दुःखी हुनलाई
यहाँ धेरै सुविधाहरु छन्
तर खुसी हुनलाई
उधारै भए पनि रक्सी पिउनु पर्छ
चियर्स ।
कवि रावतको यो कविता मैले “उज्यालो अन्धकार” निबन्धसंग्रहमा पढें । कविता कति बिम्वात्मक छ भनेर मैले किन बयान गर्नुपर्ला र ! कविता नै काफी छ । समाजमा मानिसले किन रक्सी पिउँछ,कसका लागि पिउँछ,केका लागि पिउँछ ? के साँचिक्कै रक्सी पिएर नै मानिसले पीर बिसाउँछ होला त ? के यो स्थायी समाधानको उपाय हुन सक्ला ? कुरो यतातिर छ ।
मैले यो निबन्धसंग्रह सन् २०२३ को फेबुअरी २१ गते पाल्पा,तानसेनमा कुमारी लामाकै हस्ताक्षरमा उनकै हातबाट प्राप्त गरेको थिएँ । अक्षरको उपहार थियो मेरा लागि । पुस्तक प्राप्त गर्ने बेला मसँगै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ समेत साक्षी थिए । मैले उनको यो पुस्तकमा उल्लेखित निबन्धहरु घरिघरि पढिरहें । एकनाशै पढिनँ । फुर्सदमा खुब पढ्न मन लाग्थ्यो ।
निबन्धका बारेमा पुस्तकमै कान्तिपुर कोसेलीका राजकुमार बानियाँ,राष्ट्रिय साप्ताहिककी शान्ति लामा,प्रा.डा. खेम दाहाल,कवि ज्योति जंगल,अन्नपूर्णका पत्रकार समीरबाबु कट्टेल,मधुपर्कका आदिम केसी,काठमाठौं पोष्टका माधव पौड्यालले विस्तृत बयान एवम् चीरफार गरेकै छन् । मेरो कुनै शब्दले निवन्ध संग्रहलाई सजाउन आवश्यक नै देखिनँ । आफैमा सशक्त निवन्ध हो भन्ने कुरालाई कसैको अघि भन्न मलाई केको डर ?
सबैले कुमारी लामाको लेखन कौशल,सीप र दक्षतालाई मज्जाले तारिफ गरेका छन् । नयाँ शैली अपनाएका कुरा गरेका छन् । पात्रहरुलाई जीवन्त एवम् प्रमाणिक बनाएका कुराहरु उल्लेख गरेका छन् । जीवन र दर्शनका कुराहरुलाई आफ्नै परिवेशसँग सहज तरिकाले जोडेका कुरा उल्लेख भएका छन् । सबै समीक्षक वा पाठकहरुका एउटै तर्क वा विचार छन् कि–“उज्यालो अन्धकार” निबन्धसंग्रह मामुली पुस्तक हुँदै होइन र छैन पनि । मैले पनि सहमतिका निम्ति टाउको हल्लाएँ ।
मलाई किन किन पुस्तकमा रहेका कवितासँग बोल्न,मनका कुरा खोल्न र उनीहरुसँगै जिस्किन मन लागि रहेको छ । यसो गर्दा निवन्धको वजन घट्छ भन्ने कुरै होइन । हुनै सक्दैन । कारण यति हो कि निबन्धलाई बलियो बनाउन कुमारीले पस्किएका कविताहरुले कुमारीलाईभन्दा पनि हामी पाठकहरुलाई खुसी तुल्याएका छन् ।
पारिजातको “मृत्युको अंगालोमा” कविताबाट यो हरफ पैंचो लिएकी छिन् कुमारीले यसरी–
मलाई त मर्नु छ
आफैले हेरिरहनु छ सिद्धिएको,गलिरहेको आफूलाई
ए ! कस्तो विलीन नहुँला त एक दिन ।
के छ र मेरो मानिस हुँ भन्ने दावी
एक मुठ्ठीभर गलेको मासु
र एक सानो बण्डल थाकेको हाड
त्यति नै,त्यति पनि कुन्नि ।
यो कविता पढेपछि आफ्नो जीवनलाई खरानी र माटोसँग दाज्न मन लाग्यो । आखिर हामी दुई दिनको जिन्दगीमा किन र केका लागि लड्दैछौं ? हामी भनेको त हाड र छालाको अस्थायी स्तम्भ न हौं । एक दिन ढल्नै पर्छ,गल्नै पर्छ । मानिस हुनुको दावी त सास रहुञ्जेल न हो । प्राण त्यागेपछि त मान्छे मासु र हड्डीको थुप्रो न हो । तैपनि बाँचुञ्जेल मानिस थप बाँच्नका लागि प्रयास र अभ्यास गरिहन्छ । त्यो नै संघर्ष हो । जीवनको सार्थकता समेत ।
मैले कुमारी लामालाई चिनेको साहित्यकारका रुपमा न हुँ । तर उनी त्रिभुवन विश्वविद्यालयकी अंग्रेजी विषयकी उपप्राध्यापक रहेछिन् । ब्रिटेनबाट स्नातकोत्तर र त्रिभुव विश्वविद्यालयबाट एमफिल गरेकी उनी साहित्यमा नै बढी रुची राख्छिन् भन्ने कुरा उनका साहित्यिक कृति एवम् समीक्षात्मक लेखहरुबाट थाहा पाउन सकिन्छ ।
कुमारी लामाले “अनि हामी कठुतली हैनौ त ?” निवन्धमा कवि हेमन यात्रीको कविता “बेचैन”सापटी लिएकी छन् –
सबै अँध्यारो ढाकिसक्छ
मेरो प्रिय आकाश
छुटेर जान्छ निमेषभरमै
आफूसँग रहेको
एउटा छाया पनि ।
आखिर जीवन हातबाट फुत्किएको माछाजस्तै त हो । जो फुत्किएपछि भेट्नै मुस्किल हुन्छ । कहाँ पुग्छ, थाहै हुँदैन । शरीर रहे त छाया,माया,ममता र स्नेह हुने हो नत्र त निर्जीव पथ्थर ! छाया हुन पनि त जीवन रहन प¥यो नि !
काँधमा रातो रुमालले बीचमा टपक्क बाँधेको झोला र
कम्मरमा वर्षौदेखि शान नलगाई खिया परेको खुकुरी भिरेर
थला परेका बूढा बाआमालाई
मुर्दाघरजस्तो घर रुङ्न अह्राउँदै
पियारीहरुलाई साथमा लिएर
हिंडिरहेछन् तन्नेरी छोराहरु जनम ठाउँ छोडेर
माथिको कविता मीनबहादुर बिष्टले “साला पहाडमा क्या है ?” शीर्षकमा लेखेका हुन् । वर्तमान परिवेश यही छ । गाउँठाउँमा ओठ निचोर्दा दूध आउने र मलामी जान नसक्ने मान्छेहरु छन् । युथलेस र टूथलेसहरु नै यतिबेला गाउँमा छन् । सायद यी कविताहरुले कुमारीका निबन्धसंग्रहमा रहेर न्याय पाएका छन् । उनको निबन्धलाई बलियो बनाउन विशेष भूमिका निर्वाह गरेका छन् । कविताले निबन्ध र निबन्धले कविता बलिया भएका छन् ।
कुमारीका निबन्ध नै कविता झैं छन् । म त कति ठाउँहरुमा झुक्किएको छु ।
आखिर यो देश कसको हो ?
किन छ महल र छाप्रो बीचको डरलाग्दो खाडल यहाँ ?
माथिको हरफ कुनै कविता भने होइन तर कविताजस्तै लाग्छ । लेखन शैली छ कवितात्मक अनि बिम्वात्मक पनि ! थप प्रगतिको कामना कुमारीलाई ।
प्रतिक्रिया