाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।