ताजा अपडेट »

एसीसी इमर्जिङ टिम्स कप : नेपालले आज भारतसँग खेल्दै

सोमबार, ०१ साउन २०८०, ०६ : ३४
24 Shares
सोमबार, ०१ साउन २०८०
24 Shares

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार, दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र भारतले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।

यसअघि गत शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र पाकिस्तानको ‘ए’ टोलसँग चार विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालको ब्याटिङ अत्यन्तै निराशाजनक रहेको थियो । नेपालले फिल्डिङमा पनि सुधार गर्नु पर्ने देखिन्छ । भारतले भने आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिटरेट्स ९यूएई० को ‘ए’ टोलीलाई हराएको थियो ।

इमर्जिङ टिम्स एसिया कप श्रीलङ्कामा सञ्चालन भइरहेको छ । जुलाई २३ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र यूएईको ‘ए’ टोली रहेका छन् ।

समूह ‘ए’ मा भने श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमानको ‘ए’ टोली रहेका छन् । समूह ‘ए’ मा चारवटै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । अफगानिस्तान आफ्नो दुवै खेल जित्दै चार अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ ।

नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, अर्जुन साउद ९विकेटकिपर०, कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।

भारतीय टोली भने यश ढुलको कप्तानीमा मैदानमा ओर्लने छ । यूएईविरुद्धको पहिलो खेलमा यशले अविजित एक सय आठ रन बनाएका थिए । उनले ८४ बलमा एक छक्का र २० वटा चौका प्रहार गरेका थिए । उक्त खेलमा भारतका निकिन जोसले अविजित ४१ रनको योगदान गरेका थिए ।

यसका अतिरिक्त साई सुदर्शन, अभिषेक शर्मा, रियान पराग, निशान्त सिन्धु, हर्षित राणा, आकाश सिंह, नितिशकुमार रेड्डी, मानव सुथार, ध्रुव जुरेललगायतका खेलाडी पनि भारतीय टोलीमा छन् । भारतको ब्याटिङ र बलिङ दुवै सन्तुलित देखिएको छ ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो चौथो सहभागिता हो । नेपालले सन् २०१३ मा सिंगापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । सन् २०१८ मा श्रीलङ्का र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको तेस्रो संस्करणमा भने नेपाली टोलीले खेल्ने अवसर पाएको थिएन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।